Ad Area

सामी कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न


घोराही, ८ चैत । सुरक्षित आप्रवासन सामी कार्यक्रमको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बुधबार घोराहीमा अर्धवार्षिक समिक्षा गोष्ठी भएको हो ।

अर्ध वार्षिक समिक्षाका बारेमा प्रगति विवरण प्रस्तुत गर्दै सामी कार्यक्रम संयोजक बसन्ता पुनले जिल्लाका १० वटै स्थानीय तहहरुसँग समन्वय गरेर आप्रवासी कामदार हकहित सञ्जाल गठन भएको, कानुनी सहजीकरणको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, न्यायिक समिति, महिला सेल, ओरेकसँग आदि निकायसँग समन्वय हुने गरेको बताउनुभयो ।

यसैगरी, सम्वन्धित स्थानीय तहहरुवाट प्रकृया भई थुप्रैलाई आर्थिक सहायता प्राप्त भएको, स्थानीय तहहरुले आन्तरिक स्रोतवाट रकम विनियोजन गरी वैदेशिक रोजगार सम्बन्धि थप कार्यक्रम सञ्चालन भएको हुँदा वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउँदै लगेको प्रगति सुनाउनुभयो ।

जिल्लाका चार स्थानीय तहहरु घोराही, तुलसीपुर, बबई र लमहीमा सुचनामा पहुँच पुर्याउन आप्रवासी श्रोत केन्द्र र उपकेन्द्रबाट सुचना तथा परामर्शको काम गर्दै आएको हुँदा न्यायमा पहुँच, स्वदेश फिर्ताको सहजीकरण, मनोसामाजिक परामर्श, सेवाको सहजीकरण, वित्तीय साक्षरता कक्षा संचालन, बोर्डको सचिवालयबाट प्राप्त हुने आर्थिक सहायता र शैक्षिक छात्रवृत्तिको लागि सहजीकरण हुने गरेको जानकारी गराउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षको बितेको ६ महिनामा १४ हजार ५ सय ६ जनाले आप्रवासी श्रोत केन्द्र तथा उपकेन्द्रबाट सूचना तथा परामर्श सेवा लिएका छन् । ६ महिनाको अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न शीर्षकमा समस्यामा परेका १ सय ७० वटा समस्याहरुमा ६२ वटा समाधान गरिएको छ ।

गोष्ठीमा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाभर वैदेशिक रोजगारसँग सम्बन्धि समस्या हुने भएकाले सबै पालिकासँग समान समन्वय गर्न आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले वैदेशिक रोजगारमा जानुभन्दा अगाडिको काम, त्यहाँ समस्यामा परेकाहरुको राहत र उद्धारका हुँदै आएको प्रभावकारी कामलाई अझ विश्वसनीय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

Blog Post Ad

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले वैदेशिक रोजगारको नाममा ठगिएका उजुरी दैनिक रुपमा आउने गरेको बताउनुभयो । वैदेशिक रोजगारीका लागि विचौलियालाई रकम बुझाएर पछि अप्ठ्यारोमा परेपछि प्रहरी कहाँ उजुरी आएपनि पछि विषय परिवर्तन हुँदा अनुसन्धानमा समस्या हुने गरेको बताउनुभयो ।

कानुनी रुपमा मुद्दा मामिला गर्दा झन्झटिलो र खर्चिलो हुने भएपछि प्रहरीमा आकर्षित हुने मुद्दा दर्ता गराउन आउनेको संख्या बढ्दो रहेको उहाँको भनाई थियो । समाजमा बढ्दो समस्याको सुक्ष्म रुपले अध्ययन गर्न जरुरी रहेको औँल्याउँदै कानुन अनुसार निदान गर्न सके राम्रो हुने भएकाले यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले सबैमा सुचनाको पहुँच पुर्याउनुपर्ने अवस्थालाई ध्यानमा राखेर काम भईरहेको हुँदा आगामी दिनमा यसको प्रभावकारीता अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका सामी फोकल पर्सन बाबुराम न्यौपानेले सेवा प्रवाह थप प्रभावकारी बनाउन आफुहरु प्रयासरत रहेको बताउनुभयो । तल्लो तहसम्म सुचनाको सहज पहुँच पुर्याउन सकेमा वैदेशिक रोजगारीमा देखा परेका धेरै समस्या समाधान हुने उहाँको धारणा थियो ।
प्रशासन शाखा प्रमुख बासुदेव आचार्यको स्वागत मन्तव्यबाट शुरु गरिएको समिक्षा गोष्ठीको सहजीकरण वैदेशिक रोजगार बोर्ड दाङ जिल्ला कार्यक्रम अधिकृत विष्णु अर्यालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad