Ad Area

सामीको पहलमा समस्यामा परेकालाई साढे ९ करोड आर्थिक सहायता


घोराही, १९ फागुन । सुरक्षित आप्रवासन सामी कार्यक्रमले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न कारणमा समस्यामा परेकाहरुको निशुल्क कानूनी सहायतार्फत २०७५ देखि चालु आर्थिक वर्षको हालसम्म ५ सय ५८ जनालाई ९ करोड ६४ लाख ९९ हजार ५ सय ४१ रुपैयाँ आर्थिक सहायता प्रदान गर्न सफल भएको छ ।

सामी कार्यक्रमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन पछिल्लो समय गर्दै आएको कामबाट लक्षित व्यक्ति र पीडितका परिवारले ठूलो राहत महसुस गरेका छन् । सामी कार्यक्रममार्फत २०७५ असारदेखि २०७९ को तेश्रो चरणसम्म आप्रवासी श्रोत केन्द्रमा दर्ता भएका समस्याहरु ५ सय ५ वटा रहेकोमा ३ सय ९८ वटा समाधान भएका छन् । जसमध्ये ७३ वटा प्रकृयामा रहेको र बाँकी ३४ वटा समाधान हुन नसकेको रहेका छन् । न्यायमा पहुँच पुर्याउने लक्ष्यका साथ गरिएको निशुल्क कानूनी सहायताबाट ७ करोड ८१ लाख ९९ हजार ५ सय ४१ रुपैयाँ आर्थिक सहायता प्राप्त गर्न सफल भएका वैदेशिक रोजगार वोर्डका दाङ जिल्ला कार्यक्रम अधिकृत विष्णु अर्यालले जानकारी दिनुभयो ।

सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजनामा जिल्ला तहका प्रहरीहरुसँग शुक्रबार घोराहीमा आयोजित एक दिने अभिमुखीकरण कार्यक्रममा उहाँले बितेको ५ वर्षको अवधिमा परेका उजुरीमा ठगीका २ सय २५, विदेशमा मृत्यु भएका ४३, जेल परेका ८, स्वास्थ्य सम्बन्धि समस्या भएका १८, हराएका ३४, अलपत्र परेका १ सय २९ र अन्य ४८ गरी ५ सय ५ वटा निवेदन दर्ता भएको बताउनुभयो ।

यद्यपि, चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवस्था हेर्दा निशुल्क कानूनी सहायता लिन आउनेको संख्या उल्लेख्य भएको छ । यो अवधिमा मात्रै आप्रवासी श्रोत केन्द्रमा १ सय ७० वटा समस्या दर्ता भएका छन् । जसमा ६० वटा समाधान भएको र १ सय १० वटा प्रकृयामा रहेको उहाँले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका, तुलसीपुर, लमही र बबई गाउँपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा यो वर्षमा मात्रै निशुल्क कानूनी सहयतामार्फत १ करोड ८३ लाख आर्थिक सहायता उपलब्ध गराउन सफल भएको बताइएको छ । जसमा ठगीमा १ सय ७, मृत्यु भएका २०, जेल परेका १०, स्वास्थ्य समस्या भएका ८, हराएका १५, अलपत्र परेका ३ र अन्य ७ गरी १ सय ७० वटा समस्याहरु निशुल्क कानूनी सहायताका लागि निवेदन दर्ता भएका छन् ।

Blog Post Ad

उता, जिल्ला प्रहरी कार्यालय दाङले पनि पछिल्लो समय वैदेशिक रोजगार सम्बन्धी घटनालाई चासोका साथ लिएसँगै यससँग सम्बन्धित घटना अभिलेखीकरण हुने र समस्या समाधान हुने क्रम बढेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले वैदेशिक रोजगारमा जाने नेपालीहरु ठगिने क्रम नरोकिएको भन्दै यसलाई रोक्न प्रहरीसँगै सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीका अनुसार, वैदेशिक रोजगार ठगी सम्बन्धी परेको निवेदनहरुको त्रिवर्षीय तथ्यांक हेर्दा २०७७–०७८ मा १८, २०७८–०७९ मा २३ र २०७९–०८० को हालसम्म ३१ गरी कुल ७२ वटा निवेदन परेको छ । यसैगरी, ठगी कसुरमा २०७६–०७७ मा ४, २०७७–०७८ मा ७, २०७८–०७९ मा ८ र चालु आर्थिक वर्षको हालसम्म १३ गरी कुल ३२ वटा दर्ता भएको छ ।

बैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारण गर्नको लागि जिल्लास्थित प्रहरीले पनि घटना न्यूनीकरणका लागि भरपर्दो सूचना संकलन गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको, प्राप्त सूचनाहरुको सूक्ष्म रुपमा अध्ययन गरी आवश्यक अनुसन्धान गर्ने गरिएको, सरोकारवाला निकायहरुसँग सूचना आदान प्रदान कार्यलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

यसैगरी, बैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन तथा ठगी कार्यलाई निवारण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको, वैदेशिक रोजगारको क्रममा हुने ठगी, मानव वेचविखन जस्ता कार्यबाट आमसर्वसाधारणलाई बच्नको लागि स्थानीय रेडियो तथा पत्रपत्रिकाहरुमा जानकारीमूलक सन्देशहरु प्रसारण तथा प्रकाशित गर्ने गरिएको प्रहरी प्रमुख वलीले बताउनुभयो ।

वैदेशिक रोजगारको क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधि भित्र रही सूचनांहरू आदान–प्रदान गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचबिखनका जोखिमका क्षेत्रहरू पहिल्याई सोको निवारणका लागि आफ्ना कर्मचारीहरूलाई सक्षम गराउँदै आवश्यकता अनुसार परिचालन गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचविखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने, आ–आफ्नो क्षेत्राधिकारका विषयहरू सूक्ष्म रूपमा अध्ययन हुने गरेको प्रहरीको भनाई छ ।

यसैगरी, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुयाउने तथा एक आपसमा सहकार्य गर्ने, वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याई कारवाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एक आपसमा सहकार्य गर्ने उद्देश्यका साथ काम भईरहेको जिल्ला प्रहरी प्रमुख वलीको भनाई छ ।

घोराहीकी उपप्रमुख हुमा डिसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले रोजगारका लागि विदेश जाने कुनैपनि कामदार एजेण्टमार्फत् भन्दा पनि आफैले आफु जाने देश र कामका बारेमा बुझेर जानुपर्ने र सीप अनिवार्य सिक्नुपर्नेमा जोड दिनुभयो । आफु जान चाहेको देश र गर्न खोेजेको कामका बारेमा यकिन नगरी हचुवाको भरमा वैदेशिक रोजगारीमा जाँदा अनेकन समस्या सिर्जना हुने गरेको हुँदा सामी कार्यक्रमबाट परामर्श लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख डिसीले वैदेशिक रोजगारका क्रममा ठगिने क्रम बढ्दै गएकाले यसको नियन्त्रणका लागि तल्लो तहबाटै सबै जुट्न आवश्यक रहेको बताउनुभयो । वैदेशिक रोजगार विभागले अनुसन्धानको क्रममा जानकारीमा आएका वैदेशिक रोजगार सम्बन्धी अपराध तथा मानव वेचविखन सम्बन्धि सूचनाहरुको विश्लेषण गरी वैदेशिक रोजगार ऐन, २०६४ ले कारवाहीको दायरामा ल्याउन नसकेका तथा अनुसन्धान तहकिकात गर्न विद्यमान कानूनी उपलब्धता बारे नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचविखन अनुसन्धान ब्यूरोलाई उपलब्ध गराई ठगी तथा मानव बेचविखन सम्बन्धी मुद्दाको अभियोजनमा सघाउ पुयाउनेलगायत काममा सामी कार्यक्रमले सरोकारवालहरुसँग समन्वय गरी समुदायमा गतिविधि संचालन गर्दै आएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलगायतले अभिमुखीकरण गर्नुभएको थियो ।

सुरक्षित आप्रवासन सामी कार्यक्रमले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरणलाई समुदाय स्तरसम्म पुर्याउने लक्ष्यका साथ सरोकारवालाहरुबीच अभिमुखीकरण गर्दै आएको छ । दैनिक रुपमा टोल विकास संस्थाका अध्यक्षहरु, प्रहरी, प्रशासन, स्थानीय तह अन्तरगत वडा सचिव लगायत सरोकारवाला निकायहरुसँग सामी कार्यक्रमको उद्देश्यसँगै वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुरक्षित र भरपर्दो बनाउने सन्दर्भमा अभिमुखीकरणलगायत कार्यक्रम गर्दै आएको सामी कार्यक्रम दाङका संयोजक बसन्ता पुनले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad