Ad Area

कृषिजन्य फसल व्यवस्थापनमा घाटा कम गर्न रि–प्लान्ट परियोजना लागू


घोराही, २३ माघ । नयाँ प्रविधिको पहुँचमार्फत उत्पादित कृषिजन्य फसल व्यवस्थापनमा घाटा कम गर्ने लक्ष्यका साथ ग्रामीण महिला उत्थान केन्द्रले आईडीई नेपालसँगको साझेदारीमा रि–प्लान्ट परियोजना लागू गरेको छ । आगामी २०२४ सम्म दाङको पाँच वटा पालिकाका कृषकलाई लक्षित गरी लागू गरिएको परियोजनाबारे सोमबार घोराहीमा जानकारी गराइएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रकि अध्यक्ष आशमानी चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा जिल्लास्तरीय सरोकारवालासँगको १ दिने कार्यशाला गोष्ठी गरेर जानकारी गराइएको छ ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले गाउँबस्तीमा पुगेर महिलाहरुको सशक्तीकरणमा लामो समयदेखि ग्रामीण महिला उत्थान केन्द्रले खेलेको भूमिकाका कारण थुप्रैको जीवन बदलिन सम्भव भएको बताउनुभयो । सामाजिक कार्यमा संस्थाले खेलेको भूमिकालाई बढाउने सवालमा यस प्रकारका परियोजना निकै सार्थक बन्ने हुँदा संस्थाको काममा जिल्ला समन्वय समितिको साथ रहेको उहाँको भनाई थियो ।

बालीनालीको क्षति कम गर्न र उचित व्यवस्थापनमा सघाउन परियोजना लागू गरिएको रिप्लान्टका फिल्ड व्यवस्थापक कल्पना धितालले बताउनुभयो । बालीनालीको क्षति कम गर्न र उचित व्यवस्थापनमा सघाउन परियोजनाले सघाउने उहाँको भनाई थियो ।

उत्पादित कृषि बालीलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न तथा कृषि बिमा गरेर बालीमा हुने क्षति कम गर्न प्रोत्साहन गर्ने पनि परियोजनाको लक्ष्य रहेको उहाँले बताउनुभयो । यसबाट जिल्लाका ४ हजार ५ सय साना घरधुरीहरुले हेर्मटिक पोस्ट हार्वेस्ट भण्डारण प्रविधिहरु अपनाउने सोअवसरमा जानकारी गराईएको छ ।

५० स्थानीय आपूर्ति श्रृंखलाका पात्रहरुको औसत मासिक बिक्रीमा सतप्रतिशत वृद्धि हुने, हर्मेटिक भण्डारण प्रविधिहरु अपनाउने लक्षित साना किसानहरुको बालीको प्रति एकाई घाटामा औसत ८० प्रतिशत कमि हुने तथा परियोजनाले १८ हजार साना हर्मेटिक भण्डारण झोलाहरु र ३२ मध्यम प्लास्टिक हेर्मेटिक भण्डारण साईलोको बिक्रि र प्रयोगलाई प्रबर्धन गर्ने बताइएको छ । यसले कम्तिमा ९ सय ३२ मेट्रिकटन अन्न भण्डारणको सुबिधा प्रधान गर्ने अपेक्षा गरिएको छ ।

Blog Post Ad

आपूर्ति श्रृङखलाको विकास र सुधार, वित्तमा पहुँच अभिवृद्धि, बाली बिमामा पहुँच अभिवृद्धि, प्रसार सेवाहरु परियोजनाको क्रियाकलाप हुने ग्रामीण महिला उत्थान केन्द्रको कार्यक्रम संयोजक एचबी थापाले बताउनुभयो । बाली बिमा, धितो बिना ऋण, नवीन प्रविधि, आयमा वृद्धि गर्ने गरी थालिएको परियोजना जिल्लाको घोराही, तुलसीपुर, दंगीशरण, लमही र राप्ती गाउँपालिकामा लागू भएको उहाँले जानकारी गराउनुभयो ।

घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीले स्थानीय सरकारले किसानहरुका लागि खेल्दै आएका भुमिकामा एक रुपता ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले नियमित अनुगमन हुनुपर्ने बताउँदै कृषिको अवस्था निरन्तर विश्लेषण गर्न पनि आग्रह गर्नुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उत्पादनको सहि व्यवस्थापन गर्न अब चिस्यान केन्द्र बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

खुला सिमाको प्रभावले समस्या थपिएको बेला सिस्टममा बिचौलिया रहेको र यसबाट आफू पनि आजित बनेको बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङका प्रमुख घनश्याम चौधरीले कृषि उत्पादनको सही बजारीकरणका लागि स्थानीय पालिकामा कम्तिमा एक वटा कृषि बजार आवश्यक रहेको तर्क गर्नुभयो । नागरिक समाजका निवर्तमान संयोजक चन्द्रराज पन्तले कृषक, एग्रोभेट, बैंक र बिमा कम्पनी बिच परियोजनाले समन्वय गर्न सकेमा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, मुक्तिनाथ विकास बैंक लमही डेस्क ईन्चार्ज कुलराज भट्टराई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई लमहीका प्रतिनिधि, बिउबिवन व्यवसायी संघका अध्यक्ष खुशीराम चौधरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव नरेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, गैरसरकारी संस्था महासंघ दाङका अध्यक्ष भागीराम चौधरीलगायतले बोल्नुभएको थियोे । रिप्लान्ट परियोजना कार्यक्रम अधिकृत श्रृष्टी शाहको विषय प्रवेशबाट शुरुभएको कार्यक्रमको सहजीकरण पार्वती बस्नेतले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad