Ad Area

आज गणतन्त्र दिवस


आज गणतन्त्र दिवस अर्थात गणतन्त्र प्राप्तीको १५ बर्ष पुरा भएको छ । १५ बर्षअघि आजकै दिन मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो ।

जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । नेपालमा दुई सय ३८ वर्ष लामो शाह वंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

गणतन्त्र घोषणा भएको पनि १६ बर्ष पुगिसकेको छ । २०६२ साल चैत २२ गतेदेखि ६३ साल वैशाख ११ गतेसम्म भएको जनआन्दोलनका माध्यमबाट देशमा राजनीतिक परिवर्तन भएको थियो । १० वर्ष सशस्त्र युद्ध गरेर आएको तत्कालिन माओवादी र संसदवादी ७ दलको अगुवाइमा चलेको जनआन्दोलनको उपलव्धी हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि देशमा संविधान सभाका दुई, संघीय निर्वाचन दुई पटक भइसकेका छन् । संघीयता लागु भएपछि प्रदेश र स्थानीय तहमा पनि दुई पटक निर्वाचन भएर जनप्रतिनिधिहरुले काम गरिरहेका छन् । तर जनताले अनुभुति गर्नेगरी काम हुन सकेको छैन । जस्ले गर्दा १५ वर्षको अवधिमा आम जनताले आफ्नो जीवनमा देखिने परिवर्तन के पाए भन्ने गम्भीर प्रश्न खडा भएको छ ?

तर राजनीतिमा झन–झन बेथिति बढेको छ । सरकार बन्ने र ढुल्ने क्रम संघदेखि प्रदेशसम्म चलिरहे । १६ बर्षमा मात्रै १२÷१३ वटा सरकार बने । दुई तिहाईको सरकार समेत पुरा अवधि चल्न सकेन । सत्ता नै सबथोक भन्ने प्रवृतिले दुई–दुई पटक संसद् विघटनको खेल चल्यो । पैसा, शक्ति र पहुँच हावी हुँदा इमान्दारहरु पाखा पारिएका छन् । दलहरु नै गुट र विभाजनबाट मुक्त छैनन् । आखिर कहाँ चुक्यौ हामी ?

सरकार, संसददेखि न्यायालयसम्म लयमा छैनन् । आर्थिक संकट चुलिँदो छ । तर राजनीतिक नेतृत्वलाई देश बनाउने र गरिब र विपन्न जनताको जीवन उकास्ने कुरामा चासै छैन् । के यही हो गणतन्त्र ? राजनीतिक दल र तिनको नेतृत्वले जवाफ दिनु पर्दैन ? सुशासन र विकासका सवालमा पनि जनताको प्रश्न छ देशमा भ्रष्टाचार र विकासकामा काममा ढिलासुस्ती कहिले हट्ने हो ?

व्यवस्था परिवर्तन र बर्षका हिसावले गणतन्त्र लक्का–जवान अवस्थामा पुगिसकेको छ । तर आम जनताले सच्चा अनुभुति गर्न पाएका छैनन् । सशस्त्र युद्धबाट आएको नेकपा माओवादीदेखि विकास, सुशासन र जनहितका कुरा गर्ने कांग्रेस, एमालेलगायतका पार्टीहरु पटक पटक सत्ता नेतृत्वमा पुगिसकेका छन् । तर कुनै पनि राजनीतिक दलबाट जनताले परिवर्तनको अनुभुति गर्नेगरी काम गर्न सकेका छैनन् । जस्ले गर्दा राजनीति नेतृत्वलाई जनताले विश्वास गर्न सकेका छैनन् । फलरुव राजनीतिक दल र नेतृत्वप्रतिको जनताको आशा, भरोसा र साग घट्ने क्रममा रहेको छ ।

देशमा रोजगारीका अवसरहरु सिर्जना नहँुदा युवाशक्ति दिनहु विदेशतिर पलायन भैरहेका छन् । जसले गर्दा देशलाई घाटा भैरहेको छ । राजनीतिक दलका नेतृत्वले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन र आफुले गरेका बाचाहरु पुरा गर्न राजनीतिक दलहरुले सकिरहेका छैनन् । जसले गर्दा जनताका सामु चुक्ने काम गरिरहेका छन् ।