दाङ महिला जेसीजकाे जेसीज सप्ताह शुभारम्भ

घाेराही, ३१ जेठ। दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालको अध्यक्षता तथा संविधान सभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्य एवम् घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको विशिष्ट आतिथ्यमा शनिबार सप्ताहव्यापी कार्यक्रम शुरु गरिएको हो।
सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गर्दै संविधान सभा सदस्य देवकोटाले समाज रूपान्तरणका लागि जेसीजको भूमिका महत्वपर्ण रहेको बताउनुभयो । व्यक्तिको नेतृत्व र क्षमता विकाससँगै रचनात्मक कार्य गरेर समाजमा सकारात्मक परिवर्तनका लागि ठूलो भूमिका खेल्दै आएको बताउनुभयो ।
युवामा बेतिथि बढ्दै गएको छ । यसैगरी, संविधान निर्माणका क्रममा महिला, युवाका अधिकार लेख्ने काममा जेसीजले खेलेकाे भुमिकाकाे स्मरण गर्नुभयो । उहाँले बनेका कानुन कार्यान्वयनका लागि पैरवीसँगै सचेतना फैलाउन जेसीजकाे भुमिका हुनुपर्ने बताउनुभयाे । उहाँले अहिले पनि कतिपय कानुन समयमा निर्माण नहुँदा काम गर्न समस्या भइरहेको र त्यसले समाजमा असन्तुष्टि देखिएको भन्दै समस्या समाधानका लागि समयमै कानुन निर्माणमा जोड दिनुपर्ने बताउभयाे । अहिले पनि शिक्षामा विभेद कायमै रहेको भन्दै शिक्षामा भएको विभेद अन्त्यका लागि समाजमा सचेतना फैलाउन लाग्नुपर्ने बताउभयाे ।
दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतमले व्यक्तित्वसँगै नेतृत्व विकासका लागि जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयाे। नेपाल पत्रकार महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले समाजका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न जेसीजकाे भुमिका महत्वपूर्ण रहेकाे बताउनुभयो । पोख्रेलले पछिल्लो समय प्रविधिको विकाससँगै दुरुपयोग समेत पढेको भन्दै त्यसलाई रोक्न युवा पुस्तामा सकारात्मक सोचकाे विकास गर्न अभियान चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष टंकबहादुर रावत, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष जुनकुमारी बुढा, दाङ महिला जेसीजका पूर्व अध्यक्ष माया पोख्रेल, दाङ महिला जेसीजका संस्थापक महासचिव सरस्वती सुवेदी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सिसा संस्थाका अध्यक्ष साजिदा सिद्दिकी, लमही जेसीजका कार्यवाहक अध्यक्ष जयप्रकाश पौडेललगायतले सप्ताहव्यापी कार्यक्रमको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे
कार्यक्रम संयोजक पिया राेकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मूल संयोजक लक्ष्मी घमालले जानकारी गराउनु भएको थियाे । दाङ महिला जेसीजकी कोषाध्यक्ष अर्चना शर्माले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गर्नु भएको थियाे। सप्ताह व्यापी कार्यक्रमकाे उदघाटन समाराेहमा आयाेजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गर्नु भएकाे थियाे। रक्तदान कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी रक्त संचार केन्द्र घाेराहीले प्राविधिक सहयाेग गरेकाे थियाे ।
जेसीज सप्ताहकाे दाेस्राे दिन असार १ गते घोराही १३ को ज्यामिरे सामुदायिक वनमा दिउँसो ४ बजे वृक्षारोपण कार्यक्रम हुनेछ । तेस्राे दिन असार २ गते बिहान ८ बजे घोराही १४ झिँगौरास्थित अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा सहयोग हस्तान्तरण कार्यक्रम गरिने भएको छ ।
यसैगरी, चाैथाे दिन असार ३ गते बिहान ११ बजे त्रिभुवननगर जेसीज सचिवालयमा व्यवसायिक अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । पाँचौं दिन असार ४ गते बिहान साढे ११ बजे घोराही ५ धर्नामा प्रजनन् स्वास्थ्य परामर्श कार्यक्रम हुने भएको छ । छैठौं दिन असार ५ गते बिहान साढे ७ बजे घोराही १७ गैरागाउँस्थित फुटसल मैदानमा महिलाहरुबीच फुटसल प्रतियोगिता हुने भएको छ ।
जेसीज सप्ताह समापनका अवसरमा असार ७ गते बिहान ११ बजे अम्बिकेश्वरी मन्दिर परिसरमान साहित्यिक कार्यक्रम गरिने भएको अध्यक्ष ढकालले बताउनुभयो ।