सुनौलो नेपालको परिकल्पनामा ‘फरैना’
विक्रम वली
समीक्षा
पछिल्लो समय नेपाली साहित्यिक भण्डारमा थुप्रै पुस्तक थपिने क्रम जारी छ । यसै सिलसिलामा यतिबेला नेपाली आधुनिक सुगम सङ्गीतका एक प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा लिखित उपन्यास ‘फरैना’ सँग घुलमिल हुने एक अवसर मिल्यो । मलाई किताब पढ्न र पढिसकेपछि उक्त किताब अध्ययनका क्रममा मनमा उब्जिएका कुरा खुलेरै लेख्न मन लाग्छ । पढ्नु भनेको लेख्नु हो अनि लेख्नु भनेको पढ्नु हो ।
साङ्गीतिक यात्रामा २०५६ सालदेखि औपचारिक रूपमा निरन्तर लागेका सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठले हालसम्म ४२ वटा एकल सङ्गीतबद्ध अल्बम र सयौँ फुटकर गीतहरूमा सङ्गीत भरिसकेका छन् । सङ्गीतकै दुनियाँमा रमाइरहँदा श्रेष्ठले विश्व सङ्गीतको इतिहासमै अन्तर्राष्ट्रिय ५० भाषाका गीतमा सङ्गीत भरेर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो साङ्गीतिक कीर्तिमान कायम गरिसकेका छन् । आफैँ गीत लेख्ने सङ्गीत भर्ने र आफैँले गाउने पनि गर्छन् –श्रेष्ठले । सङ्गीतसँगै गीतको माध्यमबाट साहित्यसँग जोडिए पनि औपचारिक रूपमा साहित्यिक कृति प्रकाशनको सुरुवात गरेका श्रेष्ठको यस अघि आँसु (गजलसङ्ग्रह –२०६२) र अधुरो सपना (लघुकथा सङ्ग्रह–२०६८) प्रकाशित छन् भने फरैना उनको पहिलो उपन्यास हो ।
फरैना– फरैना पढ्दै जाँदा, फरैनाका प्रत्येक पानामा लेखिएका काला अक्षरहरूले पोखेका भावनासँग डुब्दै जाँदा कयौँ ठाउँमा पढेरै एक्लै मुसुक्क मुस्कुराएँ भने कयौँ ठाउँमा पढ्दै गर्दा आँखाको तलाउ छचल्किएर फरैनाका पाना आँसुले भिजाएको पत्तै पाइन । कयौँ ठाउँमा आफूलाई सम्हालेर पढ्ने गर्थेँ म । साँच्चिकै एक पिछडिएको जाति थारु समुदायको दर्दनाक अवस्थालाई कति शालीन ढङ्गले प्रस्तुत गरिएको छ । जमिनदारहरूबाट खेप्न परेको शोषण, दमन, अन्याय अत्याचारको कष्टकर जीवनको उजागर गरिएको छ उपन्यास फरैनामा ।
सदीयौँदेखि जमिनदारकै घरमा कमैया बसेर काम गर्नुपर्ने पीडा त्यति सहज थिएन । नेपालमा जन्मिएर छैठौं पुस्तासम्म पनि नेपाली नागरिक भएको प्रमाण नभएर बाँच्नुको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । अनागरिक जीवन कति दुःखद् र लज्जास्पद बोध हुन्छ । आफ्नो हकहितका लागि आवाज उठाउंँदा षड्यन्त्र गरेर मार्न पनि पछि हट्दैनन् समाजका ठूलाठालुहरू । प्रौढ शिक्षा हासिल गरेर आफ्नो अधिकार पाउन केही विद्रोहका आवाज उठाउँदा जमिनदारले फरैनाको परिवार नै सखाप पार्न खोजेको पल मन थामिनसक्नु छैन । आगोमा परेर भाइ बितेको त्यही चिन्ताले आमा बितेको, अधिकार खोज्दैगर्दा जनआन्दोलनमा फरैनाको बुबाको गोली लागेर मृत्यु भएको अवस्था अत्यन्तै कारूणिक र हृदयविदारक छ ।
आफ्नी आमा बितेको महिनादिनमा बाले अर्की कान्छी आमा बिहे गरेको र त्यसपछि पढाई छाडेर जमिनदारको घरमा कमैया कमलरी बस्नुपर्ने फरैनाको बाध्यता थियो । त्यही फरैना समय परिवर्तन सँगै आफ्नो अधिकार खोज्दै पछि राष्ट्रकै सर्वोच्च पदमा पुगेको अवस्थामा राष्ट्रले नयाँ मुहार फेर्दा राष्ट्र नै हर्षको घडीमा दौडिएको थियो ।
साँच्चिकै फरैना उपन्यासमा नयाँ नेपालको चित्रण समेत गरिएको छ । शासन व्यवस्था दरिलो र नेतृत्वदायी भूमिका निर्वाह गर्ने मान्छे आँटिलो भएमा देशले फट्को मार्न समय लाग्दोरहेनछ भन्ने कुरा प्रकाश पारिएको छ –उपन्यासभित्र ।
