Ad Area

युवाको नेतृत्व र व्यक्तित्व विकास प्राथमिकता : अध्यक्ष बुढा [अन्तर्वार्ता]


दाङ महिला जेसीज १८ वर्षदेखि ४० बर्षमुनि उमेर समूहका महिलाको सस्था हो । महिलाको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्दै आएको सस्थाको अहिले नेतृत्वमा जेसी जुनकुमारी बुढा रहेकी छिन् । सन २०१७ देखि दाङ महिला जेसीजमा आवद्ध भएर जेसीजको सदस्य, सहसचिव तालिम निर्देशक, उपाध्यक्ष, जन सम्पर्क अधिकृत, कार्यकारी उपाध्यक्ष हुँदै सन् २०२४ को अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

दाङ महिलाको नेतृत्वमा रहेको बेला युवा महिलाको नेतृत्व र व्यक्तित्व विकाससँगै विभिन्न सामाजिक कार्यहरू गर्दै आउनुभएको छ । जसअन्तर्गत अहिले दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम समेत चलिरहेको  सन्दर्भमा अध्यक्ष जुनुकुमारी बुढासँग पत्रकार लीलाधर वलीले गरेको कुराकानीको सारसंक्षेप ।

 जेसीज भनेको हो, यसले के कस्ता कामहरू गर्ने गर्दछ ?

 जेसीज १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवाको संस्था हो । जेसीजको मुख्य केन्द्रविन्दु भनेको व्यक्तित्व विकास हो । जेसीजले सामाजिक कार्य गरे तापनि यो सामाजिक संस्था भने होइन । यसलाई युवाको अनौपचारिक विश्वविद्यायलयका रुपमा लिने गरिन्छ । युवाको व्यक्तित्व र नेतृत्व विकासका लागि अवसर र सम्भावना प्रशस्त हुने भएकाले जेसीज अवसरसँगै क्षमता विकासमा सहयोगी भूमिका खेल्ने गर्दछ ।

त्यी अवसरलाई लिएर आफ्नो क्षमता विकास गर्दै सामाजिक विकास र सामाजिक रुपमान्तरणका लागि युवालाई अघि बढाउने संस्था जेसीज हो । जेसीजका चारवटा कार्य क्षेत्र हुन्छन् । त्यी भनेका युवाको व्यक्तिगत क्षेत्र, सामुदायिक क्षेत्र, अन्तर्राष्ट्रिय र व्यवस्थापन क्षेत्र हुन् । युवाको क्षमता विकासका लागि जेसीजले यी चार क्षेत्रमा रहेर काम गर्ने गर्दछ ।

 तपाईंको जेसीज यात्रा कसरी सुरु भयो ?

Blog Post Ad

 सन् २०१७ देखि म जेसीजसँग जोडिएको थिए । त्यो बेला म नेपाल मगर विद्यार्थी संघको राजनीतिमा जोडिएको थिए । त्यही समयमा मलाई जेसीजमा लाग्नुभएका दिदीले महिला जेसीजमा लाग्न आग्रह गर्नुभएको थियो । त्यही सन्दर्भमा एक दिन त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका मनोज बुढाथोकीले दाइले मलाई जेसीजमा जोड्नु भएको थियो । त्यो बेला म मगर विद्यार्थी संघको केन्द्रीय सदस्य थिए । त्यसपछि निरन्तर रुपमा महिला जेसीजमा आवद्ध रहेको छु ।

 दाङ महिला जेसीजका बर्षभरी गर्ने मुख्य काम के–के हुन् ?

 दाङ महिला जेसीजले युवाको व्यक्तित्व र नेतृत्व विकासका लागि नै मुख्य रुपमा काम गर्ने गर्दछ । महिला जेसीजले स्थापनाकालदेखि नै व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न कार्य गर्दै सामाजिक रुपान्तरणमा अग्रणी भूमिका खेल्दै आएको छ । जेसीजको मुख्य केन्द्रविन्दु भनेकै व्यक्तित्व विकास हो । त्यसकारण हामीले तालिमलाई नै प्राथमिकतामा दिएर काम गर्ने गर्दछौँ । जेसीजमा आवद्ध महिलाको नेतृत्व र क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने गरेका छौँ । यसका साथै सामाजिक क्षेत्रमा समय परिस्थिति, समुदायको माग र आवश्यकताको आधारमा विभिन्न सचेतना, सहयोग र महिलालाई आर्थिक रुपमा सक्षम बनाउने खालका सिपमूलक कार्य गर्दै आएका छाँै ।

 दाङ महिला जेसीजको अहिले सप्ताहव्यापी कार्यक्रम चलिरहेको छ,सप्ताहव्यापी कार्यक्रम गर्नुको उद्देश्य के हो ?

 मुख्य रुपमाभन्दा यो हाम्रो वार्षिक क्लालेण्डर अनुसारको प्रत्येक वर्ष गर्ने काम हो । जेसीजमा आवद्ध महिलाको नेतृत्व र क्षमता विकासका लागि काम गरिरहेको भए पनि सामाजिक कार्य अन्तर्गत सचेतनामूलक कार्यक्रम, आर्थिक सहयोग, अन्तरक्रियालगायतका विविध कार्य सप्ताहव्यापी कार्यक्रमका रुपमा एकै पटक गर्ने गर्दछौँ । आफ्नो नेतृत्व र व्यत्तित्व विकाससँगै समाजका लागि थोरै भए पनि सहयोग गरौँ भन्ने उद्देश्यले प्रत्येक वर्ष जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्न गर्दै आएको छ । यसमा महिलाको सशक्तीकरण, सुशासन, आयर्जनमूलक तालिम, सडक दुर्घटना न्यूनीकरणका लागि स्लो स्कुटी प्रतियोगितालगायतका विभिन्न कार्यक्रम जोडिएका छन् ।

 यसरी कार्यक्रम गर्दा कसरी आर्थिक स्रोतको व्यवस्थापन गर्नुहुन्छ ?

 अघि पनि भनेको छु, जेसीज भनेको के हो १८ देखि ४० वर्षसम्मका युवाको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो तर प्रत्यक्ष रुपमा सामाजिक विकासप्रति समर्पित संस्था होइन । जेसीजको केन्द्रविन्दु भनेको व्यक्तिको विकास हो । त्यसैले हामीलाई कतैबाट सहयोग आउँदैन तर हामीले विगतदेखि नै सामाजिक रुपमा पनि जोडिएर काम गर्दै आएका छाँै । त्यसका लागि कतिपय स्रोत आफै जेसीजमा आवद्ध महिलाले जुटाउने गरेका छाँै भने कतिपय अवस्थामा विभिन्न संस्था, व्यक्तिबाट सहयोग जुटाएर कार्यक्रम गरिरहेका छौँ, जुन तपाईले साप्ताहव्यापी कार्यक्रममा पनि देखिरहनुभएको छ ।

विभिन्न संघसस्था तथा व्यक्तिगत सहयोगमा कार्यक्रम गर्दै आएका छाँै । अन्य संस्था जस्तो दाङ महिला जेसीजमा पैसा हुँदैन, आफैले स्रोत जुटाउँदै कार्यक्रम गर्ने गर्दै आएका छौँ । यो आफ्नो पहिचान बनाउने अवसर पनि हो । यसलाई परिक्षणकाल पनि भन्न सकिन्छ । यसमा सफलता पाएपछि नेतृत्व व्यक्तित्वको विकास भएको पुष्टि हुन्छ । एउटा कार्यक्रम गर्न कति गाह्रो हुन्छ, हामीले सात दिनसम्म गर्दा जिम्मेवारी दिएका हुन्छौँ, संयोज नै खर्चको व्यवस्थापन गरेर कार्यक्रम गर्दा कसरी कार्यक्रम गर्ने, खर्च कसरी जुटाउने, समन्वय गर्ने सिकाउने गर्दछ । यसले एउटाको मात्र होइन, जेसीजमा आवद्ध सबै सदस्यले आफ्नो क्षमता देखाउने, डर भगाउने र बोल्ने र नेतृत्व गर्ने कलाको विकास गर्ने अवसर दिने गर्दछ ।

 महिला सशक्तीकरणका लागि दाङ महिला जेसीजले के कस्ता काम गर्ने गर्दछ ?

 मैले अघि पनि भनिसकेको छ, दाङ महिला जेसीजले १८ वर्षदेखि ४० वर्ष उमेर समूहका महिलाको व्यक्तित्व विकासका लागि काम गर्दै आएको छ । जेसीजमा आवद्ध महिलालाई तालिम दिने र समाजमा रहेका विभिन्न संघसंस्था, राजनीतिलगायतका क्षेत्रमा नेतृत्वमा पु¥याउने गरी जेसीजले काम गर्दै आएको छ । यसका साथै सचेतना, आर्थिक जीवनस्तरमा सुधार गर्नेलगायतका कार्यक्रम गर्दे आएका छौँ ।

 तपाईंको नेतृत्वमा जेसीजले गरेका उपलब्धी के–के हुन् ?

 जेसीजमा एक वर्षको मात्र कार्यकाल हुने गर्दछ । त्यही एक वर्षको बिचमा हामीले विभिन्न कार्यक्रम गर्ने हो । वार्षिक क्लेण्डर अनुसारका कार्यक्रमसँगै अन्य विभिन्न संघसंस्था कतिपय कार्यक्रम मिलेर गर्ने गर्दछौँ । यो बिचमा हामीले मुख्य त महिलाको नेतृत्व र क्षमता विकासका लागि कार्यक्रम गरेका छाँै । नयाँलाई जेसीजमा जोड्ने काम गरेका छाँै । त्यससँगै महिलालाई आर्थिक व्यवस्थापन, लैंगिक हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम, मानव सेवा घरमा बसोबास गर्ने असाहय मानिसलाई खाद्यान्न सहयोग, बालविवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम, द्वन्द्व व्यवस्थानलगायतका तालिम गर्न सफल भएका छाँै । यसमा महिला जेसीजको वर्तमान कार्यसमिति, अग्रजको महत्वपूर्ण सहयोग रहेको छ ।

 जेसीजमा महिलाको सहभागिता बढाउन के गर्न सकिन्छ होला ?

 दाङ महिला जेसीज सन् २००८ मा दाङमा स्थापना भएको संस्था हो । जेसीजमा १८ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा आवद्ध हुन सक्छन् । युवाको व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक विकास र सामाजिक रुपमान्तरणका लागि युवालाई अघि बढाउने संस्था जेसीज हो । यसमा लाग्दा आफ्नो व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै फाइदा छ । यो नयाँ पुस्तालाई बुझाउन आवश्यक छ । जेसीज आर्थिक रुपमा सवल महिलाहो सस्था हो भन्ने गलत बुझाई पनि कतिपयमा रहेको सुनिन्छ । त्यो होइन भनेर बुझाउन आवश्यक छ ।

त्यसका लागि जेसीजमा आवद्ध महिला व्यक्तिगत रुपमा सक्षम हुनुपर्छ । समाजका हरेक तहमा नेतृतदायी भूमिका देखिन सक्नुपर्छ । जस्ले गर्दा महिला जेसीजमा लाग्न नयाँ पुस्तालाई प्रेरित गर्न सकोस् । त्यही अनुसार नै हामीले कार्यक्रम गरिरहेका छौँ, धेरै नभए पनि केही नयाँ साथी महिला जेसीजमा जोडिनुभएको छ । जेसीज उहाँ जस्ता पुस्ताका लागि धेरै अवसर प्रदान गर्ने गर्दछ । महिलालाई अघि बढ्न सिकाउने गर्दछौँ ।

 जेसीजले आगामी दिनमा के–कस्ता कार्यक्रम गर्ने योजना बनाएको छ ?

 दाङ महिला जेसीजले धेरै काम गरेको छ तर बिचमा बिरामी हुँदा जुन स्पीडमा काम गर्ने सोच थियो, त्यसरी गर्न सकेनौँ । तर पनि दाङ महिला जेसीजले नेतृत्व र व्यक्तित्व विकाससँगै विभिन्न सामाजिक कार्य गरेको छ । एक वर्षीय कार्यकालको आधा समय सकिसकेको छ । दाङ महिला जेसीजलाई उत्कृष्ठ शाखा बनाउनका लागि अझै धेरै काम गर्नु पर्नै छ । घोराही उपमहानगरपालिका–१५ मा रहेको संस्थाको कार्यालय व्यवस्थित गर्नु पर्ने काम छ, जेसीजमा लाग्नुभएका महिलालाई तालिमका माध्यमबाट व्यक्तित्व र नेतृत्व गर्ने कलाको विकास गर्न आवश्यक छ । त्यससँगै महिलाको आयआर्जनसँग सम्बन्धीत सिपमूलक तालिम, वित्तीय व्यवस्था कसरी गर्ने भन्ने तालिमलगायतका सचेतनामूलक कार्य गर्न आवश्यक छ ।

 महिलाको व्यक्तित्व र नेतृत्व विकासका लागि जेसीजले काम गर्दै आइरहेको छ, सामाजिक रुपान्तरणका लागि तपाईंले के कस्ता कार्य गर्नुभयो ?

 दाङ महिला जेसीजले स्थापनाकालदेखि नै व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न कार्य गर्दै सामाजिक रुपान्तरणमा अग्रणि भूमिका खेल्दै आएको छ । यद्यपि, जेसीजको मुख्य केन्द्रविन्दु भनेको व्यक्ति हो । त्यसकारण यस वर्ष पनि मैले तालिमलाई प्राथमिकतामा राखेको छु । सामाजिक क्षेत्रमा समय परिस्थिति, समुदायको माग र आवश्यकताको आधारमा विभिन्न सचेतनासँगै सहयोग र महिलालाई आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न सिपमूलक कार्य गर्ने योजना रहेको छ ।

 महिलालाई नेतृत्व तहमा पु¥याउन जेसीजले कसरी भूमिका खेलिरहेको छ ?

 जेसीजमा हरेक वर्ष सञ्चालन हुने तालिम, बैठक, साधारणसभा र कार्यक्रममार्फत् आफ्नो प्रतिभा, क्षमता प्रफुष्टन गर्दै व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्दै नेतृत्व तहमा पु¥याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । साथै जेसीज सौजन्यबाट चल्ने संस्था भएकाले हाम्रा हरेक कार्यक्रम सञ्चालनका लागि सहयोगीदातासँग समन्वय गर्ने क्रममा, जेसीजका एरिया सम्मेलन, महाधिवेशन जस्ता कार्यक्रममार्फत् विभिन्न व्यक्तित्वसँग परिचय र समन्वय हुने गर्दछ । जसबाट पनि क्षमता विकास गर्दै नेतृत्व तहमा पुग्नलाई महत्वपूर्ण भूमिका रहन्छ ।

Blog Post Ad Blog Post Ad