Ad Area

महाकवि देवकोटाको साहित्यीक योगदानको चर्चा


दाङ,१७ कार्तिक । वरिष्ठ साहित्यकार गिरीराज शर्माले लोक परम्परा र नेपाली साहित्यको सम्बन्ध नङ र मासु सरह रहेको बताएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ति तथा दीपावलीको अवसरमा बुधबार घोराहीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वरिष्ठ साहित्यकार शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान लोक परम्परा र नेपाली साहित्यलाई उजागर गर्न अतुलनीय रहेको बताएका हुन ।

सर्वोदय पुस्तकालय एवं वाचनालयले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा साहित्यकार शर्माले महाकवि देवकोटाका सबै कृति अहिलेको समाज र चरित्र चित्रण गर्दै लोकसाहित्यका क्षेत्रमा लाग्न हौसला प्रदान गर्ने एक बलियो आधार रहेको बताए । पुस्तकालयका संस्थापकसमेत रहेका शर्माले महाकवि देवकोटाले नेपाली साहित्य र लोक जीवनका क्षेत्रमा सताब्दी पुरुषका रुपमा जनजनले मनमनमा राख्न सक्ने गरि योगदान दिएको बताएका थिए ।

संस्थाका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार एवं समालोचक डा अमर गिरीले प्रगतिवादी र लोकजीवनलाई सहज ढंगले उठान गर्न सक्ने बिम्ब महाकवि देवकोटाका सबल पक्ष रहेको बताए । नेपालको साहित्य र जनजीविकामा प्रगतिवादको धारलाई रचनात्मक शैलीमा प्रस्तुत गर्दै सिर्जनामा प्राण भर्न सक्ने क्षमता देवकोटामा मात्रै भेटिनु नेपाली साहित्यका लागि ठूलो सम्पत्ति भएको उनको भनाई थियो ।

कार्यक्रममा साहित्यकार तथा प्राध्यापक केशव सुवेदी देवकोटाको कवित्व र कृतित्वका बारे चर्चा गर्दै प्रकृति प्रदत्त कृतित्व सिर्जनालाई अलंकारमा माध्यमबाट जीवन्त सिर्जना गर्ने काम महाकवि देवकोटाले गरेको बताए । प्राकृत शैलीलाई सौन्दर्य शास्त्रबाट रुपान्तरण गर्न सक्ने, मानवजीवनका प्रतिबिम्बमा भावको सरलता सरस रुपमा उल्लेख हुनु महाकवि देवकोटाका कविताहरुमा अमुल्य निधि भएको प्राध्यापक सुवेदीको भनाई थियो ।

उनले भने,‘‘कवि वा साहित्यकारले कविता लेख्यो, सिर्जना गर्यो भन्ने कुरा ठूलो होईन तर जनताको मनमा जनप्रियतालाई सँगसँगै लिएर अघि बढाउन सक्ने कला साहित्यकारमा हुनुपर्छ त्यो काम देवकोटाको कृतिमा छ ।’

लोक जीवनका अभिव्यक्ति कला, स्वस्फूर्त रुपमा प्राकृतिक रुपमा सामान्य ढंगले जनजीविकाका कुरा बिम्बात्मक अलंकार उठान गर्न सक्नु देवकोटाको विशेषता सर्बमान्य बन्न सकेका बताइन । कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, वरिष्ठकार साहित्यकार तथा प्रलेसका पूर्वअध्यक्ष पद्मप्रसाद शर्माले लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी व्यक्ति भएको बताए ।

Blog Post Ad

‘एक रातमा काव्य सिर्जना गर्न सक्नु देवकोटाको विलक्षण प्रतिभाको उदाहरण हो, उहाँको प्रतिभा र क्षमता सामान्य रुपमा व्याख्या गर्न सक्ने अवस्था छैन’–भने ।

साकुन्तल, मुनामदन खण्डकाव्य महाकवि देवकोटाको सबैभन्दा सफल र लोकप्रिय कृति मानिएपनि अरु थुप्रै कृति साहित्यकार पाठकको रोजाईमा परिरहनु सबल पक्ष रहेको बताएका थिए । उनले क्षमता र दक्षतालाई बुझ्न अप्रकाशित कृतिका बारेमा बृहत् खोज अनुसन्धान हुन जरुरी रहेको स्मरण गराएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा साहित्यकार सुष्मा शर्मा घिमिरे,, पुस्तकालय स्थापनामा योगदान दिनुभएका जनमोर्चाका नेता रश्मिराज नेपाली, जग्गादाताका रुपमा किशोरचन्द्र गौतम, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रलेस दाङका अध्यक्ष भुवन देवकोटा, नागरिक समाज दाङका संयोजक केवी मसाल, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, घोराही खानेपानी तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमणि पाण्डे, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यलगायतले शुभकामना मन्तव्य गरेका थिए ।

वक्ताहरुले महाकवि देवकोटाको साहित्यसँगै शिक्षा, जागरणमा ठूलो योगदान रहेको बताउनुभयो । पुस्तकालयका उपाध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सुशीला आचार्यले गरेकी थिइन । तिहारको लक्ष्मी पूजाका दिन जन्मिएका हुँदा लक्ष्मी प्रसाद देवकोटाको नाम लक्ष्मीप्रसाद राखिएको हो । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारको औंशी जन्मिएका देवकोटाको न्वारानको नाम तीर्थमाधव देवकोटा हो । विसं २०१६ साल भाद्र २९ गतेका दिन देवकोटाको निधन भएको थियो ।

Blog Post Ad Blog Post Ad