उपन्यासको शब्दमा बयान गरेर सकिँदैन । एकपटक सबैले अध्ययन गर्नुपर्ने र अध्ययन गर्नेहरूका लागी एउटा जीवन मार्ग बन्न सक्छ फरैना उपन्यास । अर्को एउटा रोचक पक्ष पनि जोडिएको छ फरैना उपन्यासभित्र । लेखक सङ्गीतकार ÷ गायक भएर होला उपन्यासभित्र कयौँ गीत पनि भेटिन्छन् । एउटा कविता पनि समावेश गरिएको छ । बुझाइ सबैको आआफ्नो हुन्छ । म कुनै समीक्षक होइन एउटा पाठक हुँ । पाठकीय भूमिका मात्र लेखेको हुँ ।
त्रुटि– उपन्यास पढ्दै जाँदा केही त्रुटि भने भेटिए । केही त्रुटि भने परिचर्चा कार्यक्रममा समीक्षात्मक सन्दर्भमा समीक्षकले भनिसक्नुभएको छ । त्यसबाहेक मनमा लागेको कुरा बोलिहाल्छु । एउटा सन्तान जन्माएर हुर्काउँदा कति गाह्रो हुन्छ एउटी आमालाई त्यस्तै गाह्रो विषय हो लेखकका लागि यी त्रुटि पनि । एकैपटक मान्छे निपुण कदापि हुँदैन । सिकाइ जिन्दगीभर चलिरहन्छ । त्यति धेरै त्रुटि भने छैनन् उपन्यासमा, यदाकदा त्रुटि देखिन्छ । यो त्रुटि हिराको राशबाट ढुङ्गा बेग्लाबेग्लै छुट्याउनु जस्तै हो ।
एउटै उपन्यासभित्र पनि एउटै शब्दलाई दुई तरिकामा लेखिएको छ । जस्तैः– बीच–बीच । यस्ता अन्य शब्दहरू पनि भेटिन्छन् उपन्यासमा । एक दुई वाक्यांशमा व्याकरणको मेल नभएको पनि पाएको छु भने कतै कतै सोमलाल र फरैनालाई सम्बोधनमा पनि भिन्नता भेटेको छु । उनै फरैना र सोमलाललाई धेरै ठाउँ ऊनी भनेर सम्बोधन गरिएको छ भने कताकता मात्र उ भनेर गरिएको छ ।
जस्तैः– पृष्ठ १९३ अनुच्छेद ३ मा पहिलो वाक्यांशमा फरैनालाई तँ सम्बोधन गरिएको छ भने उही अनुच्छेदको अन्तिम वाक्यांशमा भने तिमी सम्बोधन गरिएको छ । यो त्यति न्यायोचित भएन भन्ने मान्यता हो मेरो । त्यस्तै सोमलाललाई पनि एक ठाउँमा तँ सम्बोधन गरिएकोछ । अलि ध्यान दिन पाए मज्जा हुनेथियो ।
पृष्ठ १७३ अनुच्छेद ३को ४ औँ वाक्यांशमा ‘यो आन्दोलनले सफलता प्राप्त परिसकेपछि बिहे गर्ने भनेर सुरुमै गरेको प्रतिबद्धताले सार्थकता पाउने भयो’ यसरी लेखिएको छ । यसमा ‘यो आन्दोलनले सफलता प्राप्त गरिसकेपछि बिहे गर्ने भनेर सुरुमै गरेको प्रतिबद्धताले सार्थकता पाउने भयो’ (परिसकेपछि = गरिसकेपछि) सफलता प्राप्त पर्नुभन्दा पनि प्राप्त गर्नु राम्रो हो ।
पृष्ठ १०४ को अन्तिम अनुच्छेदको अन्तिम पंक्तिमा पनि ध्यानाकर्षण गराउन चाहन्छु । उपन्यासको एउटा सुन्दर पक्ष अहिले प्रकाशन हुने प्राय उपन्यासमा धेरै जसो अङ्ग्रेजी शब्द प्रयोग भएको पाइन्छ । यो उपन्यास पढ्दा खुसीको अनुभूति के भयो भने अङ्ग्रेजी शब्द सायद एक ठाउँ भन्दा अन्य ठाउँमा पढ्न परिन होला ।
उपन्यासबाट दुई लाइन–
‘जीवनको गीत सधैँ आफूले सोचेको लयमा बज्दैन ।’
‘केही नबोल्नु पनि धेरै थोक बोल्नु हो ।’
उपन्यासको अन्त्यतिर पुग्दै गर्दा यति महान संघर्ष गरेका फरैनाका जीवनसाथी सोमलाल फरैनाको त्यति ठूलो सफलतामा पनि कहाँ गए । लेखकले किन लोप बनाएर राखे भन्ने कुरा मनमा उब्जिएको प्रश्न ।
अन्त्यमा यस उपन्यासले एउटा गरिबीको रेखामुनि बाँचेको भुईँमान्छे दृढ सङ्कल्प र धैर्यताले अघि बढ्यो भने भविष्यमा उचाइमा पुग्न सक्छ भन्ने कुरा प्रष्ट पार्न खोजेको छ । सामान्य त्रुटि बाहेक उपन्यास साच्चिकै राम्रो बनेको छ । पढ्दा निकै आनन्दित महसुस भयो । फरैना उपन्यास पढेर अन्तिम पाना सकिँदा पनि सुरुमै छु जस्तो लाग्छ । समग्रमा यस उपन्यासमा सुनौलो नेपालको परिकल्पनाको चित्रण गरिएको छ ।