Ad Area

माटो सुधारसँगै कृषि उत्पादन बढाउन प्राङगरिक मल


दाङ,५ फागुन । नेपाल कृषि प्रधान देश हो । यहाँ बहुसंख्यक मानिस कृषि पेशा गर्छन् । कृषि कर्म गर्नेहरुका लागि आवश्यक पर्ने बस्तु हुन् । जमीन, पानी, बीउबीजन अनि मल । खेतीपाती गर्न कृषकका लागि जमीन छ, पानी पनि जसो तसो पुगेको छ । बीउबीजनको व्यवस्था पनि पुगेकै छ । तर, उत्पादन राम्रो बनाउन, आम्दानी लिन सक्ने गरी कृषि उत्पादकत्व बढाउन मलको सँधै हाहाकार छ । यो समस्या देशभर व्याप्त छ ।

सँधै झै दाङसहित देशभर रासायनिक मलको हाहाकार भयो । सरकारले खेतीपातीका लागि समयमा मल उपलब्ध गराउन नसक्दा कृषकले हैरानी खेपे । त्यही बेलामा लामो खोज तथा अनुसन्धानपछि दाङमै तयार पारिएको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योगमा कृषकहरुको नजर पर्यो । रासायनिक मल प्रयोग गर्दै आएका कृषकलाई जैविक मल प्रति शुरुमा विश्वास लागेन । तर, अरु विकल्प नदेखेपछि यही मल किनेर प्रयोग गरे ।जैविक मल उत्पादन गर्ने सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रको मल प्रयोग गरेका किसानले धान उत्पादन राम्रो भएको देखेर अचम्म मान्दै अहिले यही मललाई भरोसा गर्ने भएका छन् ।

यो मल कृषिका लागि मात्रै राम्रो नभई स्थानीय स्तरमा उत्पादन भएको हुँदा प्रयोग गर्न पाउनु गर्वको विषय भएको कृषकको भनाई छ ।
२०७० सालमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र स्थापना गरेर दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ बेलभारमा मल उत्पादन गर्न शुरु गर्नुभएका महेश चौधरीले निरन्तरको प्रयासपछि मल उत्पादनमा सफलता मात्रै होईन कृषकको विश्वास पनि आर्जन गर्न सफल हुनुभएको छ । महेश चौधरीले निकै लामो खोज तथा अनुसन्धानपछि मल उत्पादन गर्न सफल हुनुभएको हो ।

मल प्रयोग गरिसकेपछि उत्पादन भएको धानको अवस्था अनि कृषकहरुको यस बारेमा भनाई के छ भन्ने कुरा जान्न हामी खेतमै पुग्योँ । त्यहाँ पुग्दा सूर्यशक्ति उद्योगको मल प्रयोग गरिएको धानको अवस्था निकै राम्रो पाईयो । विगतका वर्षमा युरिया डिएपी मल राखेर खेती गरेका कृषकले बजारमा मल नपाएपछि दाङमै उत्पादन भएको सूर्य शक्ति जैबिक मल प्रयोग गरेर राम्रो उत्पादन लिन सफल भएका छन् । जैबिक मल प्रयोग गरेको धान धेरै फलेको छ । धानका बाला राम्रा छन् । बालामा पोकटा छैन । रोग किरा पनि कम लाग्ने अनि उत्पादन पनि बढेको कृषकहरुको अनुभव छ । स्थानीय स्तरमा उत्पादन भएको मल पयोग गर्न पाउदा उनीहरु निकै उत्साहित छन् ।

तुलसीपुर १४ चौपरेका किसान मदन रावत जस्तै सो क्षेत्रका दर्जनौ किसानले धानबालीमा सूर्यशक्तिको मल प्रयोग गर्दै लहलह बाला झुलेका धान फलाउनुभएको छ । तुलसीपुर १४ भोजपुरका बुझौना चौधरी, तुलसीपुर १५ गब्दहवाका विनोद चौधरी, यादवकुमार चौधरी लगायत किसानले सूर्यशक्ति मल प्रयोग गर्दै यो वर्ष धानबाली भित्र्याउन सफल भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ९ एकलघरुवामा रहेको श्री वागेश्वरी बीउ उत्पादन कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बस्नेतलाई पनि यो मल निकै मन परेको छ ।

