दाङमा दुर्लभ वनस्पति ‘केशर’ को व्यवसायिक खेती
दाङ, १०कात्तिक । दाङमा करिब २४ लाख रुपैयाँ लगानी गरेर दुर्लभ र बहुमूल्य जडिबुटी केशरको व्यावसायिक खेती सुरु भएको छ । भारतको पञ्जावमा बाली विज्ञानमा स्नातक तह अध्ययन गरेका २७ वर्षीय विवेक अधिकारीले घोराही उपमहानगरपालिका–१० नारायणपुरमा सनराइज कृषि फार्म स्थापना गरेर बहुमूल्य जडिबुटी केशरको व्यावसायिक उत्पादनमा लागेको हुन् ।
नेपालमा केशरको माग अनुसार उत्पादन अत्यन्त कम हुने गरेको र व्यावसायिक रूपमा खेती गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले नेपालमै पहिलो पटक दाङको नारायणपुरमा बन्द कोठमा दुर्लभ वनस्पति केशरलाई अनुकूल हुने हावापानी र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केशरको व्यावसायिक उत्पादन थालेको अधिकारीले बताएका छन् ।
चिसो हुने हिमाली जिल्ला जुम्ला, डोल्पालगायतका सीमित क्षेत्रमा खुल्ला रूपमा माटोमै खेती गरेर उत्पादन लिन सकिने भए पनि दाङमा बन्द कोठामा हावापानी र प्रकाश व्यवस्थापन गरेर उत्पादन थालेको भन्दै अधिकारीले भने, ‘दाङमा खुल्ला रूपमा केशरको उत्पादन लिन सकिँदैन । त्यसैले १६÷१६ को बन्द कोठामा एसीको सहायताले अहिले भारतको कास्मिरमा हुने जति तापक्रम कोठामा मेन्टेन गरेर उत्पादन थालेकका छौँ । प्रारम्भिक चरणमा उत्पादन राम्रो दिइरहेको छ ।’ कोठाभित्र टाँडी बनाएर केशर उत्पादन थालेको उनले बताए ।
यहीबाट व्यवसायलाई बढाउँदै लग्ने योजनामा रहेका अधिकारीले आफ्नो उत्पादनलाई ब्राण्डिङ गरेर बिक्रीको तयारी भइरहेको बताए । ‘अहिले बिक्रीभन्दा कति गुणस्तरीय उत्पादन लिन सकिने रहेछ भनेर उत्पादन गरिरहेका छौँ’, उनले भने, ‘यही उत्पादनबाट व्यवसायलाई बढाउँदै उत्पादन भएको केशरलाई ब्रान्डिङ गरेर बिक्रीका लागि तयारीमा लागेको बताए । राम्रोसँग हुर्किएको केशरको बिरुवाले रोपेको तीन सातादेखि उत्पादन दिन सुरु गर्ने भन्दै अधिकारीले अहिलेसम्म चार सय ग्राम केशर दाना सङ्कलन भइसकेको बताए । अधिकारीले तीन महिन अघिदेखि जिल्लामा व्यावसायिक उत्पादन थालेका हुन् ।
भारतको पञ्जावमा बाली विज्ञान अध्ययन गरेका अधिकारीले विदेश जानुभन्दा स्वदेशमै केही गरौँ भनेर नयाँ प्रकारको जडिबुटीको व्यावसायिक उत्पादन थालेको भन्दै भने, ‘यो जिल्लामा मात्र होइन, नेपालमै पहिलो पटक कोठामा हावा र प्रकाशको तापक्रम व्यवस्थापन गरेर केशरको व्यावसायिक खेती गरिरहेको छु । अहिले भइरहेको उत्पादनले सफलता दिनेमा विश्वस्त छु ।’ केशर एक बहुमूल्य तथा दुलर्भ वनस्पति भएको भन्दै उनले यो लसुन वा प्याजको आकारको सेतो गानाबाट खेती गर्न सकिने बताउँछन् ।
पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अतिसुन्दर देखिन्छ । यो फूलेको बेला मन लोभ्याउने दृश्यसँगै स्वास्थ्यका दृष्टिले अत्यन्त फाइदाजनक भएको उनले बताए । विश्वबजारमा केशरको मूल्य प्रतिकेजी आठदेखि १० लाख रुपैयाँ रहेको छ । केशरको हुम्ला, जुम्लालगायतका हिमाली क्षेत्रसँगै पूर्वी नेपालका केही ठाउँमा खेती हुने गरे पनि व्यावसायिक रूपमा नेपालमा खेती हुन नसकेको विवेका बताउँछन् ।
विवेकका बुवा निमकान्त अधिकारीले छोरा कृषि पढेको र आफ्नै ठाउँमा केही गर्छु भनेर लागेकाले खुसी लागेको बताए । पछिल्लो समय युवामा १२ पास गरेपछि विदेश जाने क्रम बढेको बेला छोराले नयाँ खालको व्यवसाय गर्न आँट गरेपछि लगानी गरिदिएको भन्दै अधिकारीले भने, ‘छोरोले नेपालमा केशरको व्यावसायिक उत्पादनसँगै बजारको सम्भावना राम्रो देखेर उत्पादनमा लागेको छ । यो परिवारका लागि खुसीको कुरा हो ।’ उनलाई व्यवसायमा परिवारले सहयोग गरिरहेको बताए ।
केशरको उपयोगिता
केशरको उपयोगिता र गुण धेरै रहेको छ । केशरलाई दुध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै अनेक रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मिने र आमालाई प्रसवपीडा कम हुने, केशरको नियमित सेवनले अनुहारमा चमक आउने, पाचनप्रणाली सही रहने, मधुमेह नियन्त्रण हुने, कामशक्ति वृद्धि हुने जस्ता फाइदा हुने विज्ञहरूले बताएका छन् । यार्सागुम्बामा हुने गुणहरू समेत पाइने केशरलाई बहुमूल्य मसलाको रूपमा प्रयोग पनि गरिने गरिन्छ ।