Ad Area

‘वनका राजा’ सहरमा अटो हाक्दै


दाङ, २७ बैशाख । ‘वनका राजा’ भनेर चिनिने कुसुण्डा जातिका धनबहादुर कुसुण्डा अहिले बंगुर पालनसँगै अटो चलाउने गरेका छन् । दैनिक उनले घोराही बजारमा अटो चलाउने गर्छन् । अटो उनको दैनिक चलाउने व्यवसाय बनेको छ । यसैगरेर करिब एक वर्ष अघि बंगुरपालन व्यवसाय सुरु गरेका उनीसँग अहिले ७ वटा बंगुर छन् । उनले घोराही उपमहानगरपालिका वडा नं १८ सुपौला खुटीमा बंगुरपालन गरेका छन् । कुसुण्डा जातिले दही दूध समेत खाँदैनथे ।

गाईगोरुकोे गोबरले घर समेत लिप्दैनन् तर समयको मागसँगै परिवर्तन हुनुपरेको उनले बताए । ‘गाईगोरुकोे गोबर देखेपछि छि ! छि !! भनेर विगतमा भाग्ने गरेको उनले विगत सम्झँदै भने, ‘तर आजभोलि समयको परिवर्तनसँगै आफुहरू पनि परिवर्तन भएका छौँ । नयाँ पुस्ताले दूध–दही समेत खाने गरेका छन् ।’ समयको परिवर्तनसँगै आफूले पनि बंगुरपालन गरेको उनले बताए । ‘आर्थिक आय आर्जनका लागि के गर्नु केही त गर्नुप¥यो’, उनले भने, ‘त्यो भएर यो व्यवसाय समेत सुरु गरेका छौँ ।’ बंगुरबाट आम्दानी भने अझै सुरु नभएको उनले बताए ।

बंगुरपालनसँगै उनले अटो पनि चलाउँदै आएका छन् । अटोबाट भएको आम्दानीले घरव्यवहार चलाउँदै आएका छन् । करिब ७÷८ वर्ष पहिले अटो चलाएका उनी घोराही उपमहानगरपालिकाको कार्यपालिकाको सदस्य भएपछि छाडेका थिए । अहिले फेरि अटो चलाउन सुरु गरेका छन् । त्यसैबाट भएको आम्दानीले घरव्यवहार चलाउने गरेको उनले बताए । सुरुका दिनमा अटोबाट राम्रो आम्दानी भए पनि अहिले आम्दानी समेत कम भएको उनले बताए ।

अटोको सङ्ख्या बढ्नुका साथै अहिले आर्थिक समस्याको कारणले आफूहरूको आम्दानी समेत घटेको उनको भनाइ छ । ‘धेरै युवाहरू अटो विक्री गरेर विदेश जान थालेका छन्, हाम्रो उमेरले पनि बाहिर जान पाइँदैन’, उनले भने । कुनै समयमा जङ्गलमा फिरन्ते जीवन बिताउने कुसुण्डा अहिले घोराही बजारमा अटो चलाएर घोराही बजारमा हिड्ने गरेका छन् ।

अटो चलाउनुभन्दा पहिले उनले बिजुलीसम्बन्धी काम, मिस्त्रीको काम तथा ठेकेदारको काम गरेका थिए । ‘के गर्नु खानुपर्छ, काम त गर्नु प¥यो नि !’, उनले भने, ‘काम नगर्दा खाने गास समेत हराउने गर्छ ।’ सरकारले लोपोन्मुख कुसुण्डा जातिलाई प्रतिव्यक्ति मासिक रूपमा ४ हजार दिने गरेको छ । उनले पछिल्लो समयमा काम गरेर खाने मानिसलाई नराम्रो दृष्टिकोणले हेर्ने गरेको बताउँछन् । ‘समाजमा काम गरेर खाने मानिसलाई हेर्ने दृष्टिकोण नराकात्मक रहेको छ’, धनबहादुरले भने, ‘आफ्नो काम गर्ने मानिसलाई सम्मान गर्नुको साटो हेला गर्ने हाम्रो समाज छ ।’

उनले कतिपटक अटो सञ्चालन गर्दा यसको अनुभव गरेको बताए । ‘हाम्रो समाजमा कामको मूल्याङ्कन हुनसकेको छैन’, धनबहादुरले भने, ‘यो परिवर्तन हुन जरूरी छ ।’ २०२२ साल भदौ २२ गते घोराही उपमहानगर पालिका वडा नम्बर १८ सुपैलाखुट्टीमा उनको जन्म भएको थियो । उनी ९ वर्षको हुँदा उनका बुबाको मृत्यु भएको थियो । धनबहादुर आफू थाहा पाउने भएदेखि जङ्गलमा घुमन्ते जीवन नबिताए पनि उनलाई जङ्गलको बसाइ बारे सबै ज्ञान छ । ‘बुबा, फुपू जङ्गलमा फिरन्ते जीवन बिताउनुभएको थियो’, उनले भने, ‘जङ्गलमा नबसे पनि बुबा र फुपूसँग डुल्न तथा शिकार खेल्न गएको धेरै अनुभव छ ।’

जङ्गलमा बस्दा ओढार तथा झुपडी निर्माण गरेर बस्ने गरेको धनबहादुरको भनाइ छ । जङ्गलमा शिकार गर्ने अनि गिठा र भ्याकुर खनेर खाने गरेको उनी बताउँछन् । ‘जङ्गलको बसाई स्वतन्त्र रहेको थियो तर अहिले स्वतन्त्र छैन’, उनले भने । जङ्गलमा हुँदा आफ्नो इच्छाअनुसार हिडडुल गर्न पाइन्थ्यो तर समाजमा बसेपछि समाज जसरी अगाडि बढ्छ त्यसरी नै अगाडि बढ्नुपर्ने उनको भनाइ छ । पछिल्लो समयमा विभिन्न निकायको सहयोगमा कुसुण्डा समुदायलाई जीविकोपार्जनमा सहयोग मिलोस् भनेर सीपमूलक तालिम प्रदान गरिँदै आएको छ तर पनि उनीहरू आयआर्जनमा जोडिन सकेका छैनन्

। छरिएर रहेका आफ्ना समुदायलाई एकै स्थानमा राख्न पटक–पटक पहल गरे पनि त्यसले सार्थकता पाउन नसकेको नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष समेत रहेका उनले ताए । ‘कुसुण्डा जातिलाई छुट्टै बसोबासको लागि पटक–पटक सरकारी निकायमा धाए पनि कतैबाट सुनुवाइ भएन’, उनले भने, ‘कुसुण्डा जाति छरिएर रहँदा आफूहरूको भाषा तथा संस्कृति समेत समाप्त हुँदै जानलागेको छ ।’ छरिएर बस्दा कुसुण्डा भाषा समेत लोप हुन लागेको छ । नयाँ पुस्ताले समेत कुसुण्डा भाषा बोल्न नजान्ने उनले बताए ।

भाषा सिकाउनका लागि तालिम प्रदान गरिँदै आइएको छ तर सबै उनीहरूले सिक्नसकेका छैनन् । अहिले जिल्लामा कुसुण्डा भाषा बोल्न जान्ने एकजना मात्र रहेको उनको भनाइ छ । आफ्नो संस्कार पनि हराउँदै गएको उनले बताए । संस्कृति जान्नेहरू सँगसँगै बस्दा त्यो अरूले पनि सिक्न पाउने भए पनि सँगै बस्न नपाउँदा त्यसो हुन नसकेको बताए । कुसुण्डा जातिलाई छुट्टै स्थान दिएर राज्यले बसाउनुपर्ने बताए । कुसुण्डा जातिलाई एकै स्थानमा बसाउन सकिए भाषा तथा संस्कृतिको समेत संरक्षण हुने उनले बताए ।

धनबहादुर अहिले जिल्लादेखि केन्द्रसम्म विभिन्न संघसंस्थाहरूसँग जोडिएका छन् । उनी कुसुण्डा समाजका केन्द्रीय अध्यक्ष, घोराही उपमहानगरपालिका कार्यपालिकाको सदस्य भएर काम गरेका थिए । यसैगरेर भृकृटीमण्डप पर्यटन बोर्डको सदस्य, आदिबासी जनजाति महासंघको केन्द्रीय परिषद् सदस्य, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद्का सदस्य तथा जिल्ला जनजाति महासंघको सदस्य समेत छन् ।