जनगणनाको तयारी अन्तिम चरणमा

घोराही, १५ कात्तिक ।
राष्ट्रिय जनगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला जनगणना कार्यालय दाङका अनुसार हाल गणकहरुको तालिम भैरहेको छ । जनगणनामा घरघर खटिने गणकका लागि शनिबारबाट अन्तिम चरणको तालिम शुरु भएको हो । यही कात्तिक १३ गते देखि सुरु भएको तालिम १६ गते सम्म चल्ने छ ।
जनगणना कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले ८ सय ४ जना गणक खटिने जानकारी गराए । सुरुमा ७ सय १४ जना गणकहरु आवश्यक पर्ने भनिएको थियो । तर जिल्लामा बसोवास गर्ने नागरिकहरुको संख्या बढी देखिएको हुँदा ९० जना गणक थप गरिएको पोख्रेलले बताए ।
उनका अनुसार घोराहीमा दई सय ४५ जना, तलसीपुरमा एक सय २८ जना, बंगलाचुलीमा २५ जना, दंगिशरणमा २६ जना, बबईमा ३४ जना, शान्तिनगरमा ३३ जना, लमही नगरपालिकामा ७२ जना गणकहरुलाई खटिने छन् ।
जनगणनाका लागि सूपरिवेक्षकले घर सूचिकरण गर्ने काम सकिएको छ । भदौ ३० गते देखि असोज १८ गते सम्म सुपरिवेक्षणले घर सूचिकरण गर्ने काम गरिसकेका छन् । उक्त फाराममा २० वटा सुचकहरु रहेका थिए । सुचकमा रहेर सुपरिवेक्षकहरुले वडास्तरका सम्पूर्ण जनसांख्यिक, आर्थिक, सामाजिक, लैंगिक लगायतका विभिन्न तथ्यांकहरु संकलन गर्ने काम गरेको प्रमुख पोखरेलले जानकारी गराउनुभयो ।
सुपरिवेक्षकको करिव २५ प्रतिशत काम सकिएको छ । भने अव गणकहरुको कामलाई अनुगमन गर्ने, वडामा सामुदायिक प्रश्नावली भर्ने काम र अन्मि फाइल बुझाउने काम मात्र बाँकी रहेको पोखरेलले बताए ।
उता जनगणना बिभागका अनुसार जनगणनाको अन्तिम तयारी भैरहेको छ । ७७ वटै जिल्लाका ३४९ वटा जनगणना कार्यालयले गणकका लागि अन्तिम चरणको तालिम शुरु गरेको विभागले जनाएको छ । देशभर जनगणना कात्तिक २५ बाट शुरु हुनेछ । जनगणनाको काम मंसिर ९ गते पूरा हुनेछ । कुल ३९ हजार गणक देशैभर खटिनेछन् ।
तालिममा जनगणना क्षेत्रको पहिचान, सही तथ्यांक ल्याउन गणकले अपनाउनु पर्ने सावधानी, उत्तरदातासँग गर्नुपर्ने व्यवहार, तथ्यांकको गोपनीयता कायम राख्ने विषयमा जानकारी गराइने भएको छ । गणकको सानो गल्तीले तथ्यांकको विश्वसनीयतामा प्रश्न उठ्न सक्ने भन्दै गणक बढी नै गम्भीर हुनुपर्ने भन्दै तालिम सञ्चालन शुरु गरिएको हो । गणकले स्थलगत काममा गल्ती नगरुन् भने कक्षागत रुपमा अभ्यास समेत गराइने भएको छ ।
यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो । यसपटक भने पूर्णगणना विधिबाट जनगणना गरिनेछ । पूर्णगणना विधि सबै घरमा पुगेर गरिने तथ्यांक संकलन गरिने पोख्रेलले बताए । विगतमा बहुविधिबाट जनगणना गर्ने गरिएको थियो । तर यसपटक एकल विधिबाट जनगणना गरिदैछ ।
पहिले आठ घरमध्ये एक घरलाई छनोट गरेर जनगाणना गरिन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ । १९६८ सालदेखि प्रत्येक १०÷१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्य राखिएको छ ।
संघीयतासँगै प्रविधि र विधि, नियम कानुन तथा संरचनागत रूपमा नयाँ शैली अपनाएर जनगणना गरिने छ । विगतमा कागजी प्रविधिको मात्रै प्रयोग हुने गरेकोमा अब कागजीका साथै विद्युतीय र इन्टरनेट प्रविधिबाट समेत जनगणना हुने छ ।
काठमाडौं उपत्यकामा ट्याब्लेट विवरण संकलन गरिने योजना बनाइएको छ । अन्य स्थानमा कागजमा नै विवरण भरिनेछ । विदेशस्थित राजदूतावास, कूटनैतिक नियोगमा इन्टरनेटमार्फत ई–सेन्सस प्रविधिबाट तथ्यांक संकलन गरिनेछ ।