Ad Area

शैक्षिक सुधारका लागि सशक्त रुपमा उभिने छौँ : स्ववियु सभापति डिसी [अन्तर्वार्ता]


१४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएको छ । क्याम्पसमा विद्यार्थीहरुको हकहितको पक्षमा आवाज उठाउने विद्यार्थीहरुको साझा संगठनका रुपमा रहेको स्ववियु नहुँदा विद्यार्थीका अनेक समस्या झेल्नुपरेको थियो । त्यसको उदाहरण दाङको घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पस पनि एक हो ।

स्ववियु नहुँदा विद्यार्थीहरुले आफ्नो तरिकाले आवाज राख्नुपर्ने, विद्यालयमा समयमा पठनपाठन नहुने, प्रध्यापक समयममा नियमित उपस्थित नहुने, सरसफाई नहुनेलगायतका समस्या खेप्नुप¥यो । यी समस्याहरुलाई निर्वाचनका क्रममा विद्यार्थी संगठनहरुले एजेण्डाका रुपमा समेत उठाएका छन् । यसै सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापतिमा मनोज डिसीसँग पत्रकार लिलाधर वलीले गरेको कुराकानीको सार संक्षेप ।

 लामो समय रिक्त रहेको स्ववियुको नेतृत्वमा आउनुभएको छ । स्ववियु सभापतिमा निर्वाचित भएपछि पदभार पनि सम्हालिसक्नुभएको छ, अब कसरी अघि बढ्ने योजनामा हुनुहुन्छ ?

 गत चैत ८ गते भएको स्ववियु निर्वाचनमा हामीले विजयी हासिल ग¥यौँ । निर्वाचनपछि समानुपातिक उम्मेदवार छनोटलगायतका सम्पूर्ण प्रक्रियाहरू मिलाउँदा भर्खरै शपथ ग्रहणसँगै जिम्मेवारी सम्हालेका छौँ ।

लामो समयपछि क्याम्पसमा स्ववियुको निर्वाचन भएकाले क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको भवन निर्माण गर्नुपर्नेलगायत शैक्षिक तथा भौतिक सुधारका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । जुन कामहरू हामीले निर्वाचनका क्रममा एजेण्डाका रूपमा विद्यार्थीमाझ पनि राखेका थियौँ । ती मागहरूलाई क्याम्पस प्रशासनसँग समन्वय गरेर प्राथमिकताका आधारमा सुधार गर्नतर्फ हाम्रो ध्यान रहनेछ ।

 तपाईँले विद्यार्थीहरूका नजरबाट हेर्दा क्याम्पसमा अहिले के–के समस्या रहेको देख्नुहुन्छ ?

 एउटा प्रक्रियाबाट म स्ववियुको सभापतिमा निर्वाचित भए पनि महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत म पनि एक विद्यार्थी हुँ । क्याम्पसमा नियमित पढाइ नहुने, कहिले प्राध्यापकहरू उपस्थित नभइदिने, पढ्नका लागि व्यवस्थित पुस्तकालयसँगै ई–लाइबे्ररीको व्यवस्था छैन । आफ्नै चमेनागृहको व्यवस्था छैन ।

साथै लामो समय पढाइका क्रममा विद्यार्थीलाई खानेपानीको उचित व्यवस्था छैन । शौचालयको पनि समस्या रहेको छ । यी समस्यासँगै क्याम्पसलाई हेर्दा पनि आकर्षक बनाउने भन्ने हो तर अहिले नियमित सरसफाई समेत हुन सकिरहेको छैन । यी समस्यालाई तत्कालका लागि हामीले सुधार गर्ने योजनामा छौँ ।

बाँकी शैक्षिक गुणस्तर तथा भौतिक संरचनाको पनि अभाव रहेका छन् । ती समस्यालाई समाधानका लागि पहल गर्ने हाम्रो योजना रहेको छ ।

 यस क्षेत्रकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको एक मात्र आंगीक क्याम्पसका रूपमा रहेको महेन्द्र बहुमुखी क्याम्पसको शैक्षिक सुुधारका लागि के–के गर्न आवश्यक देख्नुहुन्छ ?

