Ad Area

घोराही–तुलसीपुर सडकमा थप तीन पुल निर्माण हुँदै


घोराही, १७ मङ्सिर । दाङको घोराही–तुलसीपुर सडकखण्डमा थप तीन पुल निर्माण हुने भएका छन् । घोराही–तुलसीपुर सडक अन्तर्गत सेवारखोलामा निर्माण हुन थालेको पुलसँगै ग्वारखोला, हापुरखोला र कालाखोलामा पनि पुल निर्माण हुने भएका छन् ।

घोराही–तुलसीपुर सडक अन्तर्गत घोराही उपमहानगरपालिका–१६, सेवारखोलामा गत वर्षदेखि काम सुरु भइसकेको छ भने बाँकी तीन खोलामा पुलको ठेक्का सम्झौता भएर काम सुरु गर्ने अवस्थामा रहेका छन् । सेवारखोलामा निर्माण हुन थालेको पुलको २० प्रतिशत काम सकिएको पुल सेक्टर कार्यालय नेपालगन्जले जनाएको छ ।

नयाँ बन्न थालेका पुलमध्ये कालाखोलामा ९० मिटर लम्बाइ भएको चार लेन र ग्वारखोलामा २२० मिटर लम्बाइ भएको दुई लेन र हापुरखोलामा १५० मिटर लम्बाइ भएको चार लेन पुल रहेको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिनुभयो ।

ठेक्का सम्झौता अनुसार पुल निर्माण अवधि कालाखोला र ग्वारखोलाको ३८ महिना, हापुरखोलामा बन्ने पुल ४२ महिना रहेको छ भने सेवारखोलामा बन्ने पुलको ३६ महिना रहेको छ । डिजाइन र सर्भे सबै काम निर्माण कम्पनीका तर्फबाट भएर विभागले स्वीकृत गरेपछि ठेक्का भएको इन्जिनियर चौधरीले बताउनुभयो ।

२०८२ भदौ २८ गते पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको कालाखोला पुलको लागत १७ करोड ८२ लाख ७९ हजार आठ सय रुपियाँ रहेको छ । पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको इन्जिनियर चौधरीले जानकारी दिनुभयो । इन्जिनियर चौधरीका अनुसार २०८२ भदौ २८ भित्र निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको ग्वारखोला पुलका लागि २२ करोड पाँच लाख ४७ हजार पाँच सय बजेट रहेको छ । पुल निर्माणका लागि २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो ।

२०८२ पुसमा काम सक्ने गरी ठेक्का सम्झौता भएको हापुरखोला पुलको बजेट २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँ रहेको छ भने २०७९ असार २९ गते ठेक्का सम्झौता भएको थियो । २०८३ जेठ २८ भित्र पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएको सेवारखोला पुलका लागि बजेट २३ करोड २२ लाख ४३ हजार तीन सय रुपियाँ रहेको छ । पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०८० जेठ ३० गते ठेक्का सम्झौता भएको कार्यालयले जनाएको छ । पुल निर्माण भएपछि घोराही–तुलसीपुर सडकमा बर्सातको समयमा हुने समस्या हट्ने छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोला, गुर्जेखोला, हापुरखोला, पत्रेखोला, सङ्क्रमखोला, ग्वारखोला र कालाखोलामध्ये चार वटा खोलामा पुल निर्माण भइसकेका छन् ।