मन्दीको मारमा दाङका साना उद्योग,सात वर्ष चार हजार उद्योग तथा व्यवसाय बन्द
घोराही, १२ मंसिर । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा दशक अघिबाट संचालनमा रहेको गल्ला पसल मंगलबारबाट कानूनी रुपमा बन्द भयो । केसी गल्ला पसल संचालन गर्न नसक्ने भएपछि संचालक प्रोप्राईटर प्रेमबहादुर केसीले लगत कट्टा गर्नुभयो । ७० वर्षीय केसीले आफुले गल्लाको कारोबार गर्न नसक्ने अनि छोराहरुले आफुले गर्दै आएको कारोबार गर्न छाडेपछि व्यवसाय बन्द गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ कोठरीमा कल्पना बहुउद्देश्यीय बंगुर फर्म सञ्चालन गर्नुभएका मानबहादुर चौधरीले गत कार्तिकमा फर्म बन्द गर्नुभयो । पारिवार मिलेर संचालन गरेको फर्म छोरा विदेश र छोरीको विवाह भएपछि एक्लै गर्न कठिन भएपछि मानबहादुरले घरेलु तथा साना उद्योग कार्यालयबाट लगत कट्टा गर्नुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा संचालित निर्मला ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टर गत असोज ३० गते कानुनी रुपमा बन्द भयो । तुलसा बिसीले व्यापार हुन छाडेपछि बाध्य भएर लगत कट्टा गर्नुपरेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय बन्द गराउन दैनिक रुपमा पुग्ने गरेका छन् । दाङमा बितेको चार महिनाको अवधिमा २ सय ६३ वटा साना उद्योग र व्यवसाय बन्द भएका छन् । कार्तिक मसान्तसम्म कानुनी रुपमा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग व्यवसायको लगत कट्टा गराउनेको संख्या २ सय ६३ पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ । कार्यालयका अनुसार धेरै वाणिज्यतर्फका व्यवसाय बन्द भएका छन् ।
जिल्लामा चालु आर्थिक वर्ष २०८१–०८२ को चार महिनामा उद्योगतर्फ साउन महिनामा ३२ वटा, भदौमा ३० वटा, असोजमा ३० वटा, कार्तिकमा १७ वटा गरी कुल १ सय ९ वटा उद्योग बन्द भएका छन् । यसैगरी यही अवधिमा वाणिज्यतर्फ साउन महिनामा ६१ वटा, भदौमा ६७ वटा, असोजमा ६१ वटा र कार्तिकमा २५ वटा गरी कुल १ सय ५४ वटा व्यवसायको लगत कट्टा भएको कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
संघीयता कार्यान्वयनमा आएपछि स्थापना भएको प्रदेश मातहत स्थापना भएको घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका साना उद्योगमध्ये बितेको सात वर्ष र चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म आईपुग्दा ३ हजार ९ सय ४२ वटा उद्योग व्यवसाय बन्द भएका छन् । जसमा उद्योगतर्फका १ हजार ६ सय ३१ वटा र वाणिज्यतर्फका २ हजार ३ सय ११ वटा रहेका छन् । कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिजजन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी गरी ६० प्रकारका उद्योग व्यवसाय दर्ता हुँदै आएका छन् ।
कार्यालयका सूचना अधिकारी पौडेलले नयाँ दर्ता र नवीकरण गर्नेको संख्या थपिँदै जाँदा केही वर्षयता लगत कट्टा गर्नेको संख्या पनि बढ्दै गएको बताउनुभयो । नयाँ दर्ता गर्नेमा उत्साह नदेखिएको साथै लगत कट्टा गर्ने बढ्दै गएको हुँदा दैनिक रुपमा कार्यालयमा आउने गरेको बताउनुभयो ।