 महेन्द्र बहुमुखी क्याम्पस दाङको मात्र नभएर साविक राप्ती अञ्चलकै प्रमुख र धेरै विद्यार्थीले अध्ययन गर्ने शैक्षिक थलो हो । यसै क्याम्पसबाट अध्ययन गरेका धेरै विद्यार्थी देशका लागि योगदान गर्ने नेता तथा कर्मचारी बनिसक्नुभएको छ तर क्याम्पसको अवस्था भने कमजोर छ । आर्थिक रूपमा कमजोर विद्यार्थीहरूले अध्ययन गर्ने क्याम्पसका रूपमा समेत अहिले चिन्ने गरिन्छ तर विद्यार्थीले भनेजसरी अध्ययन गर्न समेत पाउनुभएको छैन ।

राजनीतिका नाममा बन्द, हड्ताल हुने गर्दछ । हामीले विद्यालय शान्ति क्षेत्र भएकाले पूर्णरूपमा बन्द तथा हडतालमुक्त क्याम्पस बनाउने सोचमा छौँ । क्याम्पसमा पूर्णरूपमा शैक्षिक बातावरण निर्माण गर्न आवश्यक छ । त्यसका साथै शैक्षिक सुधारका लागि समयमा आन्तरिक परीक्षा सञ्चालनको व्यवस्था गर्नेछौँ ।

पुस्तकालयमा पर्याप्त पुस्कतको व्यवस्था गर्ने, ई–लाइब्रेरीको उचित व्यवस्थापन गर्दै नयाँ संस्करणका पाठ्यपुस्तकहरू पर्याप्त मात्रामा व्यवस्थापन गर्ने, पर्याप्त पानी र व्यवस्थित शौचालयको व्यवस्था, क्याम्पसमा सिसी–क्यामेरा जडान, एक वर्षमा कम्तिमा ६ वटासम्म अतिरिक्त क्रियाकलाप, पर्याप्त मात्रामा इनडोर तथा आउटडोर खेलकुदका सामग्री र स्थानको व्यवस्था, जीर्ण रहेको भवनहरूको पुनःनिर्माणको अभियान चलाउन आवश्यक छ ।

यसैगरी अनुसन्धानात्मक शिक्षालाई जोड दिँदै प्रविधिमैत्री पठनपाठन, छात्रवृत्तिलाई समयानुकूल गरी वैज्ञानिक र व्यावहारिक मापदण्ड बनाइ पारदर्शी ढङ्गले वितरण, जिल्ला बाहिरबाट अध्ययन गर्न आउने विद्यार्थीलाई डेरालगायत सबैखाले समस्या समाधानका लागि उपसमिति निर्माण गरी पहल गर्न आवश्यक छ भने छात्रावासको पनि आवश्यक छ ।

 क्याम्पसमा पढाइ भन्दा राजनीति बढी हुने तर विद्यार्थीलाई पाठ्यपुस्तकसँगै पढाउने प्राध्यापक उपलब्ध नहुने समस्या बढी मात्रामा उठ्ने गरेको पाइन्छ, यसलाई कसरी समाधान गर्नुहुन्छ नि ?

 क्याम्पसमा विद्यार्थीको हकहितका लागि बोल्ने र आवाज उठाउने निकाय भनेको स्ववियु हो तर महेन्द्र क्याम्पसकै कुरा गर्ने हो भने २०६५÷०६६ सालयता निर्वाचन नै हुन सकेन । जसले गर्दा विद्याथीले क्याम्पसमा भोग्नुपरेका समस्या विद्यार्थी संगठनहरूले उठाउनुपर्ने अवस्था आयो, त्यो पनि कहिले कुन संगठनबाट कहिले कुनबाट ।

त्यसरी आपूmले भनेको नहुँदा ताला लगाउने अवस्था पनि भयो । जसले गर्दा विद्यार्थीलाई क्याम्पसमा पढाइभन्दा राजनीति बढी भएको महसुस हुन पुगेको हुनसक्छ । अब यी समस्याहरू न्यूनीकरण हुनेछन् । क्याम्पसमा पढाउने प्राध्यापक बाहिर पढाउने भएकाले हाम्रो क्याम्पसमा नियमित पढाइ नहुने समस्या रहेको छ ।

यो समस्यालाई समाधान गर्दै टाढा–टाढाबाट अध्ययनका लागि बिहानै क्याम्पस आउने विद्यार्थीलाई नियमित रूपमा पठनपाठनको व्यवस्था हामी मिलाउने छौँ । हाम्रो अबको ध्यान त्यही हुनेछ । त्यसका लागि क्याम्पस प्रशासन, प्राध्यापकसँगै सबै विद्यार्थी संगसंगठनसँग मिलेर विद्यार्थीलाई पठनपाठनको सवालमा कुनै पनि समस्या नआउने वातावरण हामीले मिलाउन ध्यान दिने छौँ । आगामी दुई वर्षको अवधिमा विद्यार्थीका लागि हामीले महेन्द्र क्याम्पसमा गुणस्तरीय र प्रविधियुक्त शिक्षा सर्वशुलभव रूपमा अध्ययन गर्ने व्यवस्था मिलाउने छौँ ।

 निर्वाचनका क्रममा धेरै शैक्षिक मुद्दाहरू उठाउनुभएको थियो । दुई वर्षको अवधिमा तपाईँले उठाएका ती मुद्दा पूरा गर्न के भूमिका रहन्छ ?

 लामो समयपछि क्याम्पसमा स्ववियुको निर्वाचन भएकाले धेरै काम गर्नुपर्ने हाम्रा सामु चुनौती रहेका छन् । तर दुई वर्षको अवधिमा हामीले यी कामहरू गर्नुपर्ने छ । हेर्दा यो छोटो अवधि हो तर इच्छाशक्ति भए धेरै काम गर्न सकिन्छ भन्ने लागेको छ । क्याम्पसमा शैक्षिक वातावरणका लागि हामीले पहल गर्ने हो, क्याम्पस प्रशासनलाई झकझक्याउने हो ।

यसका लागि म एक्लैले पनि गर्ने होइन । हाम्रो स्ववियुको टिम छ । त्यो टिमले निर्वाचनका क्रममा हामीले उठाएका मुद्दाहरू प्राथमिकताका आधारमा तत्काल गर्न सकिने र समय लाग्ने छुट्याएर काम गर्ने छौँ । त्यसका लागि सबैको सहयोग र समन्वय आवश्यक रहन्छ । काम गर्न दुई वर्षको अवधि पनि पर्याप्त हो भन्ने मलाई लाग्छ ।

 सबैभन्दा पुरानो र धेरै विद्यार्थीले अध्ययन गर्ने महेनद्र क्याम्पस भए पनि शैक्षिक गुणस्तरका हिसाबले निजी क्याम्पसभन्दा कमजोर भन्ने गरिन्छ, यो समस्याको अन्त्यका लागि के गर्न सकिन्छ ?

 हाम्रा लागि सामान्य लाग्ने तर महत्वपूर्ण विषय यही हो । महेन्द्र बहुमुखी क्याम्पसलाई लाग्ने आरोप पनि हो, यो । यसलाई चिर्न आवश्यक छ । महेन्द्र क्याम्पसमै पढाउने प्राध्यापकले बाहिर नाम चलेकै क्याम्पसमा पढाउनुहुन्छ । उहाँहरूले बाहिर पढाउँदा राम्रो र महेन्द्रमा पढाउँदा नराम्रो भन्ने त पक्कै होइन होला ।

महेन्द्र बहुमुखी क्याम्पसै पढेका धेरै विद्यार्थी सफल विद्यार्थीका रूपमा रहनुभएको छ तर यति भन्दाभन्दै पनि केही समस्याहरू छन् । विद्यार्थीहरूको नतिजा कमजोर हुने गरेको छ । यो सुधार गर्न आवश्यक छ । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुपर्छ । सरकारी क्याम्पसलाई अब्बल क्याम्पसका रूपमा अघि बढाउनमा हाम्रो ध्यान जानेछ ।

 राप्ती क्षेत्रकै विद्यार्थीले अध्ययन गर्ने क्याम्पसका रूपमा रहेको महेन्द्र क्याम्पसमा पठनपाठनसँगै ई–लाइब्रेरीको व्यवस्था नभएको, आफ्नै चमेनागृह पनि नभएको र शौचालयपनि सफा र व्यवस्थित हुन नसकेको गुनासो सुनिन्छ, यसका लागि के गर्नुपर्ला ?

 तपाईले भनेका समस्या छन् । त्यही भएरै हामीले पनि यी समस्या निर्वाचनका क्रममा विद्यार्थी माझ उठाएका छौँ । अहिले पनि पुरानो पुस्तकालय छ । ई–लाइब्रेरीको व्यवस्था छैन । ठुलो र सबैभन्दा धेरै विद्यार्थीले अध्ययन गर्ने क्याम्पस भनिए पनि आफ्नै चमेनागृह छैन । जसले गर्दा विद्यार्थीले पढ्नका लागि समयमै पुस्तक पाउँदैनन् ।

ई–लाइबे्ररीको व्यवस्था गर्नसके पाठ्यपुस्तकको धेरै हदसम्म समस्या समाधान गर्न सक्ने थियौँ । त्यसतर्फ हामीले ध्यान दिनेछौँ । यसैगरी चेमनागृह नहुँदा विद्यार्थीहरू बाहिर खाजा खान जानुपर्ने बाध्यता छ । बाहिर जाँदा महँगो पर्ने गरेको विद्यार्थीबाट गुनासो समेत आउने गरेको छ । छिट्टै नै क्याम्पसको आफ्नै चमेनागृह सञ्चालन गर्ने व्यवस्था मिलाउने छौँ ।

 स्ववियुमा सभापतिसहित बहुमुत सदस्य नेविसंघकै छ । समानुपातिक प्रतिनिधित्वका हिसाबले अन्य संघसंगठनहरूको पनि प्रतिनिधित्व रहन पुगेको छ । सबैलाई कसरी मिलाएर अघि बढ्नुहुन्छ ?

 स्ववियुमा सबै संगठनको प्रतिनिधित्व भए पनि बहुमतको हिसाबले नेविसंघकै वर्चस्व छ । प्रत्यक्षतर्फ एक जना सदस्य बाहेक सबै नेपाल विद्यार्थी संघकै साथीहरू विजयी भएका छौँ । समानुपातिक प्रतिनिधित्वका हिसाबले नेविसंघसँगै चारवटा संगठनको स्ववियुमा प्रतिनिधित्व रहेको छ । स्ववियु भनेको क्याम्पसमा अध्ययनरत विद्यार्थीको समस्या उठाउने साझा संगठन हो । त्यस हिसाबले पनि सबैसँग सहकार्य र समन्वय गरेर नै अघि बढ्ने छौँ । बहुमतको नाममा कसैलाई बेवास्ता र पछ्याउने काम गर्ने छैनौँ ।

 अन्त्यमा के भन्नुहुन्छ ?

 भर्खरै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनपछि मलगायतका साथीहरू विजयी भएका छौँ । लामो समय स्ववियुमा नेतृत्व नहुँदा क्याम्पसमा विद्याथीहरूले धेरै समस्या भोग्नु परेको थियो । अब विद्यार्थीका समस्या हामीले उठाउने छौँ । क्याम्पसमा शैक्षिक र भौतिक सुधारका लागि पहल गर्ने छौँ । अन्त्यमा स्वतन्त्र विद्यार्थी युनियनसँगै मेरो आगामी योजनाका बारेमा धारणा राख्ने अवसर दिएको धेरैधेरै धन्यावाद ज्ञापन गर्दछु । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछु ।