Ad Area

६ महिनामा एक हजार बढी उद्योग बन्द


अमरराज आचार्य
दाङ, २९ माघ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१÷०८२ को ६ महिनामा एक हजार २९ वटा उद्योग बन्द भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तथ्याङ्क अनुसार यस अवधिमा यो सङ्ख्यामा उद्योग बन्द भएका हुन् । पछिल्लो छ महिना (गत साउनदेखि पुस मसान्तसम्म) मा एक हजार सात सय ४२ उद्योग दर्ता भएका छन् ।

यसैगरी यो अवधिमा दुई हजार एक सय शून्य वाणिज्य फर्म दर्ता भएको मन्त्रालयले जनाएको छ । प्रदेशका पहाडी जिल्लामा खुल्नेभन्दा बन्द हुने बढिरहेका छन् । यस प्रकारको समयस्या बढ्दै गएमा धेरै समस्या उत्पन्न हुने आर्थिक क्षेत्रका जानकार बताउँछन् । आर्थिक मन्दीको प्रभाव, युवा जनशक्ति विदेश पलायन बढ्दै जाँदा पनि यस प्रकारको भएको आर्थिक जानकार बताउँछन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार उद्योगतर्फ पाँच हजार ५१ उद्योग नवीकरण गरिएका छन् भने वाणिज्यतर्फ पाँच हजार चार सय २७ फर्म नवीकरण भएका छन् । यसैगरी वाणिज्यतर्फ एक हजार ५७ फर्म खारेज भएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए । प्रदेशका १२ जिल्लामध्ये रुपन्देही जिल्लामा सबैभन्दा बढी उद्योग दर्ता भएका छन् । यो जिल्लामा चार सय ५२ उद्योग दर्ता भएका छन् भने छ सय ४५ वाणिज्य फर्म दर्ता भएका छन् । यो जिल्लामा एक सय छ उद्योग खारेज भएका छन् भने ३२ वाणिज्य फर्म बन्द भएका छन् ।

यसैगरी बाँके जिल्लामा तीन सय ६८ उद्योग र चार सय १० फर्म दर्ता भएका छन । यो जिल्लामा एक सय आठ उद्योग र दुई सय ३८ वाणिज्य फर्म खारेज भएका छन् । यसैगरी नवलपरासी पश्चिममा पछिल्लो छ महिनामा एक सय शून्य उद्योग र दुई सय दुई फर्म दर्ता भएका छन् भने ७४ उद्योग र ६२ वाणिज्य फर्म बन्द भएका छन् । मन्त्रालायको तथ्याङ्क अनुसार कपिलवस्तुमा एक सय ९० उद्योग र दुई सय २५ फर्म दर्ता भएका छन् । यो जिल्लामा ९२ उद्योग र ६२ वाणिज्य फर्म बन्द भएका छन् ।

दाङमा पछिल्लो ६ महिनामा दुई सय ३० उद्योग र तीन सय २५ वाणिज्य फर्म दर्ता भएका छन् भने एक सय ४१ उद्योग बन्द भएका छन् । यसैगरी दुई सय एक वाणिज्य फर्म खारेज भएका छन् । यस्तै बर्दियामा एक सय ४० उद्योग र एक सय ४५ वाणिज्य फर्म दर्ता भएका छन् भने ९४ उद्योग र ८४ वाणिज्य फर्म खारेज भएका छन् । यसैगरीै पाल्पामा ४४ उद्योग र ५१ फर्म दर्ता भएका छन् भने एक सय १४ उद्योग र एक सय २७ वाणिज्य फर्म खारेज भएका छन् ।

यसैगरी गुल्मीमा २३ उद्योग र ३६ फर्म दर्ता भएका छन् भने एक सय ६० उद्योग र एक सय सात वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी अर्घाखाँचीमा ४१ उद्योग र २१ फर्म दर्ता भएका छन् भने छ उद्योग र पाँच वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी प्युठानमा १२ उद्योग र ३३ वाणिज्य फर्म दर्ता भएका छन् भने ३२ उद्योग र एक वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी रोल्पामा ३८ उद्योग र ३३ वाणिज्य फर्म दर्ता भएका छन् भने ३२ उद्योग र ३६ वाणिज्य फर्म खारेज भएका छन् । रुकुम पूर्वमा २४ उद्योग र २८ फर्म दर्ता भएका छन् भने आठ उद्योग र पाँच वाणिज्य फर्म खारेज भएका छन् । यो अवधिमा उद्योगतर्फ दुई हजार ७२ र वाणिज्य फार्मतफ दुई हजार एक सय ७८ संशोधन भएका छन् । संशोधन उद्योगहरूको नाम, सेवा विस्तार, स्थान परिवर्तनलगायतका लागि गर्ने गरिन्छ ।

मन्त्रालयले पछिल्लो ६ महिनामा दर्ता भएको उद्योगको सङ्ख्यालाई सकारात्मक रूपमा लिन सकिने बताएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले हालसम्मको उद्योग दर्ता सङ्ख्यालाई राम्रो मान्न सकिने बताए । ‘अहिले प्रदेशमा देखिएको उद्योग दर्ताको आँकडालाई राम्रो मान्न सकिन्छ’ी मन्त्री न्यौपानेले भने, ‘तर यो सङ्ख्या बढाउनु पर्छ, यसका लागि मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याइरहेको छ ।’ उनका अनुसार मन्त्रालयले नयाँ उद्योग दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

नयाँ उद्योगीलाई राहत दिनका लागि छुटको व्यवस्था गरिएको उनको भनाई छ । ‘नयाँ उद्योग दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ, यो व्यवस्थापछि नयाँ उद्योगीलाई उद्योग दर्तामा धेरै राहत भएको छ’, मन्त्री न्यौपानेले भने । यसैगरी हालसम्म नवीकरण नभएका उद्योग दर्ता गर्नका लागि आगामी चैत मसान्तसम्मको अवधि दिइएको छ । यो व्यवस्थापछि हालसम्म नवीकरण नगरेर बसेका उद्यमी धमाधम नवीकरणका लागि आउने गरेको तथ्याङ्क जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयले मन्त्रालयमा पेस गरेका छन् ।