Ad Area

पद्मोदय क्याम्पसको स्ववियु सभापतिमा गोराथोकी निर्विरोध


घोराही, फागुन २९ गते । दाङको घोराहीमा रहेको पद्मोदय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा बिष्णु गोराथोकी निर्विरोध निर्वाचित भएका छन् । दाङमा क्रियाशिल विद्यार्थी संघसंगठनहरुले सहमति अनुसार स्ववियुको सभापतिसहित कार्यसमिति सर्वसहमत रुपमा गठन गरिएको हो ।

सहमति अनुसार स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका गोराथोकी निर्विरोध चयन भएका हुन । त्यसैगरी उपसभापतिमा अनेरास्ववियुका सुर्य विश्वकर्मा, सचिवमा नेपाल विद्यार्थी संघबाट अस्मिता पाण्डे, कोषाध्यक्षमा अखिल क्रान्तिकारी (बिप्लव)बाट गंगाराम बाठामगर चयन भएको क्याम्पस प्रमुख निश्चल आचार्यले जानकारी दिएका छन् ।

क्याम्पस प्रमुख आचार्यका अनुसार सहसचिवमा अखिल क्रान्तिकारीबाट संगीता चौधरी र स्ववियु सदस्यहरुमा निर्मला श्रेष्ठ,अस्मिता रेग्मी, बिन्दु बस्नेत, अनुसा शर्मा, रविन्द्र वली, कविता डिसी र हेमुना पाण्डे निर्विरोध चयन भएका छन् ।

विद्यार्थी संघसंगठनको सहमति अनुसार अखिल क्रान्तिकारीलाई स्ववियु सभापति र सहसचिवसहित एक सदस्य,अनेरास्ववियुलाई उपाध्यक्षसहित दुई,नेविसंघलाई सचिवसहित दुई सदस्य, अखिल क्रान्तिकारी –बिप्लव)लाई कोषाध्यक्षसहित एक सदस्य र प्रजातान्त्रिक विद्यार्थी संगठनलाई एक सदस्य दिएर सर्वसहमतिमै स्ववियु पदाधिकारी चयन गरिएको हो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad