Ad Area

१० लाख रुपैयाँसम्मको सहुलियत ऋण लिन घरेलुको साना उद्यमीलाई आग्रह


घोराही १७, कार्तिक । घरेलु तथा साना उद्योग कार्यालय घोराहीका प्रमुख उमबहादुर वलीले लक्षित वर्गका साना उद्यमीहरुका लागि सरकारले ब्याज तिर्न नपर्ने गरी १० लाख रुपैयाँसम्मको सहुलियत ऋण प्रदान गरिरहेकाले यसको लाभ लिन अपिल गरेका छन् ।

मुक्तकमलरी विकास मञ्चले आयोजना गरेको ८ दिने व्यावसायिक शुरुवात तथा सुधार र उद्यमशीलता विकाससम्बन्धि तालिमको समापनका अवसरमा बुधबार साना उद्यमीहरुको व्यवसाय स्तरउन्नति गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सहुलियतसहितको ऋण प्रदान गरिरहेको उनले जानकारी गराए ।

साना उद्यमीहरु खासगरी कृषि, प्लम्बिङ, होटल व्यवसाय, सिलाईकटाई जस्ता स्वावलम्बी पेशामा आवद्ध हुने हुँदा आर्थिक लगानी अभावमा भने जस्तो काम गर्न नपाएकाहरुलाई यस प्रकारको सहयोगले ठूलो राहत मिल्ने बताए । सरकारले गरिबी निवारणका लागि समाज समृद्धिमा जानुपर्छ भनेरै यस प्रकारको कार्यक्रम ल्याएको उनको धारणा थियो । ‘बढीमा १० लाख रुपैया सहुलियतको ऋण ३ वर्षमा भुक्तानी गर्ने गरी सेवा दिने काम भईरहेको छ, मुलधन व्यवसायीले तिर्नुपर्ने छ तर व्याज घरेलु कार्यलयले व्यवस्थापन गर्छ, काम गर्न चाहनेहरुका लागि यो निकै ठूलो अवसर हो,’ उनले भने ।

व्यवसाय गरिरहेका साना उद्यमीहरुलाई सहुलियतको ऋण लिन धितो राख्नुपर्ने हुँदा स्थानीय सरकारले यसका सहजीकरण गर्ने प्रमुख वलीले बताए । नेपाल बैंक लिमिटेडबाट सेवा लिन सक्ने हुँदा यस प्रकारको सेवा सुविधा लिन चाहने साना उद्यमीहरुलाई राज्यका तर्फबाट कुनै रोकतोक नभएको जानकारी गराए । यस्तै, उद्यमशीलता विकासका बारेमा जानकारी लिँदै सिकेको ज्ञानलाई आत्मबलका रुपमा लिएर भोलिका दिनका कार्यान्वयन गरेर सफलता हासिल गर्न तालिममा सहभागीहरुलाई अपिल गरे । उनले सिकेको सीपलाई विभिन्न आयमूलक व्यवसायमा जोड्ने काम गर्न आग्रह गर्दै व्यवसाय संचालन गर्दा कानूनी प्रकृया र प्रावधानमा रही संचालन गर्न सचेत गराउनुभयो । सिकेको सीपलाई व्यावसायिक बनाउन भोलिका दिनमा क्षमता विकासका तालिम आवश्यक पर्नेहुँदा स्थानीय सरकार, घरेलु कार्यालयले पनि सहयोग हुँदै आएकोमा निरन्तरता पाउने बताए ।

मुक्त कमलरी विकास मञ्चका कानूनी सल्लाहकार फकला थारुले साना उद्योगी व्यवसायीको लगानी डुब्न नदिन उनीहरुको सीप क्षमताको विकासका लागि यस प्रकारका तालिम निकै लाभदायक भएको बताए । तालिममा सिकेको सीप, ज्ञानलाई अब व्यहारमा लागू गर्न उनको सुझाव थियो । विभिन्न कारणले पछाडि परेका वा पारिएकाहरुको उत्थानका लागि यस प्रकारको तालिमले निकै टेवा पुग्ने आफुले विश्वास लिएको बताए ।

मञ्चकी कार्यवाहक अध्यक्ष विष्णु चौधरीको अध्यक्षता एवं घरेलु तथा साना उद्योग कार्यालय घोराहीका प्रमुख उमबहादुर वलीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । सो अवसरमा उद्यमशीलता विकास सम्बन्धि तालिममा सहभागी घोराही २ सुर्केडाँगीकी सुनिता पुनले तरकारी खेती गरिरहेको अब बंगुर पालन गर्ने सोँच बनाएको बताईन् । उनले योजना र काम गर्ने बारेमा जानकारी पाएको बताउँदै अब प्राविधिक विषयमा पनि तालिम भए अझ रामो हुने बताईन् ।

Blog Post Ad

यस्तै, घोराही ४ सुनपुरकी दशनी चौधरीले बंगुर पाल्ने योजना योजना बनाएकी छिन् । घोराही ४ डाँडागाउँकी बसन्ता नेपालीले सिलाई कटाई पेशा गर्दै आएकी छिन् । अब यो पेशालाई थप बिस्तार गर्ने योजना बनाउन सकेको बताईन् । घोराही ४ गोग्लीकी बजारी चौधरीले किराना पसल भर्खर शुरु गरेको बताईन् । अब व्यापारको कारोबार बढाउन सक्ने योजना बनाउने बताईन् । घोराही ८ सौँरीकी चम्फा बिकले केही समयअघि मञ्चले नै उपलब्ध गराएको ३ वटा बंगुर पाल्न थाल्नुभएको छ । त्यही बंगुरपालनलाई व्यावसायिक रुपकै विकास गरेर लगानी बढाउने बताईन् ।

व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिला तथा पुरुषहरुको पहिचान गरी आयोजना गरिएको व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिममा सहभागीहरुले निकै हौसला मिलेको बताएका छन् । मुक्तकमलरी विकास मञ्चको आयोजना तथा आईएम नेपालको आर्थिक सहयोगमा २३ जनालाई ८ दिने तालिम प्रदान गरिएको छ । मञ्चले घोराही २, ४, ८, १० र १५ बाट सहभागी २३ जनालाई सो तालिम दिएको जनाएको छ । मुक्त कमलरी तथा लक्षित वर्गको उत्थानका लागि मुक्तकमलरी विकास मञ्चले क्षमता विकास र आत्मनिर्भरका कार्यक्रममा पैरवी गर्दै आएको छ ।

समापनका अवसरमा तालिममा सहभागी जग्गु चौधरी र आशा बढामगर तालिममा सिकेको कुरा र आगामी योजनाका बारेमा अनुभव सुनाएका थिए । तालिमको प्रशिक्षकमा भीमबहादुर बस्नेत, राजेन्द्रकुमार रायमझी र ताराबहादुर भण्डारी थिए । समापन सत्रको सहजीकरण प्रबन्धक माधवराज चौधरीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad