Ad Area

दाङमा करीव ७० करोड बराबरको धानबालीमा क्षति !


घोराही १७, कार्तिक । असोज ३१ गते परेको बेमौसमी वर्षाले दाङमा करीव ७० करोड बराबरको धानबालीमा क्षति भएको छ । कृषि ज्ञान केन्द्रले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाका १० वटै पालिकाबाट प्राप्त क्षतिको विवरणका आधारमा वर्षाका कारण काटिएर सुकाउन राखिएको, बाढीले बगाएको र हावाहुरीसहितको वर्षाले ढलेर धानबालीमा भएको क्षति ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँ बराबरको रहेको कृषि ज्ञान प्रमुख बुद्धिराज घिमिरेले सार्वजनिक गरेका छन् ।

जिल्लामा यसरी ठूलो मात्रा धानबालीमा भएको क्षति सम्भव त पहिलो पटक रहेको पनि उनले जानकारी दिए । काटेर घरमा भित्र्याउने तयारी गरेका यहाँका कृषकले धानबाली स्याहार्ने बेलामा अचाकन परेको हावाहुरीसहितको वर्षाले ठूलो क्षति गरेको छ । पानीले भिजेपछि धेरैजसो स्थानमा खेतमै धान उम्रिने अवस्था भयो ।

जिल्लामा यस वर्ष खेतीयोग्य जमिनमध्ये ३९ हजार ४०० हेक्टरमा गरिएको धान खेती गरिएको थियो । जसमा ८ हजार ९ सय ९८ दशमलव ९ हेक्टरमा क्षति भएको छ । यो धान रोपिएको कुल क्षेत्रफलको २२ दशमलव ८३ प्रतिशत हो । ज्ञान केन्द्र प्रमुख घिमिरेले धानबालीमा भएको क्षति २७ हजार ६ सय ६८ दशमलव २५ मेट्रिक टन रहेको बताउनुभयो ।

जिल्लामा सबैभन्दा बढी क्षति घोराहीमा भएको छ । घोराहीमा १ हजार ९ सय ५ दशमलव ८८ हेक्टरमा क्षति हुँदा ६ हजार ७२ दशमलव ३ मेट्रिक टन, तुलसीपुरमा २ सय ७५ हेक्टरमा क्षतिहुँदा ८ सय ५२ दशमलव ५ मेट्रिक टन, लमहीमा १ हजार ४ सय ३२ हेक्टरमा क्षतिहुँदा ५ हजार १२ मेट्रिक टन धानबाली क्षति भएको छ ।

यसैगरी, राप्ती गाउँपालिकामा ७१ दशमलव ८ हेक्टरमा क्षतिहुँदा २ सय २० दशमलव ६ मेट्रिक टन, राजपुर गाउँपालिकामा ८ सय ७५ दशमलव ३ हेक्टरमा क्षतिहुँदा २ हजार १ सय ६६ दशमलव ७ मेट्रिक टन, गढवा गाउँपालिकामा ९ सय १९ दशमलव ७ हेक्टरमा क्षतिहुँदा २ हजार ९ सय ८ दशमलव ८ मेट्रिक टन, पहाडी क्षेत्र रहेको बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा क्षतिहुँदा ३ हजार ३ सय ४४ दशमलव ९ मेट्रिक टन धानबाली क्षति भएको छ ।

Blog Post Ad

यसैगरी, पश्चिम दाङको शान्तिनगरमा ७ सय ६१ दशमलव ३ हेक्टरमा क्षतिहुँदा २ हजार ३ सय ६० दशमलव १ मेट्रिक टन, बबई गाउँपालिकामा ५ सय २ दशमलव ५ हेक्टरमा क्षतिहुँदा १ हजार २ सय ६८ दशमलव ८ मेट्रिक टन र दंगीशरण गाउँपालिकामा १ हजार १ सय २३ दशमलव ५ हेक्टरमा क्षतिहुँदा ३ हजार ४ सय ५९ दशमलव ६ मेट्रिक टन धानबाली कामै नलाग्ने गरी नोक्सान भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा रोपिएको धानको कुल क्षेत्रफलमध्ये २२ दशमलव ८३ हेक्टरमा क्षति भएको छ । यो अवस्था विश्लेषण गर्दा जिल्लाका दशवटै पालिकामा गरेर २७ हजार ६ सय ६८ दशमलव २५ मेट्रिक टन धानबालीमा क्षति भएको छ । ज्ञान केन्द्रका अनुसार रकमको तुलना गर्दा सबै पालिकाले करौडौँको धानबालीमा क्षति व्यहोरेका छन् ।

संकलन गरिएको विवरणका आधारमा सरकारले पीडित कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउने बताएको छ । जसका लागि जिल्लाबाट क्षतिको विवरण संकलन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लास्थित सबै पालिकाका कृषि शाखाबाट संकलन गरिएको क्षतिको विवरणलाई अब केन्द्रमा पठाइने भएको ज्ञान केन्द्रले जनाएको छ ।

धानबालीमा भएको क्षतिले भोलिका दिनमा खाद्य सकटलगायत समाजमा पर्न सक्ने असर निकै ठूलो हुन सक्ने कृषि विज्ञहरुको धारणा छ । कृषकहरु पनि धानमा भएको क्षतिले खाद्य संकट निम्तने निश्चित भएको बताउने गरेका छन् भने बीऊको मुल्य अझ आकाशिने डरले चिन्तित बनेका छन् ।

Blog Post Ad Blog Post Ad