Ad Area

दाङमा गणतन्त्र दिवसमा ३१ जना कैदिबन्दीको कैद मिनाह


दाङ, १५ जेठ । दाङमा गणतन्त्र दिवसको अवसरमा आज आइतबार ३१ जना कैदीबन्दीको कैद मिनाह हुने भएको छ । घोराही कारागारबाट ९ र तुलसीपुर कारागाराबाट २२ जना कैदीको कैद मिनाह हुने भएको हो ।

घोराहीमा ४० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ५० प्रतिशत भुक्तान गरेका ६ जना रहेका छन् । उनीहरु मध्य कर्तव्य ज्यानका ५ जना, डाका चोरीका १ जना, सवारी ज्यानका १ जना, हातहतियार तथा खरखजनाका २ जना रहेका छन् ।

घोराहीमा कैद मिनाह हुने सबै पुरुष रहेका छन् । घोराही कारागारमा अहिले ३ सय ९ जना कैदी रहेको जेलर बासुदेव खनालले जानकारी दिएका छन् । कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज दिउँसो छोडिने खनालले बताए ।

तुलसीपुरमा ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना र ४० प्रतिशत कैद भुक्ता गरेका ८ जना रहेका रहेका छन् । ५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाह हुनेमा १ महिला र १३ जना पुरुष रहेका छन् ।

विष कर्तव्य ज्यानका एक महिला, कर्तव्य ज्यानका ३ पुरुष, गौ बधका ३ जना पुरुष, सवारी ज्यानका ३ पुरुष, ज्यान मार्ने उद्योगका २ जना पुरुष, नकपजनी चोरी र डाँका चोरीका १/१ जना पुरुष रहेको कारागार कार्यालय तुलसीपुरका जेलर अमर वलीले जानकारी दिएका छन् ।

त्यस्तै ४० प्रतिशत कैद भुक्तान गरेकामध्ये डाका चोरी र ज्यान मार्ने उद्योगका २/२ जना र कर्तव्य ज्यानका ४ जना रहेका छन् । तुलसीपुर कारागारमा अहिले दुई जना आश्रित बालबालिका र ४० महिलासहित ५ सय ५० जना कैदीबन्दी रहेका छन् ।