Ad Area

घोराहीमा मत बदर १३ प्रतिशत, मतपत्रसँगै नमूना मतपत्र पनि भेटियो


घोराही, ६ जेठ । घोराही उपमहानगरपालिकाको आगामी पाँच वर्षे कार्यकालका लागि जनप्रतिनिधि चुन्न गरिएको मतदानमा १३ प्रतिशत बढी मत बदर भएको छ । घोराहीमा खसेको कुल ७६ हजार ५ सय ५२ मत गणना गर्दा १३ दशमलव ३५ प्रतिशत मत बदर भएको छ । जिल्लाको घोराही उपमहानगरपालिकामा मात्रै यति धेरै संख्यामा मत बदर हुनुले मतदाता शिक्षाको कमि भएको देखिएको छ ।
सरकारले स्थानीय तह निर्वाचन मिति तोक्न गरेको ढिलाईका कारण आम नागरिक समक्ष मतदाता शिक्षा पुर्याउन भएको ढिलाईले मत बदर धेरै देखिएको धेरैको बुझाई छ । निर्वाचन आयोगले गर्नुपर्ने आन्तरिक तयारीसँगै नमूना मतपत्र छपाईको काम हतारमा गर्दा विगतमा जस्तो मतदाता शिक्षालाई गाउँ गाउँसम्म पुर्याउन नसक्दा पनि मतदाताले मत जाहेर गर्दा धेरै समस्या भएको मत बदर परिणामले देखाएको छ । घोराहीमा मेयर पदमा सदर मत ६५ हजार १४८ रहेको थियो । सो संख्यामा मतगणना गर्दा १० हजार ४०४ बदर भएको छ । अर्थात १३ दशमलव ५९ प्रतिशत मत बदर हो । यस्तै, उपमेयर सदर मत ६६ हजार ५१४ रहेको छ । जसमा उपमेयर बदर मत १० हजार ३८ रहेको निवाचन कार्यालयको भनाई छ । उपमेयर पदमा मतदानको मत गणना गर्दा १३ दशमलव ११ प्रतिशत मत बदर भएको छ । यो संख्या हेर्दा आम मतदातमा पर्याप्त मतदाता शिक्षा नपुगेको स्पष्ट हुन्छ । यो पटक घोराहीमा विभिन्न दलहरुबीच गठबन्धन गरिएकाले पनि मतदातालाई मतदान गर्न कठिन भएको थियो ।
मत व्यक्त गर्न मत पत्रको अनेकौँ स्थानमा टाप लगाउँदा अलमल भएको र गलत ठाउँमा मत व्यक्त गर्दा मतपत्र बदर हुने अवस्थामा धेरै संख्यामा पुगेको पाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । ‘घोराहीको मत गणना गरेर सक्दा हामीले मतपत्रभित्र छाप लगाएकाहरुको हकमा अरु पदमा सदर भएपनि मेयर र उपमेयरमा कसरी छाप लगाउने भन्ने नबुझ्दा यति ठूलो मात्रामा मत बदर भएको देखिएको छ’उहाँले भन्नुभयो, ‘यस्तो हुनुमा धेरै पक्षले प्रभाव पार्छ ।’ जनप्रतिनिधि चुन्न मतदाताले सही तरिकाले मत व्यक्त गर्न नसक्दा आफुले चाहेको जनप्रतिनिधि स्थानीय सरकारमा पठाउन चुनौतिपूर्ण देखा परेको छ ।
उहाँका अनुसार घोराहीको मात्रै मतगणना गर्दा यति ठूलो अन्तर देखिएजस्तै अरु ठाउँमा पनि उस्तै समस्या रहेको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत थापाले भन्नुभयो, ‘मतपत्र दोहोरो हुनु, मतदाताले मतपत्रमा औलाले छाप लगाउनु तथा अहिले गरिएको गठबन्धनले कसलाई कसरी मत दिने भन्ने कुरामा बढी समस्या औँल्याएका छौँ ।’ यो पटक मतपेटिकामा मतपत्रसँगै नमूना मतपत्र पनि भेटिएको छ । बाकस खेल्दा कतिपय ठाउँमा मतदाताले मतपत्रसँगै नमूना मतपत्र प्रयोग गरेको पाइएको उहाँको भनाई छ । ‘गठबन्धन गर्दा मतदातालाई मतदान कसरी गर्ने भन्नेमा धेरै जसो अन्योल देखिएको पाइएको छ, जसले गर्दा कतिपय ठाउँमा हामीले मतपत्रमै नमूना मतपत्र पनि भेटायोँ,’ उहाँले भन्नुभयो, ‘यसरी हेर्दा आम मतदाता धेरै पक्षबाट मतदान कसरी गर्ने भन्नेमै अलमल रहे ।’ मत बदर धेरै हुनु भनेको मतदानमार्फत सही उम्मेदवार निर्वाचित हुनबाट वञ्चित हुने सम्भावना बढ्नु पनि रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो ।
फागनु तेश्रो साता निर्वाचन मिति तय भएपछि गरिएको तयारीले धेरै कुरा पूरा गर्न कठिन भएको उहाँको भनाई छ । विगतमा जस्तो व्यापक तयारी गरेर मतदाताको घरघरमा पुगेर मतदाता शिक्षा दिन यस पटक नसक्दा पनि समस्या भएको हुन सक्ने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । यो पटक निर्वाचनको दिन मतदान स्थलमा मतदातालाई मत बदर कम गर्न सचेतना प्रदान गरिएपनि छोटो अमयमा गरिएको अपिलले खासै अर्थ नराखेको जस्तो आफूहरुले महसुस गरेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो । उसो घोराहीमा मत गन्नै नमिल्ने गरी १ हजार ३ सय ५४ मतपत्र पूर्ण मतपत्र बदर भएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । बैशाख ३१ गतेबाट शुरु भएको मतगणना कार्य बुधबार राति अबेर सकिएको थियो ।
घोराहीमा गरिएको मतगणनामा पूर्ण मत बदर यो अवस्था हेर्ने हो भने १ दशमलव ७६ प्रतिशत रहेको छ । पालिकाको १९ वटै वडाको मतगणना गर्दा मतदाताले मतदान गरेको भएपनि सो मतपत्रको कुनै पनि पदको उम्मेदवारको मत गणना गर्न मिल्ने अवस्थामा नपाइएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिकाको मात्रै यति ठूलो संख्यामा मतपत्र बदर हुनुले आगामी दिनमा मतदाता शिक्षा अझ प्रभावकारी बनाउन सबै संयन्त्र गम्भीर बन्नु आवश्यक रहेको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । पालिकाभर खसेको भनिएको मत संख्याका आधारमा मत गणना गर्दा ४ मतपत्र कम रहेको पाइएको पनि उहाँले बताउनुभयो । यसो हुनुमा मतदाताले मत पत्र लैजाने तर मतपेटिकामा मत पत्र नखसाल्ने अवस्था पनि हुने भएकाले फरक परेको बताउनुभयो ।
Blog Post Ad Blog Post Ad