Ad Area

महोत्सवको कोशेली घरमा बधिया भालेदेखि भिरे मौरीको मह


घोराही, १६ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा फागुन २ गतेदेखी जारी महोत्सवमा कोशेली घर राखिएको छ । आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघले कोशेली घर सञ्चालन गरेको छ । आचार्य फुड इन्डस्ट्रिजसँगको समन्वयमा कोशेली घर सञ्चालन गरेको हो ।

स्थानीय उत्पादनलाई प्राथमीकता दिदै कोशेली घर महोत्सवमा सचिवालयको छेउबाटै सञ्चालन गरिएको छ । जसमा दाङमा उत्पादित वस्तुहरु एवं छिमेकी जिल्लाको सामाग्रीहरु पनि राखिएको छ । कोशेली घरमा दाङको पहिचान बधियाँ भालेदेखी भिरे मौरीको मह राखिएको छ ।

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा रहेको काशेली घरमा बधियाँ भाले, बट्टै, बट्टैका अण्डा, लोकल अण्डा, अनदी चालम, तिल्की चामल, सिम्ठारो चामल, मंसुली चालम, मार्सी चामलहरु राखिएको छ । यस्तै दाङमै उत्पादित मसलाहरु, भिरे मौरीको मह, कार्तिके मह, नारायणपुरमा उत्पादित केशर, स्थानीय किसानहरुले उत्पादन गरेको तरकारीहरु राखिएको छ ।

यस्तै छिमेकी जिल्ला रोल्पाको सिमी, कोदो, भटमास, पिठो, दाङमा उत्पादित विभिन्न किरानाका सामाग्रीहरु पनि कोशेली घरमा राखिएको आचार्य फुड इन्डस्ट्रिजका सञ्चालक अनिल आचार्यले जानकारी दिएका छन् । ‘घोराही, तुलसीपुर देउखुरी सबै क्षेत्रका किसान तथा उद्योगीहरुले उत्पादन गरेको सामाग्रीहरु कोशेली घरमा राखिएको छ’ सञ्चालन आचार्यले भने,‘एकै छातामुनिबाट जिल्लाभरिका किसान तथा उद्योगीहरुले उत्पादन गरेको सामाग्रीहरु महोत्सवको कोशेली घरमा राखिएकाले दर्शकहरुले अवलोकनकालागी आउनुहुन्छ’ साथै आचार्यले आगामी दिनमा पनि जिल्लामा उत्पादन हुने सम्पूर्ण सामाग्रीहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघसँगको समन्वयमा बजारिकरण गरिने बताए ।

‘साना किसान तथा साना उद्योगहरुलाई उत्पादित सामाग्रीहरु कसरी उपभोक्तासम्म पु¥याउने भन्ने आईडिया छैन, त्यसैले पनि केही किसान एवं व्यवसायीहरु विस्थापित हुनुपरेको छ’ आचार्यले भने,‘आगामी दिनमा पनि घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेको सामाग्रीहरुको बजारिकरणमा हामीले सहयोग गर्नेछौँ ।’

टिका र विष्णुले नचाए दर्शक

महोत्सवमा नेपाली सांगितिक क्षेत्रका कलाकारहरुले दैनिक आफ्नो प्रस्तुति राखिरहेका छन् । महोत्सवमो १४ औँ दिन पनि राप्ती क्षेत्रका चर्चीत कलाकारहरुले आफ्नो प्रस्तुति राखे । महोत्सवमा शुक्रवार टिका प्रसाई, विष्णु खत्री, कला लम्साल, सन्दिप न्यौपाने, यादवनाथ योगी, नारायणी खत्री, दिपा पुन, शोभा त्रिपाठी, बिमला मगर लगायतका कलकारहरुले प्रस्तुति राखेका थिए ।

शनिवार कमल गाउले र टिका पुन

महोत्सवको १६ औँ दिन दंगाली हास्य कलाकार कमल गाउलेको प्रस्तुति रहने भएको छ । महोत्सवमा शनिवार हास्य कलाकार कमल गाउले, टिका पुन, भुमीका गिरी, शोभा त्रिपाठी, नरेश खाति, लेखान्त भुषाल, पुष्पा शर्मा, सरिता दान्कुटी, बिराज गन्धर्व, अञ्जु चौधरी, सञ्जु चौधरी लगायत कलाकारहरुको प्रस्तुति रहने छ ।