घोराही ९ भगुवारका हिमबहादुर वलीले १५ कट्ठामा रोप्नुभएको धानबालीको फसल राम्रो देख्न सकिन्छ । यसो हुनुमा सूर्यशक्ति मल नै कारक रहेको उहाँ बताउनुहुन्छ । अरु मलको तुलनामा मलको प्रयोग कम हुनुका साथै लागत घटेको र फसल राम्रो भएपछि उत्साहित हुनुभएको छ । घोराही ९ अस्परी कृषि सहकारीका सचिव हरिप्रसाद चौधरी होस् या घोराही ७ शुक्रवारका किसानले सूर्यशक्ति मल प्रयोगपछि धान फलाउन सफल भएपछि हौसिएका थुप्रै उदाहरण बनेका छन् ।

Blog Post Ad

चौतारी कृषि सहकारी शुक्रवारका गुरुप्रसाद चौधरी, घोराही ७ पर्साकी पूर्णिमा घर्तीको भनाई पनि सूर्यशक्तिको प्रयोगले उत्पादन राम्रो भएको प्रतिक्रिया छ । घोराही ७ राजपुरका खिम नारायण चौधरीले बजारमा रासायनिक मल निकै खोज्नुभयो । तर, पाउन सक्नुभएन । अन्ततः उहाँ सूर्यशक्ति मल खरीद गरेर प्रयोग गर्नुभयो । उहाँलाई स्थानीय स्तरमा बनाईएको मलले यति राम्रो उत्पादन देला भन्ने रत्तिभर विश्वास लागेको थिएन । तर, उहाँले सूर्यशक्ति मल प्रयोग गरेर नसोचेको प्रतिफल पाउनुभएको छ । उहाँ धान राम्रो भएपछि, निकै उत्साहित बन्नुभएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कबाट २०७३ सालमा अनुमति प्राप्त गरेर प्राङ्गारिक मल उत्पादन गरी अहिले दाङमा मात्रै होईन विभिन्न जिल्लामा पठाउन थालिएको महेश चौधरी बताउनुहुन्छ । जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगको विश्वास छ । सौर्य शक्ति मल कृषि अनुसन्धान परिषद नार्कले धानबालीमा प्रयोगगरी गुणस्तरको अनुमती दिएको छ भने सरकारी बागबानी केन्द्रमा पनि यही मल प्रयोग हुदै आएको छ ।

कृषकले प्रयोग गरेर अन्नबाली राम्रो उत्पादन भएको सुझावसहित प्रतिक्रिया दिइपछि उद्योग संचालक महेश चौधरी जिल्लाभरका किसानलाई सहज रुपमा पुग्ने गरी मल उत्पादन गर्ने तर्फ ध्यान दिन थाल्नुभएको छ । जसका लागि नयाँ मेसिन जडान गरेर अझ स्तरीय मल उत्पादन गर्ने र यसबाट दाङका सबै किसानलाई पर्याप्त मात्रामा मल पुर्याउने अठोट लिनुभएको छ । यस उद्योगबाट उत्पादन भएको मल धान, तरकारी र फलफूल खेतीमा प्रयोग हुदै आएको छ ।

दाङमा उत्पादन भएको यो मल जिल्लामा मात्रै नभई, सल्यान, प्यूठान, बाँके, बर्दिया, कैलाली, नवलपरासीसम्मका किसानले प्रयोगमा ल्याएका छन् । यो मलले उत्पादन बढाउनुका साथै माटोको उर्बराशक्ति पनि बचाइ राख्न मद्धत गर्दछ । स्थानीय स्तरमा स्थापना भएको यो उद्योगबाट उत्पादन भएको जैविक मल अबको दाङका कृषकहरुको विश्वासिलो आधार बन्ने देखिएको छ । नेपाल सरकारको साथ सहयोग रहेमा दाङ जिल्लालाई पुग्ने मल उत्पादन गर्न सक्ने क्षमता उद्योगसँग छ ।

राज्यले अर्बौ लगानी गरेर देशमा मल भित्र्याउने गरेको छ । तर, त्यो पनि पर्याप्त छैन । स्थानीय स्तरमा जैविक मल उत्पादन गर्दै कृषि क्षेत्रमा योगदान दिईरहनु भएका महेश चौधरी जस्ता एक अथक व्यक्तिको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रति राज्यको नजर पुग्न जरुरी छ ।

Blog Post Ad Blog Post Ad