Ad Area

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख घिमिरेद्वारा राजीनामा


दाङ, १४ चैत्र । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै उनले सोमबार पदबाट राजीनामा पत्र बुझाएका हुन् ।

घिमिरेले ठेक्का रद्द गरेलगत्तै आफ्नो राजीनामाबारे जानकारी दिन जारी गरेको प्रेश विज्ञप्तिमा २०७८ फागुन २ गते बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार फागुन ८ गते भवन निर्माणको लागि टेन्डर आह्वान भएको बताएका छन् । प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलबहादुर केसी आफै छन् ।

शुरुबाटै संकुचित स्पेसिफिकेसन राखिएको आशंका रहेको भन्दै उनले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराएको उनको दावी छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र निर्माण व्यवसायी महासंघबाट समेत पत्र आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘अन्त्यमा जम्मा २ वटा कम्पनीले मात्रै बोलपत्र दर्ता गरेको सूचित भयो, उक्त जानकारी पनि कार्यालय (प्राधिकरण) ले सम्बन्धित निकायलाई दियो,’ उनले विज्ञप्तिमा भनेका छन् । उनले सम्बन्धित निकाय भनेर मुख्यमन्त्रीको कार्यालय र प्रदेश पूर्वाधार विकास समितिलाई संकेत गरेका हुन् ।

बोलपत्र दर्ता गर्ने कम्पनीलाई ‘हार्ड कपी’ दर्ता गर्न ३ दिनको समय दिएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएको उनले बताएका छन् । उक्त कारण पनि मिलेमतोको आशंका पुष्टि भएको घिमिरेको भनाई छ । ‘मैले गम्भीर भएर सोचें, ७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा १५० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानें, ‘घिमिरेले भनेका छन्, ‘ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु नपर्ने निर्णयसहित अस्पताल भवनको ठेक्का रद्द गरेको छु ।’ यस्तै, उनले दलालहरूको दलाल बन्नु पर्ने भएपछि त्यो बन्न नसक्ने भन्दै राजीनामा दिएको स्पष्ट पारेका छन् ।

यसैबीच, लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का सम्झौता तोडेको छ। सोमबार प्राधिकरणको बसेको बैठकले सम्झौता तोड्ने निर्णय गरेको उनले बताए । अस्पतालको ७ सय करोडको ठेक्का हुदा प्रदेश सरकारलाई करिब १५० करोड घाटा लाग्ने अवस्थामा देखिएपछि उक्त सम्झौता तोडिएको घिमिरेले बताए ।

बितेको ६ महिनाको अवधिमा उनले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, जग्गा एकीकरण तथा विकास कार्यविधि, राप्ती प्रादेशिक अस्पतालको डिपिआरलगायत काम गरेको बताएका छन् ।

Blog Post Ad

घिमिरे प्रदेश पूर्वाधार प्राधिकरणको सिइओमा गत असोज २४ गते नियुक्त भएका थिए । राजीनामा दिएका घिमिरेले अब आफू कुनै पनि राजनीति दलमा आवद्ध नरहेर स्वतन्त्र रहेको समेत बताएका छन् । घिमिरे नेकपा माओवादीमा २०५६ सालदेखि आवद्ध रहँदै आएको उनले बताए । उनले नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट विश्राम लिएको घोषणा पनि गरेका छन् ।

Blog Post Ad Blog Post Ad