Ad Area

छिल्लीकोट पर्यापर्यटनको आकर्षक गन्तव्य


घोराही, ३० फागुन । हिजोआज शहर बजारको कोलाहलबाट केही पर गएर प्राकृतिक वातावरणमा रमाउने अनि स्थानीय खानपानको स्वाद लिने क्रम बढ्ै गएको छ । कामको थकान मेट्न तथा स्थानीय रहनसहनमा पकाईने परम्परागत खानाको स्वादमा रमाउन खोज्नेहरुका लागि पछिल्लो समय छिल्लीकोटमा रहेको मल्लागिरी सामुदायिक होमस्टे ग्राम रोजाईमा पर्दै गएको छ । होमस्टेमा पुग्ने जोकोहीलाई स्थानीयले फूलमाला लगाएर भव्य आतिथ्यता प्रदान गर्ने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको छिल्लीकोट हावापानी, घुमफीर, पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर ठाउँ हो । यो ठाउँ ऐतिहासिक र धार्मिक रुपमा पनि परिचित रहेको छ । तुलसीपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छिल्लीकोट घुम्न जानेको संख्या अहिले बढ्दो क्रममा छ । खासगरी, जडिबुटीका रुपमा रहेको मालागेडीको उत्पादन केन्द्र मानिएको छिल्लीकोट घुम्नका लागि पुग्नेहरुको संख्या मात्रै होईन, होमस्टेमा रात बिताउँदै स्थानीय कला संस्कृति बुझ्ने, परिकार खानेहरु पनि बढ्दै गएका छन् ।

दुधरास बजारदेखि उत्तरको पहाडमा रहेको छिल्लीकोट पुग्न सवारी साधनमा आधा घण्टा लाग्छ । दुरीका हिसावले पनि नजिकै रहेको हुँदा दिउँसोको समयमा घुम्नका लागि उत्तम गन्तव्य मानिएको छ । त्यहाँ रहेको भ्यूटावरबाट टाढासम्म दृश्यवालोकन गर्न सकिने तथा चिसो हावामा वातावरणसँग घुलमिल गर्दा आनन्द आउने हुँदा आगन्तुकहरु त्यहाँ पुग्ने गरेका छन् । छिल्लीकोटमा रातको समयमा बास बस्नका लागि पनि स्थानीयले व्यवस्था गरेपछि झनै सजिलो भएको छ । यति मात्रै होईन, छिल्लीकोटमा रहेका कालिका र मालिका मन्दिर पुगेर पूजापाठ गर्नुका साथै भ्यू टावर चढेर दक्षिणको दाङ र उत्तरको रोल्पा हेर्नेको पनि संख्या बढ्दै गएको छ ।

छिल्लीकोट घुम्ने अनि फर्किने पर्यटकको संख्या धेरै भएपछि स्थानीयको प्रयासमा २०७६ सालदेखि औपचारिकरुपमा मल्लागिरी सामुदायिक होमस्टे ग्राम दर्ता गरेर सञ्चालन गरिएको छ ।
होमस्टेमा स्थानीय खाना पाक्ने गर्दछ । बासको पनि व्यवस्था गरिएको छ । मल्लागिरी सामुदायिक होम स्टे ग्राम छिल्लीकाट नाम दिएर सातघर मिलेर होमस्टे संचालनमा ल्याएको होमस्टेका अध्यक्ष परबीर पुन मगरले जानकारी दिनुभयो ।

२०७६ साल फागुन २९ गतेदेखि होमस्टे ग्राम दर्ता गरेर सञ्चालनमा ल्याएपछि अहिले आउने आगन्तुकको संख्या बढ्दै गएको उहाँको भनाई छ ।आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तुलसीपुर उपमहानगरपालिकाले आफुहरुलाई तालिम दिनेदेखि जिन्सी सामग्री पनि सहयोग गरेको अध्यक्ष पुन मगरले बताउनुभयो ।

Blog Post Ad

पहिलो वर्ष होमस्टे संचालन गर्दा भने संचालन गर्न चुनौति भएको उनीहरुको भनाई छ । ‘होमस्टे सञ्चालन गर्न सबै जुटायोँ तर, त्यही बेलामा कोरोना आयो, सबै ठप्प भयो’, अध्यक्ष परबीरले भन्नुभयो, ‘हामीले हिम्मत हारेनौँ, यो ठाउँलाई चिनाउने मात्रै होईन आयआर्जनको बाटोमा पनि बनाउनुपर्छ भनेर निरन्तर लागि रह्यो अहिले राम्रो भएको छ ।’ कोरोनाले करिव दुई वर्ष थलिएको होमस्टे अहिले आगन्तुक पाउन थालेपछि राम्रो हुँदै गएको अर्का स्थानीय तिलबहादुर वलीले बताउनुभयो ।

खासगरी, घुमफिर गर्ने र स्थानीय स्वादको आनन्तद लिनेहरु शुक्रवार र शनिवार होमस्टेमा पाहुनाको रुपमा पुग्ने गरेका छन् । एउटा घरमा कम्तिमा ८ जनालाई खान र सुत्नेको व्यवस्था गरिएको छ । होमस्टेमा साथीभाइहरु र परिवारका सदस्यहरु पुग्ने गरेका छन् । होमस्टेको छेवैमा रहेका ऐतिहासिक कालिका र मालिका मन्दिर, दृश्यावलोकन गर्न सकिने छिल्लीकोट भ्यू– टावरले पनि होमस्टे संचालनमा सहयोग पुगेको होमस्टेका सहसचिव जीवराज रेउलेले बताउनुभयो ।

आफुहरु बस्दै आएको घरलाई नै प्रयोग गरी उनीहरुले होमस्टेको रुपमा विकास गरेका छन् । छिल्लीकोटमा उत्पादन हुने खानेकुरा सामुदायिक होमस्टेमा खुवाउने गरिएको छ । स्थानीय रुपमा उत्पादन भएका कोदो, मकै र जौको ढिडो, रोटी, परिकार, स्थानीय माहुरीले उत्पादन गरेको मह, लोकल कुखुराको मासु खान पाइन्छ । दुई छाक खाना, बिहानको कालो चिया र सेल खाएको र एक रात सुतेको एक जनाले एक हजार मात्रै तिरे पुग्ने अध्यक्ष परबीर पुुनले बताउनुभयो । होमस्टे सञ्चालन गरिरहेका सबैले बेलुका र बिहानको खाना, नास्ता र सुतेको शुल्क एक हजार लिने गरेको उहाँले जानकारी दिनुभयो ।

अहिले सामुदायिक होमस्टे ग्राममा सातवटा घर दर्ता भएका छन् । बाँकी तीनवटा घर दर्ताको प्रक्रियामा रहेका छन् । अरु स्थानीय पनि होमस्टे सञ्चालनका लागि तयारीमा लागेका छन् । घरमै कमाइ हुने भएपछि अरु पनि दर्ता प्रक्रियामा रहेको अध्यक्ष परबीर पुनले बताउनुभयो । कालिका मालिका टोल विकास संस्थाका अध्यक्ष पलबहादुर खड्काले दुधरास, सक्राम, छिल्लीकोट हुँदै होलेरीसम्मको सडक बिस्तार हुन सकेमा छिल्लीकोटको विकास धेरै पर नरहेको बताउनुभयो । स्थानीय रुपमा उत्पादन हुने हरेक बस्तुहरु आफैमा मौलिक रहेको हुँदा यसको बजारीकरणका लागि सडकको सहज पहुँच नै अहिलेको आवश्यकता रहेको उहाँको धारणा छ ।

तुलसीपुर उपमहानगरपालिकाको पहलमा स्थापना भएको होमस्टेका कारण पनि छिल्लीकोटको चर्चा चुलिँदै जान थालेको छ । छिल्लीकोट मगर, जनजातिको बाहुल्य रहेको गाउँ हो । मगर संस्कार, संस्कृति, रहनसहनलाई जोगाउँदै पुराना कलासंस्कृति जोगाउने बलियो आधारमा रुपमा पनि होमस्टे बन्ने स्थानीयको विश्वास छ । यसका लागि आगामी दिनमा थप पूर्वाधारको विकास गरेर अझ व्यवस्थित गर्दै छिल्लीकोट आउने आगन्तुक पाहुना बढाउने उनीहरुको लक्ष्य रहेको छ ।

वडा नम्बर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले छिल्लीकोटको विकासका लागि पछिल्लो समय थुप्रै काम भएको बताउनुभयो । सो क्षेत्रमा सहज खानेपानी, विद्युतीकरणसँगै संचारको पनि पहुँच पुर्याउने काम भएको हुँदा आगामी दिनमा अरु कामले पनि सार्थकता पाउने बताउनुभयो । स्थानीयको सक्रियतालाई साथ दिँदै तुलसीपुर उपमहानगरले छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन पहल गर्दै आएको हुँदा निकट भविष्यमा यो ठाउँ सबैका लागि घुम्ने आकर्षक गन्तव्य बन्ने उहाँको विश्वास छ।

Blog Post Ad Blog Post Ad