Ad Area

शिक्षा क्षेत्रको विकासका लागि समयसापेक्ष परिमार्जन आवश्यक: उपकुलपति लामिछाने


घोराही, ४ चैत । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव लामिछानेले शिक्षा क्षेत्रको समग्र विकासका लागि समय सापेक्ष परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।

घोराही १८ स्थित राजविद्या पाठशालाको तेश्रो वार्षिक उत्सव तथा दिक्षान्त समारोहलाई शनिबार सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले सिपमा आधारित तालिम लिएर समयको माग अनुसारको व्यहारिक शिक्षा प्रदान गर्न संस्थागत विद्यालयले गरिरहेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो । ‘समय सापेक्ष विद्यालय र शिक्षकले आफुलाई परिमार्जन गर्दै लैजान सक्नुपर्छ, अहिले सिपमा आधारित तालिम लिएर शिक्षामा जोड दिनेक्रम बढेको छ’ उहाँले भन्नुभयो, ‘समयअनुसार संस्थागत विद्यालयहरु रुपान्तरित हुँदै जाँदा व्यवहारिक शिक्षामा जोड दिने काम गरेका छन्, यो काम निकै सराहनीय छ ।’

उहाँले हिजोको जस्तो कुटेर, धम्क्याएर, डर देखाएर पढाउने अवस्था नरहेको उहाँ बालबालिकाहरुको मनोविज्ञान बुझेर सीपमा आधारित ज्ञान दिन विद्यालयहरु तत्पर हुनुपर्नेमा जोड दिनुभयो । उपकुलपति प्राध्यापक डाक्टर लामिछानेले भन्नुभयो, ‘शिक्षामा गरिएको लगानी फर्किन्छ कि फर्किन्न भन्ने हिजोका दिनमा जस्तो अन्योलता अहिले छैन । छोटो समयमा राजविद्याले गरेको प्रयासमा खोट लगाउने, दोष लगाउने ठाउँ छैन । सीप, कला, क्षमता प्रदर्शन गर्न सक्ने क्षमताको विकास गर्न बालबालिकाहरु सफल भएका छन् भन्ने कुराको पुष्टि गर्ने काम गरेका छन् ।’

विद्यार्थीलाई कुनै ढंगले दवाब दिएर पढाउन सम्भव नभएको हुँदा असल संस्कारसहित उनीहरुको रुचि क्षमता र चाहना अनुसार पेशामा लाग्न प्रेरित गर्न अभिभावक र विद्यालयले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । बालबालिकाको भविष्य बनाउने आधारलाई जिम्मेवार रुपमा बहन गर्न शिक्षक र विद्यालय सुझाव दिनुभयो ।

उहाँले राजविद्या पाठशालाले छोटो समयमै विद्यार्थीहरुमा शिक्षाकोे ज्ञान प्रदान गर्न गरिरहेको प्रयासपनि बालबालिकाहरुको सीप, कला, क्षमताबाट प्रष्ट भएको बताउनुभयो । आगामी दिनमा शैक्षिक विकासका लागि थप योजना बनाउँदै शैक्षिक हबका रुपमा विकास गर्न उहाँको सुझाव थियो ।

कार्यक्रममा प्रेस काउन्सिल सदस्य शरद अधिकारीले शिक्षा क्षेत्रको स्तर सुधारमा संस्थागत विद्यालयको भूमिका अहम् रहेको बताउनुभयो । उहाँले राजविद्याले दिने शिक्षा अरुका लागि सिक्ने थलो बनाउने गरी दीर्घकालीन योजनाका साथ अघि बढ्न अपिल गर्नुभयो । संस्थागत विद्यालयका असल अभ्यास सामुदायिक विद्यालयमा गरिनु शैक्षिक उन्नयनमा योगदान पुग्ने उहाँको विश्वास छ । ‘बालबालिकाहरुको क्षमता अनुसार अगाडि बढाउने वातावरण बनाउन अभिभावक गम्भीर हुनुपर्छ’ उहाँले भन्नुभयो ‘राजविद्याले दिने शिक्षा अरुका लागि सिक्ने थलो बन्न सक्नुपर्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासन, अभिभावक बिमला योगी, नगर प्याब्सन अध्यक्ष बिरेन्द्र चन्दलगायतले बोल्नुभएको थियो । विद्यालयका प्रिन्सिपल टीकाजंग बिकले शैक्षिक कृयाकलापसहित आगामी शैक्षिक कार्यक्रम र योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

यसैबीच, विद्यालयले राजविद्याको गतिविधि र राजविद्याको हाउभाउ सन्दर्भमा तयार पारिएको स्मारिका विमोचन गरेको छ । उक्त, स्मारिका उपकुलपति प्राध्यापक डाक्टर लामिछानेले गर्नुभयो । कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई दिक्षान्त गरिएको थियो भने विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिएको थियो ।

२०७६ सालमा स्थापित राजविद्या पाठशालाले आगामी शैक्षिक सत्रबाट कक्षा ८ पनि संचालन गर्न लागेको जनाएको छ । विद्यालयका मन्टेश्वरी संयोजक शारदा सिजवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक गौरव बिक, विद्यार्थीहरु भविष्का केसी र सामना बस्नेतले गर्नुभएको थियो ।