वन्यजन्तु बस्तीमा पस्न थालेपछि त्रास बढ्दै
घोराही, ७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ५ बसन्तापुरकी गोमा पछाईले मेहनतका साथ पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लगेकी पछाईका ५ वटा ठूला खसी मारिदियो ।
उहाँसँग अहिले पनि २० वटा खसीबाख्रा छन् । घर नजिकै जंगल छ, चराउन सजिलो होला भनेर दुख गरेर पालेको, बेच्ने बेलामा बाघले खाएर मेहनत खेर गएको छ, उहाँले भन्नुभयो, खोर मै आएर खाई देला भन्ने डर हुन थाल्यो ।
सोही ठाउँका अर्का एक जना कृषककोपनि ठूला ठूला ३ वटा खसी असोजको ९ गते सोहीजंगलमा बाघले मारिदियो । उता, फागुनको २ गतेको राति देउखुरीमा चितुवाले १७ वटा बाख्रा एकै रातमा मारिदियो । लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फर्ममा पसेर चितुवाले बाख्रा मारिदिएको फर्म सञ्चालक अधिकारीले जानकारी दिनुभयो । ‘
रातको समयमा बाघले बाख्रालाई आक्रमण गरेछ पत्तै पाइएन, बिहान बाख्रालाई दाना, घाँस दिन गएको बेला मरेको देखेपछि बल्ल थाहा भयो’ उहाँले भन्नुभयो, ‘निकै दुख गरेर पालेको बाख्रा बाघले रातभरमै स्वाहा बनाईदियो ।’ सोही रात लमही नगरपालिका–३ का सुकबहादुर कुमालको खोर पसेर बाघले एउटा खाइदियो । लमही नगरपालिका–३ का लोकमणि बन्जाडेले जंगल चराउन लगेका तीनवटा बाख्रा चितुवाले एकै स्थानमा मारिदिएको थियो ।
लमही नगरपालिका–३ जखेरातालका सुकबहादुर डाँगीका पनि चारवटा बाख्रा चितुवाले मारिदियो । डाँगीले जंगलमा चराउन लगेको बेलामा चितुवाले मारिदिएको हो । पछिल्लो समय सामुदायिक वनमा बाघ र चितुवाको आतंक बढेको छ । बाख्रा चरिचरनका लागि जंगलमा लैजाँदा वा घरमा खोरमा राखिएको बेलामा पनि खोरमा पसेर बाघ र चितुवाले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।
बाघ र चितुवाले बाख्रा मारिदिने, खाई दिने गर्न थालेपछि किसान चिन्तित र त्रसित बनेका हुन् । चितुवाले वस्तुभाउमाथि आक्रमण गरी क्षति पुर्याउन थालेपछि समस्या समाधानका लागि सम्बन्धित निकायमा उनीहरुले ध्यानाकर्षण पनि गराएका छन् । वनजंगलमा बस्ने बाँदर, बँदेल, दुम्सीलगायत वन्यजन्तुले पनि स्थानीयलाई सास्ती दिने गरेका छन् । मेहनतका साथ फलाएका अन्नबाली भित्र्याउने बेलामा बाँदरले क्षति पुर्याएर जिल्लाका बंगलाचुली, राजपुर, दंगीशरण, बबईलगायत ग्रामीण क्षेत्रका किसानले हैरानी भोग्दै आएका छन् ।
‘बाँदरले मकै, धान, गहुँ जे लगाए पनि फल्नै दिँदैन कति पो धपाउनु, अहिले त बाली नै लगाउन नसक्ने अवस्था आएको छ’, राजपुर ७ का मनिराम थापाले भन्नुभयो, ‘बँदेल पनि उस्तै लाग्छ, कति धपाउनु ।’ बाली नष्ट गर्ने मात्रै नभइ वन्यजन्तुको आक्रमणका कारण मान्छेको मृत्युसमेत हुने गरेको छ । दाङमा जंगली जनावर भालुको आक्रमणबाट लमहीका एक जना घाईते हुनुभएको थियो । उसो त जंगली जनावर मार्न थापेको पासोमा परेर दाङमा केहीको मृत्युु भएको छ भने बन्दुक पड्किएर पनि मृत्यु भएको छ ।
बर्दियामा बाघको आक्रमणमा परी ज्यान गुमाउनेको संख्या बढ्दो छ । सोमबार मात्रै बर्दियामा दुई जनाले ज्यान गुमाएका छन् । वन्यजन्तुको आक्रमणबाट हरेक वर्ष मानवीय क्षतिका घटना बढिरहेको तथ्यांकले देखाउँछ । आव २०७४–७५ मा वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७५–७६ मा ३० जनाको मृत्यु भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७६–७७ मा ३३ र आर्थिक वर्ष २०७७–७८ मा ४० जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष २०७८–०७९ मा ५३ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको हालसम्म ३५ जनाको मृत्यु भईसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
उसो त, सन् २०१० देखि सन् २०१४ सम्म मान्छेको द्वन्द्व मुख्य गरी पाँच वटा जनावरसँग भएको एक अध्ययनले देखाएको छ ।
अध्ययनमा मुख्यगरी बाघ, हात्ती, गैंडा, भालु र चितुवासँग मान्छेको द्वन्द्व भएको पाइएको हो । अध्ययनअनुसार वन्यजन्तुले मानव बस्तीमा छिरेर आक्रमण गरेका घटना अपवादमा मात्र छन् । वन्यजन्तुको बासस्थानमा मानवीय गतिविधिकै कारण द्वन्द्व बढेको अध्ययनमा उल्लेख छ ।
वन्यजन्तुमा पनि विशेषगरी हात्ती र बाघको आक्रमणबाट धेरैको मृत्यु भएको तथ्यांकले देखाउँछ ।
प्रायः वन्यजन्तुले आफ्नो भाले वा पोथीसँग समय बिताइरहेको बेला, आहार खाइरहेको बेला, संसर्गको बेला वा बच्चासँग भएको बेला बाधा सिर्जना गरे अथवा जिस्काए आक्रमण गर्ने जोखिम बढी हुने डिभिजन वन कार्यालय लमहीका कार्यक्रम फोकल पर्सन चिरञ्जीवी खनालले बताउनुभयो । ‘मानवीय गतिविधिका कारण जनावरमाथि असर पुगिरहेको छ । त्यहीकारण वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि बढिरहेको छ’, उहाँले भन्नुभयो, ‘कतिपय अवस्थामा आहाराको खोजीमा रहेका बेला ती जनावर मानव बस्तीसम्म आईपुग्छन् ।’
संरक्षित क्षेत्रकै बीचबाट बनाइएका सडक मार्ग र बसाइएका मानव बस्ती वन्यजन्तुका लागि जोखिम भएका छन् । विकास निर्माणका काम वन्यजन्तु मैत्री नहुनु र मानवीय क्रियाकलापलाई एकीकृत रुपमा लैजान नसक्नुको परिणामस्वरुप वन्यजन्तु पनि मारिने क्रम बढेको उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय लमहीका कार्यक्रम फोकल पर्सन खनालका अनुसार, मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्नुको कारण मानवीय गतिविधि हो । ‘मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्नुको एउटै कारण भनेको मान्छेको बासस्थान उनीहरुलाई असर गर्ने गरी जंगल अतिक्रमण गरिनु हो ।
वन्यजन्तुको बासस्थान घटिरहेको छ’, उहाँले भन्नुभयो ‘वन्यजन्तुको बासस्थान र मान्छेको बासस्थान एकआपसमा गाभिए जस्तो हुन जाँदाा एक–अर्कामाथि आक्रमण हुने गरेको छ, जसले गर्दा घरमा पालिएका जनावर पनि उनीहरुको निशानामा पर्ने गरेका छन् ।’ प्रायः वन्यजन्तु र मानिसबीचका द्वन्द्वका घटनामा जनावरमाथि दोष थोपरिन्छ । तर यसका बारेमा दीर्घकालिन समाधानको खोजीतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड छ ।
दाङमा बाघले घरपालुवा जनावर मार्ने क्रम बढ्न थालेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन शुरु भएको छ ।
दाङ जिल्लामा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अध्ययन शुरु गरिएको हो । सरकारीस्तरबाट पाटे बाघको अवस्था पत्ता लगाउन ठूलो लगानीमा अध्ययन शुरु भएको बताईएको छ । दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीय उपभोक्ताहरुले जानकारी दिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन । त्यसैले बाघको अवस्था पत्ता लगाउन अध्ययन थालिएको हो ।
बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थानलगायत अन्य बन्यजन्तुको समेत अवस्था पत्ता लगाउन राजपुर गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको छ । झण्डै दुई सय वटा क्यामरा जडान गरिएको देउखुरी डिभिजन वन कार्यालय लमहीका कार्यक्रम फोकल पर्सन खनालले जानकारी दिनुभयो । ‘यति धेरै क्यामरा जडान गरेर बाघलाई केन्द्रमा राखेर गरिएको अध्ययन पहिलो हुन सक्छ’ उहाँले भन्नुभयो ‘देउखुरी क्षेत्रको वनमा बाघ रहेको कुरा बाख्रा मारिदिने घटनाले पुष्टि गरेको छ अब यसको आधिकारिक पुष्टिका लागि सर्भे थालिएको छ, यसबाट यकिन गर्न सजिलो हुनेछ ।’
पश्चिममा बाँके राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको सहेलवा राष्ट्रिय निकुञ्जमा बाघको सहज आवतजावतले उनीहरुको गतिविधि बढ्न थालेको छ । जसको प्रभाव दाङका दक्षिण चुरे क्षेत्रमा देखा परेको हो । डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीका अनुसार, कृषकले पालेका घरपालुवा जनावरमाथिको आक्रमणले वन्यजन्तुको गतिविधि बढेको स्पष्ट भएको छ । वन्य जन्तु र मानव समुदायबीचको सन्तुलन कायम गर्न तथा वन, वातावरण, जैविक विविधता तथा वन्यजन्तु संरक्षणको लागि नीति निर्माण गर्न सहयोग पुर्याउने लक्ष्यका साथ पछिल्लो समय स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अध्ययन शुरु गरिएको उहाँले बताउनुभयो ।