Ad Area

उद्यमशीलतामा महिलाहरु


दाङ, १४ पुस । राजपुर गाउँपालिका–५ सालभौरी निवासी ३२ वर्षीया हिरा कमाललाई घर व्यवहार र परिवार व्यवस्थापनसँगै फुर्सदको समयमा च्याउखेतीमा लाग्छिन् । घरको काम सकेर बचेको फुर्सदको समयलाई सदुपयोग गरेर हिरा समूहमा च्याउखेती गर्ने र बिक्री गर्ने काम गर्दै आएकी छिन् । उनका श्रीमान वैदेशिक रोजगारीमा छन् ।

एक छोरा एक छोरीको पठन–पाठन र परिवारको व्यवस्थापन गरिरहेकी हिरा फुर्सदको समयलाई आफूजस्तै गाउँका महिलाहरु मिलेर गरेको च्याउखेतीमा लगाउँछिन् । ‘श्रीमान बैदेशिक रोजगारीमा भए पनि सन्तानको पठन–पाठन र परिवार व्यवस्थापनमा खासै समस्या छैन’, उनले भनिन्– ‘घरको खेतीपाती र भात भान्साको काम सकेर फुर्सद हुँदा च्याउखेतीमा समय दिने गरेको छु ।’ घरसँगै उद्यममा लागेकी हिराले छोटो समयमा आर्थिक आम्दानीसमेत गर्दै आएकी छिन् ।

त्यसैगरी सालभौरीकै मनिशा चौधरी च्याउको बीउ पोका बनाएर राख्नेदेखि उत्पादित च्याउ बिक्री गर्दै आएकी छिन् । बिक्रीका लागि गाउँ–गाउँ पुग्ने गरेको उनले बताइन् । नमूना च्याउ उत्पादन समूहका अध्यक्षसमेत रहेकी मनिशाले घरको काम गरेर बचेको फुर्सदलाई व्यवस्थापन गरेर राम्रो आम्दानी गरिरहेको बताउँछिन् । उनका अनुसार च्याउका लागि पराल काट्नेदेखि उत्पादित च्याउको बजार व्यवस्थापनका लागिसमेत सातै जना काममा खटिन्छिन् । ‘अहिलेसम्म कामदार राख्नुपरेको छैन ।

च्याउ उत्पादनदेखि बिक्रीको काम आफै गरिरहेका छौँ’, समूहकी अध्यक्ष मनिशाले भनिन्– ‘समूहमा सबै महिलाहरु मिलेर काम गर्दा राम्रै भइरहेको छ ।’ अध्यक्ष मनिशाका अनुसार यस सिजनकै शुरुमा प्रतिकिलो दुई सयका दरले बेचेर २६ हजार ८ सयको च्याउसमेत बिक्री भैसकेको छ । हिरा र मनिशाजस्तै सालभौरीका सातजना महिलाले बचेको समय सामूहिक उद्यममा लागेर आयआर्जन गरिरहेका छन् ।

सालभौरी निवासी मनिशा चौधरी, हिरा कुमाल, इन्द्रादेवी सुनार, अनिता चौधरी, रेणुका विश्वकर्मा, राजकुमारी चौधरी र ममता चौधरीले गाउँमै नमूना च्याउ खेती उत्पादन समूह स्थापना गरेर विगत दुई बर्षदेखि आयआर्जन गरिरहेका छन् । सातजनाको समूहले दुई ठूला र दुई साना गरी चारवटारु च्याउ टनेल निर्माण गरेर व्यवसाय गर्दै आएका हुन् । वार्षिक ५ हजार रुपैयाँ दिएर तीन वर्षका लागि पाँच कट्ठा जमिन भाडामा लिएर उनीहरुले व्यावसायिक च्याउखेती गरिरहेका छन् । गत वर्ष २ सय ७० किलो च्याउ बिक्री गरेको समूहको यस सिजनमा ३ सय किलो च्याउ बिक्रीको योजना रहेको छ ।

Blog Post Ad

‘शुरुको वर्ष २ लाखको च्याउ बेचेका हांै, यो वर्ष अहिलेसम्म २६ हजारको च्याउ बिक्री गरिसकेका छौं’, समूहकी अध्यक्ष मनिशा भनिन्– ‘यसवर्ष आम्दानी दोब्बर बनाउने योजना छ । राम्रै आम्दानी भएकाले नाफा हुने विश्वास छ ।’ उनले च्याउ उत्पादनका लागि आवश्यक बीउ, पराल र प्लाष्टिक किन्ने खर्चबाहेक बचेको रकम समूहमै बचत गर्ने र आवश्यकता अनुसार चलाउने गरेको समेत बताइन् । महिलाहरुलाई उद्यममा जोडिन मानवकल्याण तथा वातावरण संरक्षण केन्द्रले च्याउ खेतीको तालिम, उत्पादनका लागि चारवटा टहरा निर्माण, पराल पकाउने एउटा ड्रम, पराल काट्ने मेसिनलगायतको सहयोग गरेको छ ।

Blog Post Ad Blog Post Ad