Ad Area

वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा प्रभावकारी बन्दै


घोराही, १२ चैत । वैदेशिक रोजगारीमा गएका परिवारका सदस्य तथा विदेश जान थालेकाहरुको परिवारलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । घोराही उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र वैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा साथै मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो । सामी कार्यक्रमले घोराहीको वडा नम्बर १, ३, ४ र १० मा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा संचालन गरिरहेको छ ।

घोराही ४ सुनपुरमा संचालित वित्तीय साक्षरता कक्षामा सहभागी भिमा खनालका श्रीमान मलेसिया जानुभएको छ । उहाँले अहिले वित्तीय साक्षरता कक्षा तथा मनोसामाजिक परामर्श लिएपछि वैदेशिक रोजगारीको अवस्थाका बारेमा धेरै कुरा सिक्ने मौका पाएको बताउनुभयो ।
उहाँले यसअघि श्रीमानले पठाएको पैसा खर्च गरिसकेपछि मात्रै वचत गर्ने गर्नुभएको थियो । अब उहाँले अनिवार्य रुपमा वचत गरेर बचेको पैसा मात्रै आवश्यक ठाउँमा खर्च गर्ने योजना बनाउनुभएको छ ।

सोही ठाउँकी मिना बिकका श्रीमान बहराइन गएको चार वर्ष हुन लाग्यो । २० हप्ताको कक्षा लिईसकेपछि उहाँले अब आफुले पनि आयआर्जनका लागि उद्यम गर्नुपर्छ भन्ने कुरा सिक्नुभएको छ । व्यावसायिक योजना बनाएर काम गर्ने अठोट उहाँमा आएको छ ।
तालिममा २४ जना सहभागी भएका छन् । वैदेशिक रोजगारमा संलग्न भएकाहरुको परिवारका सदस्यहरुलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन हुने गरेको सामी कार्यक्रम संयोजक बसन्ता पुनले जानकारी दिनुभयो ।

‘वैदेशिक रोजगारीबाट आएको पैसालाई कसरी सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरी भविष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो ‘वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भविष्यबारे सचेत गराउने, महिलामाथि हुने विभिन्न खाल का लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका विषय समेटिएको कक्षा सञ्चालन गरिएको छ ।’

Blog Post Ad

तालिममा सहभागी भएकाहरुको मनोविज्ञान फेरिएको छ । सकारात्मक सोँचको विकास गरेका छन् । कतिपयले आफूले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन् । गाउँघरमा विदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको विकास भएको छ । श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बस्नुभएकाहरु सानातिना व्यवसायमा लगानी गर्न थालेका अनुभव सुनाउनुभयो ।

प्रशिक्षार्थीहरुले हुन्डीमा कारोबार नगर्ने, सीप सिकेर मात्रै वैदेशिक राजगारीमा जानुपर्ने, विदेश जाँदा कागजात र कानुनी पक्षका बारेमा स्पष्ट हुनुपर्ने, फजुल खर्च कम गरेर आयआर्जनका काम गर्ने बारेमा शिक्षा लिएको हुँदा अबका दिनमा विदेशको कमाईको मात्रै भर नपरेर केही आय आर्जनको काम गर्नुपर्ने व्यावसायिक योजना बनाउने खनालले बताउनुभयो ।

पालिकामा सामी कार्यक्रममार्फत संचालित कक्षामा प्रशिक्षकका रुपमा वित्तीय साक्षरता सहजकर्ता रमा शर्मा र मनोसामाजिक परामर्श सुशीला आचार्य रहनुभएको छ । आईतबार सुनपुरमा अनुगमनमा पुग्नुभएकी उपप्रमुख हुमा डिसीले आयआर्जनमा जोडिन सिकेको सीप र ज्ञानलाई उपयोग गर्न अपिल गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विदेशबाट पठाएको पैसाले घर खर्च चलाउने मात्रै नभई त्यसको बहुउपयोगको योजना बनाउन तर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।

विदेशमा देखिने कुरा र वास्तविकता फरक हुने बताउँदै उहाँले रगत पसिना बगाएर परिवारको सुखको लागि कमाएको पैसाको सही उपयोग गर्न र त्यसबाट अधिकतम फाईदा कसरी लिन सकिन्छ भन्ने बारेमा वित्तीय साक्षरता कक्षाबाट सिकेको ज्ञानलाई भरपूर उपयोगमा लाग्न सुझाव दिनुभयो ।

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यका साथ संचालित सामी कार्यक्रम जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा आप्रवासी श्रोत केन्द्र स्थापना गरी संचालनमा रहेको छ । अन्य पालिकाहरुबाट वैदेशिक रोजगारमा गएका तथा जान चाहेकाहरुले यिनै श्रोत केन्द्र तथा उपकेन्द्रहरुबाट सेवा तथा परामर्श लिने गरेका छन् ।

जसबाट सामीले सामी कार्यक्रमले जिल्लाका चार स्थानीय तहमा सुचनामा पहुँच पुर्याउन आप्रवासी श्रोत केन्द्र र उपकेन्द्रबाट सुचना तथा परामर्शको काम गर्दै आएको हुँदा न्यायमा पहुँच, स्वदेश फिर्ताको सहजीकरण, मनोसामाजिक परामर्श, सेवाको सहजीकरण, वित्तीय साक्षरता कक्षा संचालन, बोर्डको सचिवालयबाट प्राप्त हुने आर्थिक सहायता र शैक्षिक छात्रवृत्तिको लागि सहजीकरण गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad