Ad Area

शिक्षा र स्वास्थ्यमा पहुँच बढाउँदै बालबालिका


घोराही, २९ फागुन । राजपुर गाउँपालिका वडा नम्बर ३ की विपना रोका मगरको बाल्यकाल आज जस्तो सहज थिएन । घरको आर्थिक अवस्था निकै कमजोर भएकै कारण अनेकन समस्याबाट गुज्रिएको उहाँको परिवारले विपनालाई पढाउने लेखाउने त निकै परको कुरा भयो, घर खर्च गुजारा के गरी धान्ने भन्ने मै रुमल्लिएको थियो ।

तर, परिस्थिती सँधै एकै नाशको हुदैन भने जस्तै विपनाका लागि अँध्यारोपछिको उज्यालो देख्ने दिन आए । उहाँ क्रियटिङ पोसिबिलिटिज नेपालको सम्पर्कमा आएपछि लेख्ने पढ्ने मात्रै होईन बिरामी हुँदा औषधी उपचारदेखि घरमा खाने खर्चको जोहो समेत गरिदिएपछि पाएको अवसरलाई सही ढंगले सदुपयोग गरेर आज शिक्षकका रुपमा परिचय बनाउन सफल हुनुभएको छ ।

राजपुर २ मटेरियामा रहेको जनज्योति माविमा उहाँ हाल निमावि तहको नेपाली विषयको शिक्षकका रुपमा आफु जस्तै दूरदराजका किशोर शोरीहरुलाई आफ्ना विगतका अनुभव साट्दै उज्यालो भविष्य देखाउने काममा लाग्नुभएको छ । ‘जति बेला मेरो आफ्नो कोही थिएन, मलाई पढ्न साह्रै मन थियो, केही उपाय नभएको बेलामा सिपी नेपालले मलाई विश्वास गरेर निस्वार्थ मेरोलागि शिक्षामा लगानी गर्यो यसले मेरो जीवनमा नयाँ मोड ल्याई दियो’, उहाँले भन्नुभयो, ‘खान लाउनकै लागि संघर्षमा रहेको मेरा परिवारमा मैले यति धेरै सफलता पाउने कुनै आधार थिएन, आज मैले सिपी नेपालकै कारण औपचारिक शिक्षा लिएर बालबालिकाहरुलाई शिक्षाको उज्यालो छर्ने मौका पाएको छु ।’

सिपी नेपालको सहयोगले कुनै बेला पढ्न सक्ने अवस्थामा पनि सहयोग गरेर कक्षा ६ बाट पढ्ने अवसर दिएर आज शिक्षामा योगदान बनाएको उहाँको अनुभव छ । ‘बिरामी पर्दा पनि औषधी उपचार गरेर सहयोग गरि स्वास्थ्य, शिक्षा र घर खर्चसम्मको सहयोगले यो स्थानसम्म आई पुगेको छु’ उहाँले भन्नुभयो ‘अवसरलाई सही उपयोग गरेर आफ्नो भविष्य बनाउन अहिले सेवा लिईरहेका सयौँ बालबालिकाहरुलाई सुझाव दिन्छु ।’

उहाँ जस्तै, रक्षा यादवको कथा पनि संघर्षकै छ । सिपी नेपालले रक्षालाई औपचारिक शिक्षामा गरेर लगानी आज सही सावित भएको छ । उहाँ पनि घरको कमजोर आर्थिक अवस्थाका कारण पढ्न नपाउने अवस्थामा पुगेको बेलामा सिपी नेपालले उहाँको भविष्य बनाउन निस्वार्थ अभिभावकीय भूमिका खेलेपछि शिक्षक बन्न सफल हुनुभएको छ । उहाँले पनि निमावि तहमा अहिले पढाउने काम गर्दै आउनुभएको छ ।

७ कक्षाबाट सहयोग प्राप्त गर्दै आउनुभएकी कक्षा ११ मा अध्ययनरत स्नेहा नेपालीले पठनपाठन, शैक्षिक सामग्री तथा अरु सहयोगले आफु जस्ता गरिव विपन्न विद्यार्थीलाई ठुलो सहयोग भएको बताउनुहुन्छ । आफुले देखेको सपना पूरा गर्न सिपी नेपालले गर्दै आएको सहयोगले हौसला मिलेको बताउनुभयो । कक्षा ११ मै व्यवस्थापन विषय पढी रहनुभएकी सकिना मुस्लिमले स्वास्थ्य र उद्यमशीलताका बारेमा तालिम लिएपछि निकै उत्साहित हुनुभएको छ । पढाई अनुसारको सीपले अझ आत्मविश्वास जगाएको उहाँले बताउनुभयो । हिरो गर्ल्समा सहभागी भई उद्यमशीलता सम्बन्धी ज्ञान लिएपछि छात्रा विद्या घिमिरेलाई यस प्रकारका तालिम आगामी दिनमा अझै भई दिए हुन्थ्यो भन्ने लागेको छ ।

