Ad Area

एअरपोर्ट र औद्योगिक क्षेत्रको काम हुन्छ : मन्त्री चौधरी


दाङ,१८ असार । सहरी विकासमन्त्री मेटमणि चौधरीले तुलसीपुरमा रहेको एअरपोर्ट र घोराहीमा औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने बताएका छन् । एअरपोर्ट सञ्चालन र औद्योगिक स्थापना भएमा जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘एअरपोर्टको विस्तार र औद्योगिक क्षेत्र स्थापना गर्नका लागि आफ्नाे तर्फबाट लाग्नेछु’, मन्त्री चौधरीले भने । तुलसीपुरमा रहेको एअरपोर्टको धावनमार्ग विस्तारका लागि आवश्यक पर्ने बजेटको कमी हुन नदिने समेत उनले बताए । पैसाको व्यवस्था गर्नका लागि आफू लागिपर्ने मन्त्री चौधरीको भनाइ छ । एअरपोर्टको धावन मार्ग विस्तारको लागि करिब २७ करोड आवश्यक पर्ने, अहिले २ करोड बजेट विनियोजन भएको भन्दै त्यसले नपुग्ने समेत बताए ।

‘एअरपोर्ट सञ्चालन नहुँदासम्म यस क्षेत्रको विकास हुन सक्दैन’, उनले भने, ‘त्यसका लागि एअरपोर्टको विस्तार गर्न सबै लाग्नुपर्छ ।’ उनले यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने समेत बताए । देशको पुरानो एअरपोर्टमा रहेको एअरपोर्टको विस्तार तथा नियमित सञ्चालन हुन नसक्नु दुःखको कुरा भएको उनले बताए ।

तुलसीपुरमा ४२ सिटे प्लेन बसाउन कुनै समस्या नभएको समेत उनको भनाइ छ । ‘तुलसीपुर एअरपोर्टको काम साउन महिनामा रिजल्ट देखिने गरी हुन्छ’, मन्त्री चौधरीले भने । अहिले नियमित रूपमा एअरपोर्ट सञ्चालन नहुँदा नेपालगञ्ज तथा भैरहवा जानुपर्ने बाध्यता छ । मन्त्री चौधरीले बाहिर जिल्ला गएर प्लेन चढ्नु पर्दा आफूहरूलाई समेत लजास्पद हुने गरेको बताए ।

मन्त्री चौधरीले घोराहीमा औद्योगिक क्षेत्रको कामका आफू लाग्ने बताए । ‘औद्योगिक क्षेत्र बनाउन मेरो ध्यान पुग्नेछ’, मन्त्री चौधरीले भने । औद्योगिक क्षेत्र निर्माणका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले लामो समयदेखि थालेको पहलका बारेमा आफू जानकार रहेको समेत बताए ।

‘औद्योगिक हब निर्माण गर्न सकिएमा यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्नेछ’, मन्त्री चौधरीले भने । यस क्षेत्रको आर्थिक विकासका लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर आफू विगतदेखि नै अध्ययन अनुसन्धान गर्दै आएको बताए । औद्योगिक क्षेत्र बनाउनका लागि स्थानीयबासीलाई बुझाएर अगाडि बढ्नुपर्ने समेत बताए ।

Blog Post Ad

‘औद्योगिक क्षेत्रका स्थानीयबासीले कुरा नबुझाएर अगाडि बढ्दा समस्या हुन्छ’, उनले भने, ‘नागरिकले पटक–पटक आफूसँग गुनासो गर्ने गरेको छन्, नागरिकलाई कुरा बुझाउनमा मेरो पनि भूमिका रहुन्छ ।’ कोइलाबासको नाका सञ्चालनका लागि समेत प्रयास भइरहेको बताए । कोइलाबास नाकाबाट इन्धन ढुवानी गर्ने भन्ने बारेमा प्रयास भइराखेको बताए ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले संघको पहलमा निर्माण भएको वहुउद्देश्यीय सभागृहको बाँकी रहेका कामका लागि पहल गरिदिन आग्रह गरे । संघले उठाउँदै आएका योजनालाई अगाडि बढाइदिन समेत आग्रह गरेका थिए ।

संघका पूर्व अध्यक्ष चन्द्रराज पन्तले एरपोर्टको विकास संस्कृत विश्वविद्यालय नियमित सञ्चालन, औद्योगिक क्षेत्रका काम र स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा पहल गर्न आग्रह गरेका थिए । संस्कृत विश्वविद्यालय उद्देश्यअनुसार सञ्चलन हुनसक्ने वातावरण बनाउनु पर्ने बताए ।

संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले नाप–तौलको कार्यालय राप्ती अञ्चलमै नहुँदा यस क्षेत्रका नागरिकले समस्या भोग्दै आएको बताए । संघले यसका बारेमा पटक–पटक पहल गरे पनि कार्यान्वन हुन नसकेको भन्दै पहल गरिदिन आग्रह गरे । संघका पूर्व अध्यक्ष मानार्थ सदस्य रामदयाल गुप्ताले कोइलाबासको नाका सञ्चालनमा पहल गर्न आग्रह गरे ।

संघका सचिव नरेशकुमार श्रेष्ठले घोराहीको मेनरोडमै वर्षातको समयमा डुबान पर्ने भएकाले व्यवसायी तथा नागरिकले समस्या भोग्दै आएको भन्दै पहल गरिदिन आग्रह गरेका थिए । संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले पनि मन्त्री चौधरीलाई स्वागत तथा सम्मान गरेको छ । प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको हो ।

Blog Post Ad Blog Post Ad