Ad Area

महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापति को बन्ला ?


घोराही । हरेक दुई–दुई वर्षमा गरिनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन २०६५ सालयता हुन सकेको थिएन । मिनी पार्लियामेन्टको रुपमा हेरिने स्ववियुको चुनाव हुन नसक्नुले विश्वविद्यालय र क्याम्पसहरुमा बेथिती बढेको र शैक्षिक बहसहरु समेत कमजोर बन्दै गएका बेला अन्ततः १४ वर्षपछि निर्वाचन हुन लागेको छ ।

देशभर स्ववियुको निर्वाचन चैत ५ गते हुन थालेको छ । तर मेहन्द्र बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विप्लव निकटको तालावन्दीका कारण तीन दिन पछि निर्वाचन सरेको छ । जस अनुसार चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन हुन थालेको छ । हाल त्रिविका ६२ वटा आंगिक तथा सामुदायिक र प्राइभेट गरी १ हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । प्राइभेटबाहेक अन्य सामुदायिक क्याम्पसहरुमा विद्यार्थी संगठनको प्रत्यक्ष गतिविधि हुन्छ ।

२०६५ पछि ०७३ मा देशभरका २६ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो । तर त्यसपछि पनि पटकपटक मिति तोकिए पनि हुन सकेको थिएन । केही क्याम्पसहरुमा सर्वसम्मतिमा नेतृत्व चयन भएका समाचार आईरहँदा अरु क्याम्पसहरुमा चुनावी प्रतिष्पर्धा हुन लागेको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका सरकारी तथा सामुदायिक क्याम्पसमा स्ववियू चुनाव गर्ने तयारी गरे दलीय रुपमा विभक्त विद्यार्थी संगठनहरु चुनावी मैदानमा होमिएका छन् । दाङको सबैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययन गर्ने महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा ११ औँ कार्यकालका लागि स्ववियू नेतृत्व चुन्ने प्रयास भईरहेको छ ।

२०३८ सालबाट स्ववियू निर्वाचन थालनी भएको महेन्द्र बहुमुखी क्याम्पसमा हालसम्मको इतिहास हेर्दा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले नेतृत्व गर्ने मौका पाएको छ । हालसम्म एक पटक नेकपा माओवादी निकट अनेस्ववियू क्रान्तिकारीले दाङको सबैभन्दा पुरानो र धेरै विद्यार्थी रहेको क्याम्पसको नेतृत्वm गर्ने मौका पाउनु बाहेक बाँकी ९ कार्यकाल कांग्रेस निकट नेविसंघले सम्हालेको इतिहास छ । यो पटकको स्ववियू निर्वाचनमार्फत कसले नेतृत्व पाउँछ भन्ने अझै भन्न सकिने अवस्था छैन । लामो समयदेखि नेतृत्व गर्ने मौका पाएको नेविसंघले आफ्नो विरासत जोगाउने दाउमा छ भने एमाले निकट अनेरास्ववियू यो पटक आफ्नो पक्षमा नेतृत्व हत्याउने दाउमा छ ।

विगतको इतिहास हेर्ने हो भने, महेन्द्र बहुमुखी क्याम्पसको स्ववियूको संस्थापक सभापतिका रुपमा २०३८ सालमा धु्रवराज पुरीले नेतृत्व गर्दा २०४३ सालमा नेविसंघ कै किशोर आचार्यको टीम नै विजयी भएको थियो । शुरुवाती चरणबाटै नेविसंघको वर्चश्व रहेको महेन्द्र बहुमुखी क्याम्पसमा २०४५ सालमा बासुदेव पन्तको टीम विजयी भएको थियो । २०४६ सालको जनआन्दोलनका कारण नियमित रुपमा हुँदै आएको स्ववियू निर्वाचन हुन सकेको थिएन । पछि २०४९ सालमा पनि बसन्त देवकोटाको टीम नै विजयी भएको थियो । २०५१ सालमा प्रकाश श्रेष्टको टीम नै विजयी भएको थियो । उहाँ २०५५ को स्ववियू निर्वाचनमा पुनः बहुमत सदस्यका साथ निर्वाचित हुनुभयो । २०५७ मा पनि नेविसंघले नेतृत्वसहित बहुमत सदस्य जितेको थियो ।

नेविसंघबाटै विष्णु लामिछाने निर्वाचित हुनुभएको थियो । त्यसको दुई वर्षपछि भएको स्ववियू निर्वाचनमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको थियो । जसमा नेविसंघकै तर्फबाट बालकष्ण डाँगीले महेन्द्र बहुमुखी क्याम्पसको स्ववियू सभापतिको नेतृत्व गर्ने मौका पाउनुभएको थियो । देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका बेला लगातार स्ववियू निर्वाचन हुन सकेन । करीव ६ वर्षपछि भएको स्ववियू निर्वाचनमा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले क्याम्पस इतिहासमै पहिलो पटक नेतृत्व गर्ने मौका पायो । त्यो बेलामा नेविसंघका पवन यादवलाई हराउँदै प्रविण शर्माले स्ववियू सभापतिको नेतृत्व गर्नुभयो ।

Blog Post Ad

त्यसयता पटक पटक मिति तोकेर पनि निर्वाचन हुन सकेको थिएन । अन्ततः भोलि चैत ५ गते निर्वाचन हुन लागेको छ । यहाँ ५ हजार ५ सय बढी विद्यार्थी रहेको बताईएको छ । स्ववियू निर्वाचन हुन नसकेको अवस्थाले विद्यार्थी आन्दोलन नै कमजोर भएको बताउँदै नेपाली कांग्रेस जिल्ला सभापति डाँगीले नियमित गर्न सकेको भए नयाँ नेतृत्व आउने मात्र नभई शैक्षिक बहस पनि थालिने अवस्था रहने बताउनुभयो । पूर्व स्ववियू सभापति भईसक्नु भएका डाँगीले भन्नुभयो, ‘हिजो विद्यार्थी आन्दोलनकै कारण देशमा ठूला राजनीतिक परिवर्तन भएको छ, अबको विद्यार्थी, शैक्षिक र सामाजिक आन्दोलन युवाहरुलाई आत्मनिर्भर बनाउने बाटोमा लाग्नुपर्ने लाग्नु पर्ने बेला छ ।’

नेकपा एमाले निकट अनेरास्ववियुका निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने पनि आफ्नो संगठन स्ववियु निर्वाचनको लागि तयार रहेको बताउनुभयो । स्ववियू निर्वाचन लामो समयसम्म हुननसक्दा विद्यार्थी अधिकारको भ्रुण हत्या गर्ने काम भएको उहाँको भनाई छ । विद्यार्थीको शैक्षिक हक अधिकारका लागि संगठित रुपमा वकालत गर्ने अधिकार सम्पन्न संगठनको निरन्तरता हुन नसक्दा त्रिविलगायत देशभरका क्याम्पसहरुको शैक्षिक कार्यक्रम र गतिविधि धर्मराएको बेलामा लय दिन स्ववियू निर्वाचनको विकल्प नरहेको उहाँको धारणा छ ।

यद्यपि, अहिले पनि कतिपय क्याम्पसहरुमा अमुक संगठनबाट तालाबन्दी विद्यार्थीहरुको भावना र मर्म विपरितको कदम भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लामो समयसम्म निर्वाचन हुन नसकेर अस्तव्यस्त जस्तै बनेको विद्यार्थी संगठनलाई जीवन दिलाउने बेलामा तालाबन्दी गरिनु स्ववियूको मर्म विपरित छ । मत व्यक्त गर्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार हो । यसकारण लगाईएको ताला निशर्त खोली निर्वाचनको मैदानमा उत्रिन म सबैमा अनुरोध गर्दछु ।’

उहाँले यो या त्यो बहानामा स्ववियुको निर्वाचन रोकिए विद्यार्थी नेता र समग्र आन्दोलनमाथि नै प्रश्न उठ्ने बताउनुभयो । दाङका मुख्य क्याम्पसमा चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका विद्यार्थी संगठनले निजी क्याम्पसमा भने सहमतिमै नेतृत्व चयन गरिरहेका छन् । स्ववियु निर्वाचन हुने २६ क्याम्पसमध्ये १९ वटामा सर्वसम्मत नेतृत्व चयन भएको बताईएको छ । निजी क्याम्पसमा सहमति गरेका विद्यार्थी संगठन सरकारी तथा सामुदायिक क्याम्पसमा भने प्रतिस्पर्धामा उत्रिएका छन् ।

१९ कलेजमध्ये छ वटामा नेविसंघ, पाँच वटामा अनेरास्ववियु, चार वटामा अनेरास्ववियु (क्रान्तिकारी), तीन वटामा अखिल (क्रान्तिकारी) विप्लव र एउटामा राप्रपा निकट विद्यार्थी संघले नेतृत्व पाउने भएको छ । दाङमा नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा (एमाले) अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अखिल एस, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अनेरास्ववियु विद्यार्थी युनियन (छैठौँ), स्वतन्त्र विद्यार्थी समूह, अनेरास्ववियु (क्रान्तिकारी) वैद्य, अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त र स्वतन्त्र प्रगतिशील विद्यार्थी समूह गरी ११ विद्यार्थी संगठन तथा समूहले चुनावी प्रतिस्पर्धा भाग लिएका छन् ।

अहिले सहमति हुन नसकेका ७ वटा क्याम्पसमा निर्वाचन हुन लागेको छ । जसअनुसार, महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती बबई क्याम्पस तुलसीपुर, ऐरावती बहुमुखी क्याम्पस भालुबाङ, देउखुरी बहुमुखी क्याम्पस लमही, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी, जनता संस्कृत विद्यापीठ बिजौरी र नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी रहेका छन् । यी क्याम्पसमा स्ववियू निर्वाचन हुने भएपछि विद्यार्थी नेताहरु प्रचारप्रसारमा व्यस्त छन् ।

Blog Post Ad Blog Post Ad