Blog Post Ad

जनज्योति मावि मटेरियाका प्रधानाध्यापक केशवराम यादवले हिजोका दिनमा खरको छानो बर्खामा पानी चुहिने अवस्थाबाट विद्यालयलाई माथि उठाउँदै शैक्षिक गुणस्तर उकास्न र बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पुर्याउन सिपी नेपालले ठूलो काम गरेको बताउनुभयो । ‘शिशु कक्षाको सुधारमात्रै होईन, पूर्वाधार विकास र शिक्षामा गरिएको लगानीले निजि विद्यालयमा पढ्ने बालबालिका पनि अहिले यहाँ आउन थालेका छन’, उहाँले भन्नुभयो, ‘२३ छात्र र ६३ जना छात्रा गरि ८६ जनालाई पठनपाठन, लत्ताकपडा, शैक्षिक सामग्री र सिजन अनुसार अतिरिक्त कपडा पनि व्यहोरेको छ । टाढाबाट आउने छात्रालाई साईकल दिने काम भएको छ भने अतिरिक्त कक्षाका लागि ट्युसन पढाउन पनि सहयोग हुनु ठूलो काम हो ।’

किशोरी शिक्षा, नेतृत्व विकासका लागि जीवन उपयोगी सिपका कार्यक्रम संचालन गर्ने काम गर्दै आएको बताउँदै उहाँले शिक्षामा गरिएको लगानीका कारण जिल्लामा उत्कृष्ट विद्यालय बन्न सफल भएको दावी पनि गर्नुभयो ।

सिपी नेपालले नै सहयोग गरेको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवामा रहेको ज्ञानोदय माविमा बालविकासको शिशु कक्षामा अध्ययनरत साना नानीबाबुहरु शनिबार नआए हुन्थ्यो भन्ने मनसायमा हुन्छन् । उनीहरु खेल्दै पढ्दै, पढ्दै खेल्दै ज्ञान लिन पाउने भएपछि निकै उत्साहित बनेका छन् ।

शिशु कक्षामा अध्ययनरत रोजिका चौधरी, अनुजा बिक, साया चौधरी जस्ता ३९ जना साना नानीबाबुहरु विद्यालय समयमा रमाई रमाई पढ्ने गरेका बालविकास शिक्षक सुनिता चौधरीले बताउनुभयो । ‘पहिले शैक्षिक सामग्री नहुँदा पढाउन समस्या थियो नै, बालबालिकाहरु पनि कम भर्ना हुन्थे’, उहाँले भन्नुभयो, ‘सिपी नेपालले बालबालिकाहरुलाई बस्ने, पढ्ने अनि खेल्ने सबै प्रकारका सामग्री उपलब्ध गराएपछि अहिले निकै सजिलो भएको छ ।’

उहाँका अनुसार, गत वर्ष १२ जना मात्रै विद्यार्थी शिशु कक्षामा थिए । अहिले विद्यार्थीको आकर्षण बढेर गएको छ, यी सबै हुनुमा पूर्वाधारसँगै शैक्षिक व्यवस्थापन नै प्रमुख विषय भएको उहाँको धारणा छ ।

विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव चौधरीले हरेक वर्ष विद्यार्थी बढ्दै गएको दावी गर्दै सिपी नेपालले विद्यालयमा गरेको सहयोगले शैक्षिक गुणस्तर कायम गर्न ठूलो मद्दत पुगेको बताउनुभयो । विद्यालयको भौतिक सुधारका लागि संस्थाले गरेको सहयोगकै कारण थुप्रै पूर्वाधार निर्माणदेखि विद्यार्थीहरुको शैक्षिक कृयाकलापमा योगदान भएको छ ।

संस्थाले ६ कोठे दुई तले भवन, दुई वटा सौचालय ६१ लाखमा बनाईदिएको छ भने कम्प्युटर ल्यावसहित १३ वटा कम्प्युटर पनि १३ लाखमा उपलब्ध गराएको छ । स्मार्ट बोर्डसहितको कक्षा समेतको काम सिपी नेपालले गरिदिएको प्रधानाध्यापक चौधरीले बताउनुभयो ।

