Ad Area

गोरक्ष सिद्धरत्ननाथ मठको पीरमा योगी ब्रह्मनाथ


घोराही, ४ फागुन । दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेराको पीर (मठाध्यक्ष) मा योगी ब्रह्मनाथ नियुक्त हुनुभएको छ । मठको एक वर्षका लागि नयाँ पीरमा रुपमा ब्रह्मनाथ नियुक्त हुनुभएको हो । योगी ब्रह्मनाथले दोश्रो पटक जिम्मेवारी सम्हाल्नु भएको छ ।

हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका दिन गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठमा नयाँ मठाध्यक्ष परिवर्तन गर्ने परम्परा रहेको छ । त्यसैगरी मठको भण्डारीमा विपनाथ योगी, मुल पुजारीमा सागरनाथ योगी र भैरव पुजारीमा अर्थात सहायक पुजारीमा काशीनाथ योगीलाई विधिपूर्वक जिम्मेवारी दिइएको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ व्यवस्थापन समितिका सदस्य सचिव हिरानाथ योगीले बताउनुभएको छ ।

मठाध्यक्षलाई मठको प्रमुखका रूपमा लिइन्छ । मठाध्यक्ष भएपछि मठको नीति नियम र विधिमा रहनु पर्ने हुँदा एक वर्षसम्म मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाउने र दैनिक पूजाआजामा मात्रै सहभागी हुनुपर्ने व्यवस्था रहेको छ । मठाध्यक्ष बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहेको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा व्यवस्थापन समितिका कार्यालय सचिव योगीले जानकारी दिनुभयो ।

प्राचिन धरोहरको रूपमा रहेको मन्दिरमा गौशाला, वैदिक गुरुकुल, अखण्ड धुना, अन्नक्षेत्र भण्डारा र तन्त्र विधिबाट पूजापाठ गर्ने परम्परा रहेको छ । वि.सं. ८०९ सालदेखि नै पीर स्थापना र मेलाको आयोजना हुँदै आएको छ । फागुन कृष्णपक्षको एकादशीका दिन आज गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरामा भव्य मेला पनि लाग्ने गर्दछ । गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा देशकै प्रसिद्ध धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा परिचित छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad