Ad Area

धारापानीमा आजदेखि महाशिवरात्री मेला


 बिमल योगी
दाङ, १२ फागुन । दाङको धारपानीमा आजदेखि महाशिवरात्री मेला लाग्ने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलाको पहिलो दिन १०८ गौमुखीधाराको उद्घाटन गरिने छ । विभिन्न दाताको सहयोगमा निर्माण भएको गौमुखीधारा दाताको उपस्थितिमा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गौमुखीधारा निर्माण भएको लामो समय भए पनि त्यसमा नियमित पानी खस्ने व्यवस्था भएपछि धारा निर्माणको कामले पूर्णता पाएको हो । तिधारामा नियमित पानी खसाल्नका लागि बबईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गरिएको र पाइपमार्फत् गौमुखीधारामा खस्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्षगणेशकुमार अधिकारीले जानकारी दिए ।

गौमूखीधारा उद्घाटन पछि प्रत्येक दिन बिहान २ घण्टा १०८ वटै धारामा भक्तजनलाई स्नानका लागि पानी आउने व्यवस्था गरिने अध्यक्ष अधिकारीेले जानकारी दिए । महाशिवरात्री पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठवटा दिपप्रज्वलन गर्ने र १४ गते विधिपूर्वक भगवान् शिवको पूजा आरधना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा नेपाली सेनालगायतका सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति, भक्तजनलगायतको सहभागितामा शिव सलामी समेत दिइने छ ।

यसैबिच महाशिवरात्री मेलालाई ध्यानमा राखी मन्दिर परिसर समाजवट तथा रंगरोगनको काम समेत गरिएको छ । मन्दिरको आन्तरिक स्रोत तथा दाताको सहयोगमा विभिन्न संरचना निर्माण तथा रंगरोगन गरिएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए ।

मेलालाई व्यवस्थित बनाउन अध्यक्षगणेशकुमार अधिकारीको संयोजकत्वमा मूल समिति, उपाध्यक्ष शंकर गौतमको संयोजकत्वमा पूजा व्यवस्थापन उपसमिति, सचिव विष्णुराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, श्रीधर शर्मा पौडेलको संयोजकत्वमा स्वागत सम्मान उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा अनुगमन मूल्याङ्कन उपसमिति, बलिराम भूसाल गोपालको संयोजकत्वमा मेला तथा बजार व्यवस्थापन उपसमिति, निमबहादुर चौधरीको संयोजकत्वमा भोजन तथा आवास उपसमिति, निमा डाँगीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी धनपति शर्माको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, केशव विसीको संयोजकत्वमा स्वंयसेवक परिचालन उपसमिति, ऋषिदेव शर्माको संयोजकत्वमा साउण्ड सिस्टम तथा टेन्ट व्यवस्थापन उपसमिति, बुद्धि भण्डारीको संयोजकत्वमा भजन कृतन व्यवस्थापन उपसमिति, कृष्णप्रसाद भुसालको संयोजकत्वमा आर्थिक सङ्कलन उपसमिति, मधुसुदन पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, बिमल अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको सचिव आचार्यले जानकारी दिए ।

यसैबिच मेलामा अप्रिय र उछृखल गतिविधि हुन नदिन मन्दिरको चार किल्लाभित्र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । जसअन्तर्गत मन्दिरको पूर्वतर्फ भलई सोता, पश्चिमतर्फ पिच रोड, उत्तरतर्फ बबई नदी र दक्षिणतर्फ सुनकोट मन्दिर एरियाभित्र मदिरा बेचबिखन तथा सेवन गर्न निषेद गरिएको मेला तथा बजार व्यवस्थापन उपसमितिका संयोजक बलिराम भुसाल गोपालले जानकारी दिए ।