कार्यक्रमको जिल्लास्तरीय अनुगमन

आईतबार सिपी नेपाल संस्थाले कार्यान्वयन गरेको विद्यालयहरुको अनुगमनमा बालबालिकाहरुको शिक्षामा बढेको आकर्षण र विद्यालयको पूर्वाधार विकासमा सकारात्मक प्रभाव परेको देखिएको छ ।

क्रियटिङ पोसिबिलिटिज नेपाल सीपी नेपालकी कार्यक्रम संयोजक सरीता चौधरीले दूरदराजका, शिक्षा र चेतनाको पहुँचमा पुग्न नसकेका बालबालिकाहरुलाई अवसर सिर्जनागर्ने काम गर्दै आएको बताउनुभयो । जसका कारण आज थुप्रै बालबालिकाहरुले आफुलाई प्रमाणित गर्न सक्ने पनि भईसकेका बताउनुभयो ।

उहाँका अनुसार, गढवामा ३ सय ३० जना, राजपुरमा १ सय ३० जना र राप्तीमा २७ जना गरी कुल ४ सय ८७ जना बालबालिकाहरुले प्रत्यक्षमा पठनपाठनका क्रममा लाग्ने सबै सुविधा पाउनुका साथै अतिरिक्त लत्ताकपडा र औषधी उपचार समेत पाउने गरेका छन् । सूचीकृत भएका किशोरीहरुलाई विद्यालय आउन जान सहज होस्भन्दै साईकल पनि उपहार दिएको छ ।

अनुगमन पश्चात गढवा ५ चैनपुरमा सिपीको कार्यालयमा गरिएको जिल्ला स्तरीय स्थलगत अवलोकन तथा अनुगमन र आर्थिक वर्ष २०७९–०८० को बजेट तथा कार्यक्रम साथै आर्थिक वर्ष २०८०–०८१ को प्रस्तावित बजेट तथा कार्यक्रम बारे जानकारी गराउँदै उहाँले विभिन्न कार्यक्रममार्फत यो वर्ष ७ हजार ९ सय ७१ जना लाभान्वित भएको बताउनुभयो ।

विद्यार्थी संयोजक हेमराज शर्माले २०६४ सालदेखि पूर्वकमलरी, उनीहरुका बहिनी तथा असहाय, विपन्न बालवालिकाको शैक्षिक, आर्थिक तथा सामाजिक क्षेत्रमा संस्थाले जिल्लाको गढवा, राजपुर र राप्ती गाउँपालिकाको काम गर्दै आएको बताउनुभयो । बालबालिकाहरुले शैक्षिक छात्रवृत्तिमार्फत निशुल्क रुपमा विभिन्न बिद्यालयमा अध्ययन गर्दै आईरहेको जानकारी गराउँदै बालबालिकाहरु विपन्न वर्ग, अनाथ, टुहुरा बालबालिका तथा युवाहरुलाई शैक्षिक रुपमा सक्षम बनाउने लक्ष्य रहेको बताउनुभयो ।

सिपी नेपालकी विद्यार्थी संयोजक दीपा चौधरीले विभिन्न खालका कार्यक्रमहरुमार्फत नागरिकलाई जोड्ने काम भईरहेको बताउनुभयो । उहाँका अनुसार, राप्ती, गढवा र राजपुर गाउँपालिकामा संचालित परियोजनामा ५६ वटा आमा समूह, ४ सय ८७ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । अहिले पनि नर्सरीदेखि नर्सिङसम्म सिपी नेपालको सहयोगमा पढिरहेको जानकारी गराउँदै बालबालिकालाई शिक्षामा पहुँच, स्वास्थ्य सचेतना र उद्यमशीलता विकास परियोजनाले विशेष रुपमा काम गर्दै आएको जानकारी गराउनुभयो ।

सो अवसरमा जिल्ला अनुगमन समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले विभिन्न सामाजिक संघसंस्थाहरुको प्रयासले सरकारले अघि बढाएका कार्यक्रम सफल बनाउन सहयोग पुगेको बताउनुभयो । कतिपय बालबालिकाहरु शिक्षाको उज्यालोमा पुग्नबाट आजका दिनमापनि बन्चित हुने गरेकाले सिपी नेपाल जस्ता सामाजिक उत्तरदायित्व वहन गर्ने संस्थाका कारण उनीहरुको भविष्य सुनिश्चित भएको बताउनुभयो ।

यस प्रकारका कार्यक्रमलाई आगामी दिनमा अझ दूरदराज केन्द्रित गर्दै लक्षित वर्गको उत्थानमा केन्द्रित बन्न सुझाव दिनुभयो ।
अनुगमनमा स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्रहरी पत्रकारलगायतको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad