Ad Area

सावुन उद्योगमा बढ्दै लगानी


घोराही, १० जेठ । जिल्लामा सावुन उद्योगमा लगानी बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता भएका सावुन तथा सरफ बनाउने घरेलु उद्योगको संख्या बढ्दै गएको छ । उद्योग थपिदै जादा लगानीसँगै उत्पादन समेत वृद्धि हुँदै गएको हो ।

उत्पादन वृद्धिसंँगै जिल्लाका बजार स्थानीय सावुनले बजार लिदै गएका छन् । बबई गाउँपालिकाको हापुरे बजारमा सञ्चालनमा आएको सावुन उद्योग फस्टाउँदै गएको छ । स्थानीय दयाराम बिकले केही समय अघि साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको थियो । रोजगारीको सिलसिलामा भारतमा साबुन उद्योगमा लामो समय काम गर्नुभएका बिकले पछिल्लो समय दाङमा आफुले उद्योग स्थापना गरी साबुन र सरफ उत्पादनसँगै बिक्री गर्दै आउनुभएको छ ।

उहाँले एक करोड २५ लाख रुपैयाँको लगानीमा दया उजेली साबुन उद्योग सञ्चालनमा ल्याउनुभएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ का तुल्सीराम चापागाईले घोराही उपमहानगरपालिका–१६ रावत गाउँमा साबुन उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
करिव तीन करोड लगानी गर्नुभएका चापागाईले मेलिना मल्टिपल प्रालिका नाममा उद्योग स्थापना गरी ‘स्मृति’ लुगा धुने साबुन बजारमा ल्याउनुभएको छ ।

आगामी दिनमा नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, भाँडा माझ्ने साबुनलगायतका सामान उत्पादनको तयारीमा रहेको सञ्चालक चापागाईले बताउनुभयो । विदेशबाट फर्किएर स्वदेशमै उद्यम गर्नेहरु आत्मनिर्भर बन्दै रोजगारी दिने काम गरिरहेका छन् । जिल्लामा साबुन तथा सर्फ उद्योग, जढिबुटी प्रशोधन केन्द्रहरु ३५ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय दाङका अधिकृत विक्रम केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराहीमा ८ वटा, तुलसीपुरमा १५ वटा, गढवामा ५ वटा, लमहीमा ४ वटा, बबईमा ३ वटा गरी ३५ वटा साबुन तथा सरफ सम्बन्धी घरेलु उद्योगहरु रहेका छन् ।

तुलसीपुरमा रहेका १५ वटा उद्योगमा ३ करोड ४२ लाख ६२ हजार, घोराहीमा रहेका ८ वटा उद्योगमा १ करोड ७ लाख ९९ हजार, गढवामा रहेका ५ वटा उद्योगमा १ करोड २ लाख ६१ हजार, बबईमा ३ उद्योगमा ४७ लाख ३० हजार, लमहीमा रहेका ४ वटा उद्योगमा ५० लाख ९६ हजार गरेर जम्मा ६ करोड ५१ लाख ४८ हजार लगानी रहेका घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केसी बताउनुहुन्छ । उद्योगहरुमा करिव दुई सय बढीले रोजगारी प्राप्त गरेका छन् ।

स्थानीयस्तरमा रहेका कच्चा पदार्थ प्रयोग गरेरपनि साबुन उद्योगहरुले उत्पादन गरिरहेका छन् । सरसफाईका लागि चाहिने हार्पिक, फिनाईल जस्ता पदार्थ उत्पादनमा पनि लगानी रहेको अधिकृत केसी बताउनुहुन्छ । जंगलमा पाइने चिउरी, मालागेडी, तितेपाती, टिमुर,मेन्थालगायत बाहिरबाट आवश्यक कच्चा पदार्थ ल्याएर सर्वल नुहाउने साबुनदेखि कपडा धुने सावुन र सर्फ उत्पादन गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख लालबहादुर गुरुङले जानकारी दिनुभएको छ । बढ्दो सहरीकरणसँगै पछिल्लो समय मानिसहरुमा सरसफाईमा साबुन र सरफको खपत पनि बढेको छ ।

Blog Post Ad

साबुन सर्फका उद्योगहरुलाई बजारमा बिक्रीका लागि समस्या नहरेपनि टिप्न चुनौती रहेको कार्यालय प्रमुख गुरुङ बताउनुहुन्छ । कार्यालय प्रमुख गुरुङले भन्नुभयो,‘गुणस्तरीय बस्तु उत्पादन गर्ने उद्योगहरुलाई विक्रीका लागि समस्या हुँदैन । तर सामग्री उत्पादनमा ध्यान दिनुपर्छ ।’ उहाँले बजारको अध्ययन नगरी हतारमा खुलेका उद्योगहरु चल्न नसक्ने बताउनुभयो । त्यसैगरी साबुन बनाउने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने र ठुला उद्योगहरुसँग प्रतिष्पर्धा गर्नु समस्या हुने गरेको उद्योगहरु बताउँछन् ।

Blog Post Ad Blog Post Ad