Ad Area

दाङमा अपराधका घटना डरलाग्दो, थपिँदै सुरक्षा चुनौती


घोराही, १३ असार । शान्तिनगर गाउँपालिका ७ का २३ वर्षीय दामु भन्ने दामुदर पुनले १६ वर्षीया बालिकालाई २०८१ वैशाख २० गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख २१ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भयो । प्रहरीले आरोपितलाई वैशाख २१ गते घरबाटै गिरफ्तार गरी जेठ १३ गते बलात्कार प्रयाससम्बन्धी मुद्धा चलाएकोमा जिल्ला अदालतले जेठ १४ गते २ लाख धरौटीमा हिरासतमुक्त गर्यो ।

२०८० चैत १३ गते घोराही उपमहानगरपालिका वडा नम्बर १६ का ४५ वर्षीय गोपाल विकले ५० वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १४ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिए । पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भयो । प्रहरीले आरोपितलाई चैत १५ गते घरवाटै गिरफ्तार गरी बैशाख ९ गते जवरजस्तीकरणी सम्बन्धी मुद्दा चलाएकोमा जिल्ला अदालतले वैशाख १० गते पुर्पक्षका लागि कारागार पठायो ।

घोराही उपमहानगरपालिका ८ का ३० वर्षीया सरिता विकलाई २०८० पुस २४ गतेसम्म पटक–पटक सोही वडाका ५० वर्षीय बसन्त बुढाथोकीले जातीय विभेद गरेको भन्दै पीडित पक्षले पुस २५ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिनुभयो । उजुरीलगत्तै आरोपित फरार भए । प्रहरीले आरोपितविरुद्ध २०८० माघ १० गते जातीय छुवाछुतसम्बन्धी मुद्धा चलाएकोमा चैत १६ गते आरोपित अदालतमा हाजिर भएपछि जिल्ला न्यायाधीश लोकवहादुर हमालको इजलासले बुढाथोकीलाई चैत १६ गते ३० हजार धरौटीमा छोड्यो ।

एक १५ वर्षीया बालिकालाई २०८० माघ २४ गते घोराही उपमहानगरपालिका ५ का १७ बर्षीय बालकले बालविवाह गरेको भन्दै पीडित पक्षले माघ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । ललाइफकाई विवाह गरेको पीडितले बताउनुभयो । प्रहरीले आरोपितलाई फागुन १ गते घरबाटै गिरफ्तार गरी फागुन २२ गते बालविवाहसम्बन्धी मुद्धा चलाएकोमा जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले २०८१ जेठ १६ गते दोषी ठहर गर्दै १० दिन कैद ५ हजार जरिवाना र २ सय पीडित राहत कोषमा क्षतिपूर्ति भराउने फैसला गर्यो ।

सिस्ने गाउंपालिका वडा नम्बर ६ रुकुमपूर्व घर भइ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा डेरा गरी बस्ने २१ वर्षीया पूर्वपत्नी टीका रावतलाई २०८१ जेठ २५ गते कपुरकोट गाउँपालिका वडा नम्बर ६ घर भई ज्वाला दलगण बारामा कार्यरत नेपाली सेनाका सहायक अमलदार २६ वर्षीय शालिकराम बुढाथोकीले हत्या गरेको भन्दै पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए । शवको पोष्टमार्टम जेठ २६ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरि शव आफन्तले बुझेर जेठ २६ गते परम्पराअनुसार अन्तष्टि गरे । प्रहरीले आरोपित बुढाथोकीलाई जेठ २५ गते तुलसीपुरबाटै गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

दाङमा विभिन्न प्रकारका अपराधजन्य घटना अस्वाभाविक रुपमा बढेको छ । पछिल्लो ६ महिनाको अवधिमा १ सय ३७ वटा मानवअधिकार सम्बन्धि घटना भएको पाईएको छ । सभ्य, सुरक्षित तथा मर्यादित समाजको परिकल्पना गरिए पनि समाजमा दैनिक जसो अपराधका घटना हुँदा जनधनको ठूलो क्षति भईरहेको छ । अर्कोतिर सुरक्षा चुनौति पनि थपिँदै गएको छ ।

Blog Post Ad

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगतको भन्दा यो पटक मानवअधिकार सम्बन्धि अपराधका घटना अझ बढेको छ । जिल्लामा अपराधजन्य घटनामा सबैभन्दा धेरै जबरजस्ती करणीका घटना भएका छन् ।

इन्सेक दाङ प्रतिनिधि जेएन सागरका अनुसार जिल्लामा जबरजस्ती करणीका ४७ वटा, घरेलुु हिंसाका ५० वटा, हत्याको ९ वटा, दुर्व्यवहारका ५ वटा, यौन दुर्व्यवहारका ५ वटा, बहुविवाहका ४ वटा, बन्द हड्तालका ५ वटा, कुटपिटका ३ वटा तथा जातीय भेदभाव, धरपकड, हत्या प्रयास, आगजनीका १–१ वटा घटना भएका छन् ।

जिल्लामा बितेको ६ महिनामा लैंगिक हिंसा, बलात्कारजन्य घटना उल्लेख्य भएका तथ्यांकले देखाएको छ । लैंगिक हिंसाका घटनामा परिवारभित्रैका व्यक्ति संलग्न रहेको पाईएको छ । सबैभन्दा धेरै पतिले पत्नीमाथि हिंसा गरेको पाइएको छ भने यही अवधिमा पतिले ७ जना पत्नीको हत्या गरेका छन् । जसमा तीन जना सुरक्षा निकायकै व्यक्ति संलग्न भएको समेत तथ्यांकमा उल्लेख छ ।

जिल्लामा भएका घटना बाहेक विद्यार्थीमाथि दुव्र्यवहार, सिमेन्ट कारखानाबाट सिर्जित धुलो, धुवाँ र ध्वनीले मानवीय स्वास्थ्यको जोखिम, सार्वजनिक यातायातमा महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार, मोही किसानका समस्या, आन्दोलन र उनीहरुमाथि गरिएको दुव्र्यवहार, सहकारी र वैदेशिक रोजगारीका नाममा हुने ठगीजस्ता घटना पनि जिल्लामा उल्लेख्य रुपमा भएको तथ्यांकमा रहेको छ ।

मानव अधिकार सञ्जाल दाङका कार्यवाहक अध्यक्ष श्रीमन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले दाङमा मानव अधिकार उल्लंघनका घटना वास्तवमै बढेको बताउनुभएको छ । समाजमा बढ्दो अपराध रोक्न सचेतनासँगै कानुनी साक्षरता व्यापक बनाउन संवेदनशील हुनुपर्ने बताउनुभयो ।

नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले मानव अधिकार लागू गर्ने निकाय सम्वेदनशील हुन नसक्दा समाजमा अपराध बढिरहेको तर्क गर्नुभयो । उहाँले मानव अधिकार हनन्का घटना रोक्न सबै पक्ष गम्भीर हुनुको विकल्प नरहेको बताउनुभयो ।

वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिवद्ध रहेको जनाउँदै पीडामा महिलाहरु धेरै पर्ने भएकाले गोपनीयता कायम गर्दै महिलामैत्री वातावरणमा सेवा दिने काम भईरहेको बताउनुभयो । घोराही कारागारका प्रमुख योगेन्द्र रिजालले अपराध अनुसारको सजाय भुक्तान गर्न आएको कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न कारागार प्रशासनलाई समेत चुनौति थपिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad