जागिर भन्दा उद्यमशीलतामा नै राम्रो : पुन [अन्तर्वार्ता]
हाम्रो समाजमा अधिकांश महिलाहरू घरभित्रै सीमित हुन्छन् तर बाहिर आए पनि व्यवसायमा कमै मात्रामा आउने गरेका छन् । झनै होटेल तथा रेष्टुरेण्ट क्षेत्रमा आउँदैनन् नै । आएकालाई पनि समाजले हेर्ने दृष्टिकोण त्यति सकारात्मक रहेको पाइँदैन तर आफ्नो इच्छाशक्ति र लगनशीलता हुने हो भने सफलतापूर्वक होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण समेत धेरै भेट्न सकिन्छ ।
उदाहरणीय रूपले अगाडि बढेको छ घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको लिटिल फरेस्ट । श्रीमती प्रेक्षा पुन र श्रीमान् मनकाजी बुढा मगर मिलेर २०७७ साल भदौ महिनाबाट सञ्चालन गरेको लिटिल फरेस्टले अहिले आप्mनो छुट्टै पहिचान गराउन सफल समेत भएको छ ।
लिटिल फरेस्टमा बेकरी आइटम केक तथा कफी रेष्टुरेण्टमा उपलब्ध रहेको छ । स्वादिष्ट परिकार पाउने भएकाले अधिकांश ग्राहकको रोजाइ समेत बन्ने गरेको छ । महिलाले नेतृत्व गरेर सञ्चालन गरेको व्यवसायमा के–कस्ता चुनौती तथा अवसर छन् भन्ने विषयमा सञ्चालक प्रेरक्षा पुनसँग पत्रकार अमरराज आचार्यले गरेको कुराकानी सार संक्षेप ।
कसरी होटेल व्यवसायमा प्रवेश गर्नुभयो ?
मेरो सानैदेखिको रुचि खाना पकाउने थियो । नयाँ–नयाँ खानाका परिकार बनाउने गर्थेँ । कुक पेसा मेरा रुचि भएकोले घरमा समेत नयाँ–नयाँ परिकार बनाउने गरेको थिएँ । जागिर खानुभन्दा आफैले केही गर्नु पर्दछ भन्ने सोच थियो । उद्यमी भएमा अरूलाई समेत रोजगारी दिन सकिने भएकाले यसतर्फ लागेकी हुँ । व्यवसाय सुरु गरेपछि आफ्नो सीपको समेत अहिले सदुपयोग भएको छ । थप सीप सिक्ने अवसर समेत प्राप्त भएको छ ।
अहिले व्यवसायको अवस्था कस्तो पाउनुभएको छ ?
अहिले सन्तोषजनक नै रहेको छ । कोभिडले हरेक क्षेत्रमा असर पुगेको छ, त्यसबाट हामीले सञ्चालन गरेको व्यवसायमा प्रभाव परेको छ । अहिले १९ जनालाई रोजगारी समेत प्रदान गरेका छौँ
। बेकरी तथा केकका परिकारहरू एक पटक लगेकाले फेरि पनि माग गर्ने गर्नुभएको छ । हामीकहाँ आएर सेवा लिएकाहरू फेरि पनि आएको पाएका छौँ । हामीले उत्पादन गर्ने वस्तु नाफाभन्दा पनि गुणस्तरीयतालाई प्राथमिकता दिएर काम गरेका छौँ । अर्डरअनुसार हामीले वस्तु उत्पादन गर्ने गरेका छौँ ।
होटल व्यवसाय सञ्चालन गर्नुभएको छ, के–कस्ता समस्या भोग्नुपरेको छ ?
समस्या त जुनसुकै ठाउँमा हुन्छन् । समस्या नभएको कुनै काम छैन । अझ व्यवसाय सञ्चालन गर्दा धेरै समयसम्म काम गर्नुपर्दा केही समस्या हुन्छ तर यसलाई समस्याको रूपमा लिनेगरेको छैन । आफूले सुरु गरेको व्यवसाय खुसीका साथ अगाडि बढाएको छु । आप्mनै परिवार मिलेर सञ्चालन गरेकाले सहज नै रहेको छ ।
मेरो लागि नयाँ फिल्ड भएकाले सुरुका केही समस्या भएको थियो । विस्तारै समस्याको समाधान गर्दै अगाडि बढेको छु । काम गर्ने मान्छे सहज रूपमा नपाउने समस्या छ । युवाहरू आफ्नो देशमा भन्दा रोजगारका लागि विदेशिने गरेका छन् । यसले सीप भएका व्यक्ति पाउन समस्या छ । यसले गर्दा स्वदेशमा जनशक्ति पाउन समस्या भएको हो । खास गरी दक्ष जनशक्तिको समस्या रहेको छ । जसले गर्दा बाहिरबाट ल्याएर काम गराउनुपरेको छ । यो पनि बाध्यता नै हो ।
राज्यको तर्फबाट होटेल व्यवसायीलाई के गरिदिन आवश्यक छ ?
होटेल पनि एक उद्योग हो । राज्यले उद्योग सरह मान्यता दिएर सहुलियतमा ऋणको व्यवस्था, कर छुट दिने व्यवस्था गराउनु पर्दछ । राज्यले व्यवसाय गर्ने वातावरणको सिर्जना गरिदिनु पर्दछ । अहिले व्यवसाय गर्ने वातावरण निर्माण हुनसकेको छैन । होटेलहरूको पनि वर्गीकरण गर्न जरुरी रहेको छ । निश्चित मापदण्ड बनाएर वर्गीकरण गरिनु पर्दछ ।
कस्तो प्रकारको होटेल हो भनेर निगरानी समेत गर्न आवश्यक छ । राज्यले उचित निगरानी गर्न सकेमा विकृति रोक्न समेत सहयोग पुग्नेछ । त्यसको लागि राज्यले व्यवसायीलाई सहज रूपमा लगानी गर्ने वातावरण निर्माण गर्न आवश्यक छ तर त्यो अझै बनेको अवस्था छैन । यसमा राज्यले विशेष भूमिका खेलेर होटल व्यवसाय गर्ने वातावरण निर्माण गर्न आवश्यक छ ।
अधिकांश महिलाहरू घरमा मात्र सीमित हुने गर्नुहुन्छ, किन होला ?
परनिर्भर हुने कारणले अधिकांश महिलाहरू घरमै सीमित हुने गरेको देखिन्छ । घरमा एकजनाले काम गरे भइहाल्यो नि, खान पुगेकै छ भन्ने सोचकै कारणले पनि अरुले काम नगरेको पाइन्छ । यो कार्य राम्रो होइन् । हामीले पनि केही गर्न सक्छौँ भनेर अगाडि बढ्न आवश्यक छ । महिला मात्र नभइ सबैले आत्मनिर्भर बन्नु पर्दछ भन्ने सोच राखेर अगाडि बढेमा घरभित्र मात्रै सीमित हुनु पर्दैन जस्तो लाग्छ । सबै आत्मनिर्भर बन्न सकेमा घरव्यवहार चलाउन समेत सहज हुन्छ ।
त्यसका लागि घरपरिवारले पनि सहज वातावरण निर्माण गरिदिनु पर्छ । हाम्रो समाज भनेको पुरुषप्रधान समाज हो । महिलाले केही काम गर्न थालेमा होच्याउने प्रवृत्ति छ । त्यो कार्यले महिलाहरूलाई कमजोर बनाउने काम गर्छ । हामी एकातिर समतामूलक समाज निर्माण गर्ने भन्छौँ भने अर्कोतिर महिलालाई कमजोर बनाउने काम पनि यही समाजबाट हुने गरेको छ । त्यसकारण समतामूलक समाज निर्माणको लागि पनि पुरुषसरह महिलाहरू आत्मनिर्भर बन्न आवश्यक छ ।
त्यसको वातावरण निर्माण गर्ने पहिलो दायित्व भनेकै घरपरिवारको हो । यसैगरेर समाज र राज्यले समेत त्यत्तिकै वातावरण निर्माण गरिदिनु पर्छ । हामीले समातामूलक समाजको कुरा गर्छौँ तर व्यवहार त्यो अनरूप भएको छैन । अझै पनि समाजमा महिलालाई कमजोर रूपमा हेर्ने भावना हट्नसकेको छैन ।
अन्त्यमा केही भन्नु छ ?
मेरो विचार राख्ने अवसर दिनु भएकोमा तपाईँ र गोरक्ष पत्रिका परिवारलाई धन्यावाद दिन चाहन्छु । व्यवसायमा आएपछि के गर्ने, कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउन जरुरी छ । योजना र भिजन हुन नसकेमा कुनै पनि स्थानमा सफलता हासिल गर्न सकिँदैन । नयाँ आउनेलाई मेरो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार छु । पैसा कमाउनका लागि मात्र व्यवसाय गर्ने होइन् ।
सामाजिक सेवाको दृष्टिले अगाडि बढ्नुपर्छ । होटेलमा पारिवारिक वातावरण बनाउनु पर्छ । राज्यले सीप सिक्ने वातावरण बनाउनु पर्दछ । राज्यले निःशुल्क सीप, सहज र सहुलियतमा ऋणको व्यवस्थापन गरिदिनु पर्छ । सीप सिकेमा मानिसलाई बेरोजगार हुनुपर्ने छैन । यसका लागि सीप सिक्ने स्थान बनाउनु पर्छ । उत्पादन भएका सामग्री तथा वस्तुको बजारीकरण गर्नमा सहजीकरण गरिदिनु पर्दछ । यसले व्यवसायमा लाग्नेलाई सहज हुनेछ । जसले गर्दा बेरोजगारीको समस्या समाधान गर्न समेत सहयोग पुग्नेछ ।
देशमा उत्पादन वृद्धि हुनुका साथै आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ । त्यसकारण समतामूलक समाज र राष्ट्र निर्माणको लागि महिला र पुरुषको त्यत्तिकै भूमिका हुन्छ । महिला र पुरुष एकअर्काका परिपुरक समेत हुन् । अझै पनि समाजले महिलालाई काम र नेतृत्व गर्न सक्दैनन् भन्ने ठान्छ तर त्यो यथार्थ होइन । अवसर र काम गर्ने वातावरण निर्माण भएमा महिलाले सहज नै काम गर्न र नेतृत्व गर्न सक्छन् । सबैभन्दा ठूलो अवसर र वातावरण नै हो ।