Ad Area

स्तनपान कक्ष कतै प्रयोगविहिन, कतै संरचना विहिन


दाङ,१८ साउन । सबै प्रकारका सरकारी, गैरसरकारी वा निजी सङ्घ संस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउपर्ने उल्लेख छ । तर, यी कार्यालयमा केही ठाउँमा बनाइएका पूर्वाधार प्रयोगमा आउन सकेका छैनन् भने अधिकांश ठाउँमा स्तनपान कक्ष बन्न पनि सकेका छैनन् । यस्तै, हरेक कार्यालय, स्कुल, बसपार्क र एयरपोर्ट जस्ता स्थानमा पनि छुट्टै स्तनपान कक्ष हुनुपर्ने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा उल्लेख गरिएको छ ।

जिल्लाको प्रमुख कार्यालयहरु अहिले नयाँ भौतिक संरचनासहित निर्माण भएका छन् । केही ठाउँमा बन्ने अवस्थामा छ । त्यहाँ केही ठाउँमा स्तनपान कक्ष बनाइएको छ भने अधिकांश ठाउँमा अझै बन्न सकेको छैन । विश्व स्तनपान सप्ताह मनाइँरहँदा बनाइएका संरचना पनि पूर्ण रुपमा प्रयोगमा आउन नसकेको स्वयम् कार्यालयका पदाधिकारीहरुको भनाई छ ।

जिल्ला अदालत दाङका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले अदालतको नयाँ भवनमा आमाहरुका लागि स्तनपान कक्ष बनाइएको भएपनि प्रयोगमा आउन नसकेको बताउनुभयो । स्वयम् आमाहरुले पनि स्तनपान कक्षको प्रयोग गर्नुपर्छ भन्ने मनसायमा नहुने हुँदा त्यसको थप व्यवस्थापन हुन नसकेको जानकारी गराउनुभयो । अदालतमा निर्माण गरिएको स्तनपान कक्ष ताल्चा लगाइएको छ । कोठामा एउटा खाट राखिएपनि त्यसमा आवश्यक पर्ने सामग्री छैन ।

अन्यत्र प्रयोग गर्ने सोफा कोठामा थुपारिएको अवस्था छ । सूचना अधिकारी शर्माले भन्नुभयो, ‘हामीले सकेसम्म स्तनपान कक्षको प्रयोग होस् भन्ने चाहेका हुन्छौँ तर खासै हुन सकेको छैन । दुध खुवाउने आमाहरुले बाहिरै खुलेआम दुध खुवाउने गर्नुहुन्छ, उहाँहरुलाई भन्न पनि अप्ठ्यारो लाग्दो रहेछ, हामीले पनि यो बारेमा जानकारी दिन सकेका छैनौँ ।’ उहाँले लक्षित कामका लागि निर्माण गरिएको संरचना पूर्ण प्रयोगमा ल्याउन अझै चुनौति रहेको बताउनुभयो ।

‘पहिलो कुरा त स्तनपान कक्षको महत्व बुझाउनै सकिएको छैन की भन्ने लाग्छ, त्यसपछि अब बन्ने हरेक भौतिक संरचना स्तनपान कक्षसहितको हुनपर्छ भन्ने मान्यता स्थापित गर्नु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘कानूनमा सुरक्षित भईसकेको कुरालाई लागू गर्न हामी सबै नागरिक लाग्नु आवश्यक छ ।’ जिल्लाका १० वटै पालिकामा स्तनपान कक्षसहितको सेवाका कुरा उठेपनि अझै धेरै ठाउँमा यो व्यवस्था लागू हुन सकेको छैन । घोराही उपमहानगरपालिकाले हालै कार्यालय परिसरमा बेग्लै संरचना निर्माण गरी स्तनपान कक्ष तयार गरेको छ । तर, स्तनपान कक्षको पूर्ण प्रयोग हुन सकेको छैन ।

ग्रामीण क्षेत्रमा रहेका भवन, सार्वजनिक संस्था, कार्यालयहरुको अवस्था अझ पुरानै शैलीमा चल्दै आएको छ । जसका कारण स्तनपान कक्षको महत्व अझै धेरै बुझ्न नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले हरेक कार्यालय, सार्वजनिक निकायमा स्तनपान कक्ष अनिवार्य हुनुपर्ने मात्रै नभई यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुहुन्छ । ‘कतिपय ठाउँमा संरचना बनेका छन् तर प्रयोगमा आउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘बनेका संरचनाको पूर्ण प्रयोगमा स्थानीय स्तरबाटै स्तनपान कक्षको महत्वका बारेमा सचेतना जगाउन जरुरी छ, किन भने स्तनपान कक्ष आफैमा गोप्य कक्ष हो ।

