एक वर्षपछि विद्यालय फर्किइन् वर्षा

घोराही, ७ साउन । विगत एक वर्षदेखि विद्यालय जान नपाएकी ९ वर्षीया वर्षा पुन मगर बुधबारदेखि पुनः विद्यालय जान थालेकी छन् । ‘घोराही बनाऔं अभियान’को पहल र विभिन्न सहयोगी हातहरूको साथले वर्षालाई विद्यालय फर्कने अवसर जुरेको हो ।
बुधबार बिहान ९ बज्नै लागेको बेला वर्षा अझै पनि विद्यालय जान नपाउने डरले निराश थिइन् । त्यही बेला ‘घोराही बनाऔं अभियान’का संयोजक सविन प्रियासन नेतृत्वको टोली पोशाक, पाठ्यपुस्तक तथा शैक्षिक सामग्रीसहित वर्षाको फुपु÷फुवाजु बस्ने घरमा पुगेको थियो ।
शैक्षिक सामाग्रीसहित टोली घरमा पुगेपछि हत्तारिँदै वर्षालाई तयार गरेर घोराही उपमहानगरपालिका–७ स्थीत ग्लोबल एकेडेमी पु¥याएको थियो । बर्षालाई लगेर घोराही बनाउ अभियानका संयोजक सविन प्रियासन, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता केएल बुढाथोकीसहितको टोली एकेडेमी पुगेको थियो ।
विद्यालयमा वर्षालाई विद्यार्थी र शिक्षकले स्वागत गरेका थिए । विद्यालयका प्रिन्सिपल किरण न्यौपानेले वर्षालाई प्लस टु तहसम्म निःशुल्क पढाउने घोषणा गर्दै पढाइ र आवश्यक शैक्षिक सामग्रीको सम्पूर्ण जिम्मेवारी विद्यालयले लिने बताए । वर्षालाई सहयोग गर्ने क्रममा लुम्बिनी स्कूल युनिफर्म एन्ड स्पोट्र्स हाउसका सञ्चालक रामप्रसाद गौतम र सावित्रा गौतमले विद्यालय पोशाक सहयोग गरेका थिए ।
सरस्वती गार्मेन्टले पोशाक उपलब्ध गराएको थियो भने जनता बुक स्टलका सञ्चालक रामभक्त गुप्ताले पाठ्यपुस्तक तथा शैक्षिक सामग्री प्रदान गरेका छन् । पूर्वी रुकुमको भुमे गाउँपालिका–९ निवासी वर्षा हाल फुपु फुवाजु सुरेश बुढा र विमला पुनसँग घोराही–१६, खिरिटियामा बस्दै आएकी छन् ।
उनी गुलरियास्थित प्रहरी बोर्डिङ स्कुलमा युकेजीसम्म अध्ययन गरिसकेकी थिइन । रोजगारीका लागि भारत गएका बुबाआमा लामो समयदेखि सम्पर्क विहिन रहेका छन् ।