लगत कट्टा गराउने व्यवसायीले बन्द गराउनुको कारण सोध्दा व्यवसाय नचलेको हुँदा वैदेशिक रोजगारीमा जाने भन्दै लगत कट्टा गराउने गरेका छन् । ‘धेरै व्यवसायी व्यवसायको लगत कट्टा गराएर विदेशिन चाहेको जस्तो देखिन्छ’ उहाँले भन्नुभयो ‘ व्यवसाय बन्द गर्नुको कारण बारे लेख्दा विकल्पमा विदेश भन्ने उत्तर लेख्ने गर्नुभएको छ ।’
केहीले ऋण प्रयोजनका लागि व्यवसाय दर्ता गरेर केही समयमा लगत कट्टा गर्ने गरेको भएपनि पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसाय चलाउन गाह्रो भएपछि अरु विकल्प रोजेर लगत कट्टा गर्न कार्यालय आउनेहरु धेरै रहेका उहाँले बताउनुभयो । व्यवसाय गर्दा आर्थिक कारोबार सुस्ताउँदै गएको, बैंकबाट लिएको ऋणको ब्याज पनि तिर्न नसक्ने अवस्था भएपछि बाध्य भएर लगत कट्टा गराउन आएको हुँ भन्नुहुन्छ’ सूचना अधिकारी पौडेलले भन्नुभयो ‘यसरी धमाधम लगत कट्टा गराउन आउनेको संख्या बढ्दै जान थालेपछि हामीले लगत कट्टा गराउन आउनेको कारण बारे सोध्ने गरेका छौँ ।
अधिकांशले व्यवसाय नचलेकै कारण बन्द गर्नु परेको कैफियत देखाउने गर्नुभएको छ ।’ कोभिड पछिको आर्थिक मन्दीकै कारण अहिले धेरैको व्यवसाय चलायमान हुन नसक्दा धेरैले अरु विकल्प खोज्दै व्यवसाय बन्द गराउने गरेका उहाँको भनाई छ । ‘नयाँ दर्ता गर्नेमा पनि उत्साह घट्दै गएको देखिन्छ’ सूचना अधिकारी पौडेलले भन्नुभयो ‘आर्थिक मन्दीका कारण नयाँ दर्ता गर्ने र बन्द गर्ने बराबर उस्तै हुन थालिसकेको अवस्था देखिन्छ ।’
घरेलु तथा साना उद्योग कार्यालय, दाङमा दर्ता भएका उद्योगको लगतकट्टा गर्ने वर्षेनि बढ्दै गएको कार्यालयका तथ्यांक सहायक नरेश चौधरीले जानकारी दिनुभयो ।
बितेको सात वर्षदेखिको तथ्यांकले वर्षेनि यो संख्या बढेको देखाउँछ । आर्थिक वर्ष २०७४–०७५ मा उद्योगतर्फ १ सय ३ र वाणिज्यतर्फ २ सय ५७ गरी ३ सय ६० उद्योगको लगतकट्टा भएको थियो । आर्थिक वर्ष २०७५–०७६ मा उद्योगतर्फ १ सय ५६ र वाणिज्यतर्फ २ सय ५६ गरी ४ सय १२ उद्योगको लगतकट्टा भएको थियो । आर्थिक वर्ष २०७६–०७७ मा उद्योगतर्फ १ सय ३९ र वाणिज्यतर्फ २ सय २५ गरी ३ सय ६४ उद्योगको लगत कट्टा भएको थियो । आर्थिक वर्ष २०७७–०७८ मा उद्योगतर्फ २ सय ७ र वाणिज्यतर्फ २ सय ८० गरी ४ सय ८७ उद्योगको लगत कट्टा भएको थियो ।
आर्थिक वर्ष २०७८–०७९ मा उद्योगतर्फ २ सय १८ र वाणिज्यतर्फ ३ सय ४१ गरी ५ सय ५९ उद्योगको लगतकट्टा भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–०८० मा उद्योगतर्फ २ सय ९८ र वाणिज्यतर्फ ३ सय २३ गरी ६ सय २१ को लगतकट्टा भएको थियो । आर्थिक वर्ष २०८०–०८१ मा उद्योगतर्फ ४ सय १ र वाणिज्यतर्फ ४ सय ७५ गरी अहिलेसम्म कै धेरै ८ सय ७६ उद्योगको लगतकट्टा भएको छ । जसमा उत्पादनमूलक ४८, कृषि तथा वनजन्य उद्योग २ सय २१, पर्यटन उद्योग ५७ र सेवामूलक उद्योग ७५ वटा बन्द भएको कार्यालयका तथ्यांक सहायक चौधरीले जानकारी दिनुभयो ।