Blog Post Ad

यहाँ आमाले ढुक्कका साथ बच्चालाई दुख चुसाउने हुँदा आमा र बच्चाको स्वास्थ्यलाई लाभ हुन्छ भने गोपनीयता पनि कायम रहन्छ ।’ स्तनपान नवजात शिशुका लागि नैसर्गिक अधिकारका रूपमा परिभाषित गरिएको छ । तर, अहिले पनि भई हाल्छ, चलि राखेकै छ भन्ने मानसिकताका कारण स्तनपान कक्षको महत्व धेरैले बुझ्न सकेका छैनन् । उसो त, स्तनपानको विकल्प खोज्ने आमाहरुको अवस्था पनि समाजमा बढ्दै गएको पाईने गरेको छ । ती आमाहरुले आफ्नो सौन्दर्य र शरीर बिग्रने डरले कृत्रिम दुख खुवाउने र शिशुलाई मातृत्वको पूर्ण आभाष हुनबाट रोक्ने परिपाटी बजार क्षेत्रमा यदाकदा देख्न र सुन्न पाईन्छ ।

यो सोँच र मान्यता एकद मै गलत रहेको स्वास्थ्यकर्मीको भनाई छ । स्तनपान र आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना र वस्तु बिक्रीवितरण नियन्त्रण ऐन २०४९ र नियमावली २०५१ मा उल्लेख भएको प्रावधानहरूलाई सही ढंगले कार्यान्वयन गर्नु हरेक नागरिक, सेवाप्रदायक संस्थाहरुको कर्तव्य रहेपनि सही कार्यान्वयनमा सबैको ध्यान जान सकेको छैन । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह आईतबारबाट मनाउन शुरु गरिएको हो ।

विश्व स्वास्थ्य संगठन र युनिसेफलले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताहव्यापी रुपमा मनाउने गरिन्छ । यस वर्षको स्तनपान दिवसको नारा ‘स्तनपानः दिगो विकासको आधार’ तय गरिएको छ । बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने गाइभैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धि सचेतना जगाउन सप्ताहको मूल उद्देश्य हुने जनाइएको छ ।

आजदेखि आगमी २२ गतेसम्म मनाईने सप्ताह व्यापी कार्यक्रमलाई राज्यका सबै निकायमा सचेतनामूलक कार्यक्रमका साथ मनाउन भनिए पनि यसको प्रभावकारी अवस्था भने देखिएको छैन । दाङका स्थानीय पालिकाहरुले पनि विश्व स्तनपान दिवसको बारेमा समुदाय स्तरमा पुगेर स्तनपानको महत्वका बारेमा वृहत रुपमा प्रचार प्रसार गर्न नसकेको यस क्षेत्रका जानकारहरुको भनाई छ । विश्व स्तनपान हप्ता पहिलो पटक १९९२ मा वल्र्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सनद्वारा १ देखि ७ अगस्टसम्म उत्सवका रूपमा मनाइएको थियो ।

विश्वव्यापी स्तनपान संस्कृतिलाई पुनः स्थापना गर्ने र जहिले पनि स्तनपानका लागि समर्थन प्रदान गर्ने लक्ष्यसहित युनिसेफ डब्ल्यूएचओ, व्यक्ति, सङ्गठनहरू र सरकार लगायत उनीहरूका साझेदार संस्थाहरूले मनाउने गर्छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को परिच्छेद ३ को दफा १३ मा उल्लेख गरिएको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुलाई स्तनपान प्रवद्र्धन र सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था गरेको छ भने आवश्यक परेमा चिकित्सकको राय सल्लाहअनुसार बढीमा एक वर्षसम्म बेतलबी बिदा पाउने अधिकारको व्यवस्था गरेको छ । तर, यसलाई कार्यान्वनमा ल्याउन अझै चुनौति देखिएको छ ।

नयाँ आमाबुबाहरूको बीच जागरूकता पैदा गर्न र संसारभरमा शिशु स्वास्थ्यमा सुधार गर्नु रहेपनि यसको महत्व तल्लो तहसम्म पुर्याउन स्थानीय सरकार, सरोकार निकाय सबै गम्भीरताका साथ लाग्न जरुरी रहेको छ । दिगो विकास लक्ष्य २०३० अभियानको विषयगत क्षेत्र २ सँग मिल्दोजुल्दो हुने गरी यो अभियान अगाडि बढाइएको छ ।

सङ्क्रामक रोगबाट बच्ने र आर्थिक भार पनि नपर्ने तथा आमाको स्वास्थ्यमा समेत सकारात्मक फाइदा भएकाले स्तनपान अमृत समान हुन पुगेको छ । तर, व्यापारिक विज्ञापन, व्यक्तिगत आम्दानी, बजारमा उपलब्ध फर्मुला युक्त खाना, कानुनी प्रावधानको कार्यान्वयन पक्ष फितलो हुनु, कार्यालय वा अन्य स्थानमा छुट्टै स्तनपान कक्षको व्यवस्था नहुनु वा महिला कर्मचारीलाई स्तनपान गराउने समयको व्यवस्था नगरिनु, प्रसूति बिदा कम दिनु र परम्परागत धारणा समाजमा रहिरहनुले अहिले पनि स्तनपान नवजात शिशुको नैसर्गिक अधिकार कुन्ठित पारिएको महिला अधिकारकर्मीहरुको बुझाई छ ।

त्यसैले तल्लो तहदेखि माथिल्लो निकायसम्म, साक्षरदेखि निरक्षर तहसम्म स्तनपानको महत्व र सार्वजनिक स्थानमा पनि स्तनपान कक्षको व्यवस्था र यसको प्रयोगका बारेमा जनचेतना फैलाउनेतिर प्राथमिकीकरण गर्न जरुरी रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख शाहीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad