Ad Area

हस्तकलाका सामाग्रीबाट आम्दानी गर्दै महिला


घोराही, १८ फागुन । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्सादेखि गाईभैसीका लागि घाँसपात काट्नेलगायतका काममा बित्ने गरेको राजकुमारीको दैनिकी पछिल्लो समय हस्तकलाका सामग्रीहरु गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुक्के, ढकिया, चटकी र गमलालगायतका सामग्री बनाउने र बनाएका सामग्री विक्री गर्ने काममा बित्ने गरेको छ ।

दुई बर्षअघि समूह गठन गरेर सिप सिकेका राजकुमारीलगायतका थारु समुदाय महिलाहरु परम्परागत सिपलाई संरक्षणसँगै आर्थिक आम्दानीमा लाग्नुभएको छ । उत्पादन गरेका सामग्रीहरू लामो समय काठमाडौं र पोखरालगायतका ठाउँहरूमा पठाउने गरेका महिलाहरूले पछिल्लो समय आफ्नै जिल्लाका विभिन्न ठाउँमा लाग्ने मेला तथा महोत्सवहरु गएर विक्री गर्ने गरेको लगनशील मुन्स उत्पादन समूहकी उपाध्यक्ष समेत रहनुभएकी राजकुमारीले बताउनुभयो । यसरी उत्पादित सामग्री मेला तथा महोत्सवमा विक्रीका लागि लैजादा आर्थिक आम्दानीसँगैै सामग्रीको प्रचारप्रसार हुने गरेको बताउनुहुन्छ ।

‘पहिले घरमा हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौं पठाउँथ्यौँ’, समूहकी उपाध्यक्ष राजकुमारीले भन्नुभयो, ‘बाहिर मात्रै पठाउनु भन्दा आफै विक्री गरौँ भनेर पछिल्लो समय लागेका छौँ ।’ पहिले घरको काम गरेर दिनभरि खेर जाने समय सीप सिकेर हस्तकलाका सामग्री बनाउन थालेपछि समयको बचतसँगै आर्थिक आम्दानी हुने गरेको समूहकी सदस्य रिता चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँका ३० जना महिलाको समूहले विगत दुई बर्षदेखि संगठित रुपमा हस्तकलाका सामग्री उत्पादन गर्दै आउनुभएको छ । ‘घरको काम हँुदा घरको काम गर्छौँ, फुर्सदको समयमा काँस र मुञ्जबाट हस्तकलाका सामग्री बनाउँछौँ’, समूहकी सदस्य रिताले भन्नुभयो्, ‘हस्तकलाका सामाग्री जुटाउनेदेखि बनाउने र बजारीकरण समेत आफै गर्ने गरेका छौ ।’

महिलाहरुले हस्तकलाका सामाग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ देउखुरीको राप्ती नदीसँगै अपुग कच्चा पदार्थ कपिलवस्तुबाट ल्याउने गर्दै आउनुभएको छ । पाँच सय रूपैयाँ प्रतिकेजी मुञ्ज खरिद गर्ने गरेको उहाँले बताउनुभयो । हस्तकलाका सामग्रीहरू धेरैले मन पराउने गरेपनि अन्य सामग्रीको तुलनामा महँगो भन्ने गरेको उपाध्यक्ष राजकुमारी बताउनुहुन्छ । ‘हस्तकलाका सामग्री आकर्षक हुने भएकाले धेरैले मन पराउनु हुन्छ तर ती सामग्री महँगो भएको गुनासो गर्नुहुन्छ’, उपाध्यक्ष राजकुमारीले भन्नुभयो,‘हस्तकलाका सामग्री बनाउँदा लागेको मिहिनेत अनुसार मूल्य महँगो होइन तर बजारमा पाइने प्लास्टिकका सामग्रीको मूल्य भन्दा केही महँगो भने हो ।’ हस्ताकलाका सामग्री आकर्षक, बलिया र हलुका हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको बताउनुहुन्छ ।

सिसहनियाका राजकुमारी र रिता जस्तै राप्ती र गढवा गाउँपालिका ९० जना महिलाहरु तीन वटा समूह बनाएर हस्तकलाका सामग्री उत्पादनमा लाग्नुभएको छ । उहाँहरुलाई तालिमदेखि उत्पादित सामग्रीको बजारीकरणका लागि स्वच्छ व्यवसायी समूह नेपाल र स्वान नेपाल संस्थाले सहयोग गरेपनि पछिल्लो समय आफै गर्न लाग्नुभएको छ । लगनशील मुन्स उत्पादन समूहसँगै राप्ती गाउँपालिका वडा नं. ६ मै मिलिजुली मुञ्ज उत्पादन समूह र गढवा गाउँपालिका थारू समुदायका महिलाहरू मनकामना मुञ्ज उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा हस्तकलाका सामग्री उत्पादनमा महिलाहरु लाग्नुभएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad