Ad Area

दुर्व्यसन रोक्न अभिभावकलाई प्रशिक्षण


घोराही, १३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मिलन चौतारी टोलकी छमा बिष्ट महताराले आफ्नै समुदायमा लागुपदार्थको दुर्व्यसनमा फस्ने युवाहरु देख्दा निकै चिन्ता बढेको छ । उहाँका साना छोराछोरी अहिले विद्यालयबाट फर्किदा कतै गलत संगतमा लागेर कुलतमा फस्ने हुन की भन्नेमा चिन्ता बढेको छ । पछिल्लो समय कुलतमा फसेर जीवन बर्बाद गर्नेहरुको समाचार सुन्दा उहाँलाई आफ्ना छोराछोरी कतै यही बाटोमा पर्ने हुन् की भन्ने पिरलो लाग्ने गरेको छ ।

सोही वडाको लेटारमा रहेको  प्रेरित टोलकी मिरा चौधरी  पनि आफ्नो टोलमा केही बालबालिकाहरु कुलतमा फसेको देख्दा उहाँ पनि झस्किने गर्नुभएको छ । नानातिना कतै उनीहरु जस्तै गलत बाटोमा लाग्ने हुन् की भन्ने पिरलो छ ।

नवजीवन ज्योति टोल खिरिट्टेका धनराज भण्डारीलाई बालबालिकाहरुमा बढ्दो कुलतले भोलिको समाज नै सही बाटोमा नरहने होकी भन्ने चिन्ता बढेको छ  । आफु राम्रो हुँदाहुँदै पनि विभिन्न प्रलोभनमा पारेर अन्जानवश कुलतमा बालबालिका फस्ने हुन् की भन्नेमा सँधै सचेत रहेको उहाँको भनाई छ ।

समाजमा बढ्दो लागु पदार्थ दुर्व्यसन  नियन्त्रण गर्न तथा सभ्य समाज निर्माणका लागि समाज कल्याण केन्द्र नेपालले आईतबार घोराही १६ स्थित राप्ती इन्जिनियरिङ कलेजमा आयोजना गरेको लागू पदार्थ दुर्व्यसन सम्बन्धि अभिभावक प्रशिक्षण कार्यक्रम नयाँ पाइला पुनस्थापना केन्द्रसँगको संयोजनमा गरेको हो । सो कार्यक्रममा सहभागी अभिभावकहरुले निकै चासोका साथ लागुपदार्थ दुर्व्यसनले पारेको असर, रोकथामका उपायलगायत बारेमा जानकारी लिने अवसर पाउनुभयो  ।

समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नार्कोनन् लुम्बिनी प्रदेशका वसन्त पुनले लागु औषध, यसका प्रकार, यसले पार्ने असर र बच्नका लागि अपनाउनुपर्ने विधिका बारेमा प्रशिक्षण दिनुभएको थियो । मनोपरामर्शदाता शैलेश शर्माले लागुपदार्थको कुलतमा फस्दा हुने विभिन्न खालमा जोखिमले निम्त्याउने असरका बारेमा सचेतना प्रदान गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले जिल्लामा लागू औषधको अवस्था, यसले समाजमा पारेको असर तथा कानूनी उपचारका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

Blog Post Ad

सो अवसरमा  नयाँ पाइलाका  कार्यकारी प्रमुख सुरेश भुसाल, केन्द्रकी सल्लाहकार सुष्मा गिरी, राप्ती इन्जिनियरिङका कलेजका प्रमुख डा. भीमसेन गिरी, घोराही कारागारका जेलर लक्ष्मण सिंह राठोर, वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डिसीलगायतले बोल्नुभएको थियो ।

उहाँहरुले लागू पदार्थ दुर्व्यसनमा जोडिनेहरु हाम्रै समाजका पात्र रहेकाले गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो  । पछिल्लो समय समाजमा लागुपदार्थको दुर्व्यसनीको अवस्था डरलाग्दो अवस्था मात्रै नभई आत्महत्यासम्मको बाटोमा पुगेको प्रति चिन्ता व्यक्त गर्नुभयो  । यसका लागि  व्यक्ति, समाज, सरोकार निकाय सबैको सामुहिक प्रयासबाट मात्रै सम्भव हुनेमा जोड दिनुभयो । उपाध्यक्ष निरजा पोख्रेलको स्वागत  मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जानका केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad