Ad Area

कर्मचारीलाई पेशागत हकहितसँगै जनताको सेवालाई ध्यानदिन आग्रह


घोराही, २७ फागुन । नेपालको अर्थतन्त्र सुधारका लागि नेपाल वित्तीय संस्था कर्मचारी संघको भूमिका सशक्त बनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेड दाङ शाखाको दशौँ जिल्ला अधिवेशनका अवसरमा बोल्ने वक्ताहरुले नेपालको अर्थतन्त्र पछिल्लो समय ओरालो लागिरहेको हुँदा देशको अर्थ नीति सही रुपमा अघि बढाउन बैंकिङ क्षेत्रमा लामो समयदेखि योगदान दिईरहेको नेपाल वित्तीय संस्था कर्मचारी संघले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने आवश्यकता औल्याउनुपर्ने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंक जिल्ला समिति दाङका अध्यक्ष तुलसीराम वलीको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सभापति डाँगीले प्रजातान्त्रिक प्रणालीको संरक्षण गर्न शुभेच्छुक संघसंगठनहरुसँगको सहकार्यमा पार्टी अघि बढ्ने बताएका थिए । पार्टी सभापति डाँगीले देशको अर्थतन्त्र सुदृढ बनाउन कर्मचारी युनियनको नेतृत्व तहले भुमिका खेल्न सक्ने हुँदा सबै पक्ष गम्भीर बन्न अपिल समेत गरेक ।

वितरणमुखी प्रणाली अपनाउँदा उत्पादनमुखी क्षेत्रमा पनि समानान्तर रुपमा ध्यान दिन कर्मचारी संगठनले काम गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काले सेवालाई सेवाग्राही मैत्री बनाउने सवालमा कमृचारीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका थिए । कर्मचारीहरुले मुस्कानसहितको सेवाले ग्राहकको मन जित्ने गरि काम गर्न सकेमा कर्मचारी युनियनको पनि सही मुल्यांकन हुने भन्दै त्यसले पार्टीलाई समेत सहयोग पुग्ने बताएका थिए ।

देशमा देखा परेका समस्या र सवालका बारेमा नियमित छलफल जरुरी रहेको बताउँदै संगठन चलायमान बनाउन गतिलो नेतृत्व चयनमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले नयाँ विचार र उर्जा लिएर जिम्मेवारी सम्हाल्नेबाट मात्रै युनियन अघि बढाउन जरुरी रहेको बताएका थिए । उनीहरुले कुराभन्दा काम गर्नेलाई युनियनमा जिम्मेवारी दिएमा संगठन बलियो र चलायमान हुने वक्ताहरुको भनाई थियो । व्यवस्थापन पक्ष कमजोर हुँदा संघ खरो रुपमा उभिनु पर्नेमा जोड रहेको थियो ।

कार्यक्रममा कृषि विकास बैंक लुम्विनी प्रदेश कार्यालय दाङका निमित्त प्रमुख अनिल भुसाल, नेपाल वित्तीय सस्था कर्मचारी संघका केन्द्रीय सदस्य राजकुमार विश्वकर्मा, नेपाल वित्तय सस्था कर्मचारी संघका लुीम्वनी प्रदेश उपाध्यक्ष तथा सल्यान शाखा प्रमुख बलबहादुर साउद, कर्मचारी संघका तर्फबाट रामकुमारी पुन, कार्यालय प्रमुखहरुका तर्फबाट तुलसीपुर शाखा प्रमुख बाबुराम ज्ञवालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनले जिल्ला कमिटी गठनदेखि प्रदेश र केन्द्रीय प्रतिनिधि चयन गर्ने छ । जिल्ला उपाध्यक्ष निशा गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बुद्धिप्रकाश चौधरीले गरेका थिए ।