Ad Area

दाङबाट कृषिजन्य बस्तु निर्यातमा व्यापक गिरावट,लगानी बढे पनि झण्डै २८ करोडले घट्यो निर्यात


घोराही, १८ भदौ । दाङबाट कृषिजन्य बस्तु निर्यात अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा घटेको छ । आर्थिक वर्ष २०७९–०८० मा दाङबाट एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बीउलगायत कृषि बस्तु जिल्ला बाहिर निकासी भएकोमा गत आर्र्थिक वर्ष २०८०–०८१ मा घटेर ८३ करोड ६९ लाख १९ हजार मूल्यको मात्रै कृषि बस्तु निर्यात भएको छ ।

तरकारी उत्पादनको अवस्थामा सुधार हुँदै गएको, अन्नबालीभन्दा तरकारी, फलफूल उत्पादनमा आकर्षण बढ्दै गएको सरकारी कार्यालयको दावी भईरहेका बेला जिल्लामा एक आर्थिक वर्षमा उल्लेख्य रुपमा कृषिजन्य बस्तु निर्यातमा गिरावट देखिएको छ ।

जिल्लामा कृषि बस्तु उत्पादनमा लगानी थपिँदै गएपनि आर्थिक वृद्धिमा गिरावट आएको छ । कृषि क्षेत्रमा सरकार, संघसंस्था तथा व्यक्तिगत लगानी थपिने क्रम भने जारी छ । बितेको एक आर्थिक वर्षमै दाङबाट २७ करोड ८७ लाख ७९ हजार रुपैयाँले कृषि बस्तु निर्यातमा गिरावट आएको छ । जिल्लाबाट आर्थिक वर्ष २०८०–०८१ मा ८३ करोड ६९ लाख १९ हजार मूल्यको कृषि बस्तु निर्यात ताजा तरकारी, फलफूल, मह, मकै, धान, गहुँ, तोरीको बीउ, उन्नत तथा हाइब्रिड बीउलगायत रहेका छन् ।

गतवर्ष दाङबाट सबैभन्दा धेरै ताजा तरकारी निर्यात भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । ५८ करोड १२ लाख ५० हजारको तरकारी निर्यात भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षभने बस्तु निर्यातमा गिरावट आएको केन्द्रले जनाएको छ । बितेको एक आर्थिक वर्षमा १९ हजार ३ सय ७५ मेट्रिक टन ताजा तरकारी विभिन्न माध्यमबाट जिल्ला बाहिर निकासी भएको छ । निकासी गन्तव्यका रुपमा बुटवल, महेन्द्रनगर, सुर्खेत, नेपालगञ्ज, पोखरा, काठमाडांै लगायतका शहरहरु रहेका कृषि अर्थविज्ञ एवं कार्यालयका सूचना अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ३ सय ३५ जना व्यावसायिक कृषकले उत्पादन गरेका ती तरकारी जिल्ला बाहिर निर्यात भएको हो । उत्पादित तरकारी घोराहीमा मात्रै दैनिक करिव ७० क्वीन्टल खपत हुने गरेको छ ।

Blog Post Ad

सोही अवधिमा ६ करोड ८९ लाख ५० हजार मूल्यको फलफूल जिल्ला बाहिर निर्यात भएको छ । ३५ जना व्यावसायिक कृषकबाट उत्पादित ९ सय १६ टन फलफूल जिल्ला बाहिर पठाईएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । जिल्लाबाट आँप तथा ड्रागन फ्रुट, स्ट्राबेरी, खरबुज आदि निर्यात भएको छ । निर्यात भएका फलफूल पनि बुटवल, पोखरा, नेपालगञ्ज, काठमाडौंका शहरमा जाने गरेको छ ।

फलफूल र तरकारी मात्रै नभई जिल्लाबाट चार करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मकैको बीउ पनि जिल्ला बाहिर निर्यात भएको छ । गोर्खासिड कम्पनी, नासिक सिड कम्पनी, हरित क्रान्ति कृषि सहकारी तथा सूर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्थालगायतले उत्पादित मकै, धान, गहँु, तरकारी तथा तोरीको उन्नत तथा हाइब्रिडको बीउ निर्यात भएको छ ।

यस्तै १४ करोड १७ लाख ५० हजार मूल्य बराबरको मह पनि निर्यात भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०८०–०८१ मा ३ सय १५ मेट्रिक टन मह निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०७९–०८० मा दाङबाट एक अर्ब ११ करोड ५६ लाख ९८ हजारको ताजा तरकारी, फलफूल, मह तथा धान, मकै र तरकारीको बिउ जिल्ला बाहिर निकासी भएको थियो । तरकारी खेतीमा ५ सय ७५ जना व्यावसायिक कृषकद्वारा उत्पादित ताजा तरकारी २०७९ साउनदेखि २०८० असार मसान्तसम्म ९० करोड ८८ लाख ५० हजार बराबरको ३० हजार दुई सय ९५ मेट्रिक टन जिल्ला बाहिर गएको थियो ।

जिल्लामा १० जना व्यावसायिक कृषकबाट उत्पादित आँप तथा ड्रागन फ्रुट २ करोड ८५ लाख बराबरको २ सय ५० मेट्रिक टन जिल्ला बाहिर निकासी भएको थियो । चार जना व्यावसायिक कृषक तथा सीड कम्पनीबाट उत्पादित धानको हर्दिनाथ हाइब्रिड सात दशमलव पाँच मेट्रिक टन र ६२ दशमलव दुई मेट्रिक टन चैते ५ धानको बिउ जिल्ला बाहिर गएको थियो ।

केन्द्रका अनुसार ५४ लाख ८८ हजार बराबरको बीउ जिल्ला बाहिर गएको मध्ये ६२ दशमलव दुई मेट्रिक टन नासिक सीड कम्पनीले भारत निकासी गरेको थियो । गोर्खा सिड कम्पनीले सिर्जना, सम्झना, झरना र सरिता जातको जिरो दशमलव एक सय ३९ मेट्रिक टन उत्पादन गरी ९७ लाख ३० हजार बराबरको जिल्ला बाहिर निकासी गरेको थियो ।

गोर्खा सिड कम्पनी तथा कृषकहरूले रामपुर १० हाइब्रिड जातको मकैको बिउ २६ मेट्रिक टन उत्पादन गरी ९८ लाख ८० हजार बराबरको जिल्ला बाहिर निकासी गरेका थिए भने कृषकहरूले उत्पादन गरेको ३ सय ९० मेट्रिक टन मह १५ करोड ६० लाख बराबरको जिल्ला बाहिर निकासी भएको थियो । कृषि क्षेत्रको अनुगमन, नियमन गर्दै आएको ज्ञान केन्द्रले जिल्लामा केही बालीको उत्पादन भने बढेको जनाएको छ । मकै, आलु, तरकारी बाली, आँप, केरा, मह उत्पादन अघिल्ला वर्षमा भन्दा बढेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

जिल्लामा २ सय ६० हेक्टर क्षेत्रफलमा २ हजार ७ सय ८२ मेट्रिक टन उत्पादन भएकोमा अघिल्लो वर्ष ४ सय १० हेक्टर क्षेत्रफलमा ४ हजार ५ सय ३४ मेट्रिक टन केरा उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा एक लाख ७३ हजार तीन सय ६० मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष २०७९–०८० मा ३७ हजार छ सय ३५ हेक्टर क्षेत्रफलमा एक लाख ५४ हजार दुई सय ८४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

Blog Post Ad Blog Post Ad