Ad Area

आधा दशकपछि सीमास्तम्भ मर्मत


दाङ, २१ मंसिर । झण्डै आधादशकपछि नेपाल–भारत सीमा अन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमास्तम्भहरूको मर्मत थालिएको छ । अहिले ३५ वटा सीमास्तम्भ (पिलर) को मर्मतको काम भइरहेको छ ।

कपिलवस्तुदेखि बाँके जिल्लाको सीमासम्म पर्ने करिब ८३ किलोमिटर नेपाल–भारत सीमा क्षेत्र छुट्याउने ७७ वटामध्ये ३५ वटा सीमास्तम्भको मर्मत तथा रँगरोगन सुरु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार यस अघि २०७४÷०७५ तिर नापी विभागकै टोलीले जिल्लामा सीमास्तम्भको मर्मत गरेको थियो । ‘७७ वटामध्ये ३५ वटा सीमास्तम्भको मर्मत तथा रँगरोगनको काम सुरु भएको छ’, सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘०७४÷०७५ पछि अहिले मर्मतको काम थालिएका हो ।’

मंगलवारदेखि सशस्त्र प्रहरीले सीमास्तम्भ मर्मतको काम थालेको हो । श्रेष्ठले भने, ‘दाङमा मंगलवारदेखि सीमास्तम्भको मर्मत सुरु भएको छ । जस अन्तर्गत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको तर्फबाट सीमास्तम्भको सरसफाई, रँगरोगन र मर्मतको काम भइरहेको छ ।’ मर्मत टोलीमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल सहभागी छन् ।

सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार जिल्लामा ३७ वटा मुख्य र ४० वटा सहायक सीमास्तम्भ रहेका छन् । जसमध्ये १४ वटा मुख्य र २१ वटा सहायक सीमास्तम्भको अहिले नेपालले मर्मत गर्न थालेको छ । उनका अनुसार नेपाल र भारतबिच भएको सहमतिका आधारमा सीमास्तम्भ मर्मतको काम विभाजन गरेर मर्मत थालिएको छ । यो सहमतिमा जोर अङ्कका सीमास्तम्भ भारतले मर्मत गर्ने उल्लेख थियो भने बिजोर अङ्कका सीमास्तम्भ नेपालले मर्मत गर्ने भन्ने थियो । दुई देशीय सम्झौता अनुसार बिजोर अङ्कका सीमास्तम्भको मर्मत तथा रँगरोगनको काम नेपालको तर्फबाट भइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

‘जोर अङ्कका सीमास्तम्भहरू भारत र बिजोर अङ्कका सीमास्तम्भ नेपालले मर्मत तथा रँगरोगन गर्ने सहमति हो’, उनले भने, ‘सोही सहमति अनुसार अहिले नेपालतर्फका सीमास्तम्भ मर्मत सुरु गरिएको हो ।’ दुई देशीय सम्झौता अनुसार जोर अङ्कका सीमास्तम्भ मर्मतको जिम्मा पाएको भारतले भने यस अघि नै मर्मत गरिसकेको छ । ‘जोर अङ्कका सीमास्तम्भ भारतीय पक्षबाट मर्मत भइसकेको छ, नेपालको तर्फबाट मर्मत हुन सकेको थिएन’, उनले भने । जस अन्तर्गत अहिले ३१ वटा सीमास्तम्भको सरसफाई र रँगरोगन मात्रै गर्नु पर्ने छ भने बाँकी चारवटा सीमास्तम्भको सामान्य मर्मत गर्नु पर्ने भएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

खोलाले बगाएको सीमास्तम्भ अझै बनेन
यसैबिच नेपाल–भारत सीमा अन्तर्गत दाङमा खोलाएले बगाएको सीमास्तम्भ करिब एकदशक बढी समय भइसक्दा पनि स्थापना हुन सकेको छैन । नेपाल–भारत सिमाअन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ८ को खबरी खोलामा रहेको सीमा नम्बर ६०२ को सहायक १ नम्बरको सीमास्तम्भ करिब १० वर्ष पहिले खोलाले बगाएको थियो । खोलाले बगाएको करिब १० वर्ष बढी समय भइसक्दा पनि अझै निर्माण हुन नसकेको छैन ।

Blog Post Ad

सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘नेपाल–भारत सीमा अन्तर्गत ७७ वटा सीमास्तम्भ हुन् । त्यसमध्ये खबरी खोलामा रहेको सीमास्तम्भ खोलाले बगाएपछि निर्माण हुन सकेको छैन ।’ नापी विभागका नापी अधिकृत पवनकुमार खत्रीका अनुसार खोलाले बगाएको सीमास्तम्भ पुनः सोही स्थानमा स्थापना गर्दा जोखिमपूर्ण रहेको र नयाँ स्थानमा सार्न नमिल्ने भएका कारण निर्माण हुन नसकेको बताए ।

उनका अनुसार उक्त सीमास्तम्भ खोलाको बिच भागमा पर्ने भएकाले पुनःनिर्माण गर्दा पुनः बगाउने जोखिम छ । नापी विभागका नापी अधिकृत खत्रीले भने, ‘सीमा क्षेत्रमा रहेको ६०२ मुख्य सीमास्तम्भको सहायक स्तम्भका रूपमा रहेको १ नम्बर सीमास्तम्भ २०७४÷०७५ साल अघिदेखि नै निर्माण हुन सकेको छैन । पुरानो स्थानमा स्थापना गर्दा फेरि खोलाले बगाउने जोखिम छ ।’

तर नयाँ ठाउँमा सीमास्तम्भ राख्दा दुवै देशको संयुक्त सुरक्षा समितिको बैठकले नयाँ ठाउँबारे सहमति कायम गर्नु पर्छ । अहिलेसम्म यो विषयमा भने दुई देशीय छलफल भएको छैन । ‘नयाँ स्थानमा सीमास्तम्भ निर्माण गर्न दुई देशीय सुरक्षा समितिको सहमति अनिवार्य हुनु पर्छ’, उनले भने, ‘तर अहिलेसम्म यो निर्णय नभएका कारण खोलाले बगाएको लामो समय भइसक्दा पनि निर्माण हुन सकेको छैन ।’

Blog Post Ad Blog Post Ad