संस्कारसहितको गुणस्तरीय शिक्षा दिदै रमना पाठशाला
दाङ, २७ चैत । ग्रामीण क्षेत्रमा संस्कार र संस्कृति सहितको गुणस्तरीय शिक्षा दिएर विद्यार्थी तथा अभिभावकको मन जित्न सफल भएको छ, रमना पाठशाला । नयाँ व्यवस्थापनका साथ २०७७ सालदेखि घोराही–१२ को रमनामा सञ्चलनमा आएको पाठशालाले पछिल्लो समय विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको हो ।
नयाँ व्यवस्थापन सुरुवात भएको तीन वर्षको अवधिमा राम्रो शैक्षिक प्रगति गरेको रमना पाठशालालाई आगामी दिनमा वडा नं. १२ कै शैक्षिक हबका रूपमा विकास गर्ने गरी अघि बढाइएको रमना पाठशालाका सञ्चालक तथा शैक्षिक निर्देशक कृष्णदेव थापाले जानकारी दिएका छन् । विद्यालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले विद्यालयको वर्तमान अवस्था तथा आगामी शैक्षिक सत्र २०८० को योजनाहरू अघि सारेका हुन् ।
विद्यालयको अहिलेको मुख्य ध्यान वडा नं. १२ का बालबालिकालाई सुविधा सम्पन्न भवनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने भए पनि शैक्षिकसत्र २०८१ देखि घोराही बजारबाट समेत पढ्नका लागि रमना पुग्ने गरी विद्यालयको भौतिक तथा शैक्षिक विकासमा विद्यालयले ध्यान दिइरहेको जानकारी गराए । ‘अहिलेको मुख्य टार्गेट वडा नं. १२ का बालबालिकालाई मात्रै छ, त्यहीअनुसार पूर्वाधार र जनशक्ति राखेका छौँ’, शैक्षिक निर्देशक थापाले भने, ‘तर शैक्षिकसत्र २०८१ मा घोराहीको वडा नं. १२ सँगै वडा नं. १०, ११, १३, १४ र १५ बाट समेत विद्यार्थी पढ्न आउने गरी विद्यालयको विकासमा लागेका छौँ ।’
त्यसका लागि विद्यालय सञ्चालक समितिले अहिले पढाइ भइरहेका विद्यालयको भौतिक संरचनासँगै पढाइलाई समेत परिवर्तन गरेर पूर्ण वातावरणमैत्री, संस्कार र संस्कृति सहितको स्थानीय पाठ्यक्रमलाई समेत समावेश गरेर पृथक रूपमा पठनपाठन गर्ने तयारी गरेको निर्देशक थापाले बताए । साथै डेढ बिगाह क्षेत्रफलमा भौतिक संरचना निर्माणको काम समेत गरिरहेको बताए ।
पहिलो वर्ष कक्षा ५ सम्म चलाएको विद्यालयले दोस्रो वर्ष कक्षा ८, तेस्रो वर्ष कक्षा ९ कक्षा सञ्चालन गरेकाले आगामी शैक्षिकसत्रमा १० कक्षाको पठनपाठन गराउने तयारी गरेको छ । यस वर्षसम्म २ सय ७५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले आगामी शैक्षिकसत्रमा पाँच सय विद्यार्थी पु¥याउने लक्ष्य लिएको शैक्षिक निर्देशक थापाले बताए ।
त्यसका लागि विद्यालयको वातावरण पूर्ण विद्यार्थीमैत्री बनाउनेदेखि मल्टिमिडियायुक्त दक्ष अनुभवी शिक्षक, शिक्षा विज्ञहरूको संलग्नता, शुद्ध खानेपानीको व्यवस्था, स्वास्थ्यकर्मीको व्यवस्था, सुविधा सम्पन्न कम्प्यूटर, विज्ञान, मन्टेश्वरी ल्याव र लाइब्रेरीको व्यवस्था गरेको छ । साथै बालबालिकाको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप समेत गराउँदै आएको छ । विद्यालयले छात्रवृत्तिको व्यवस्थाअन्तर्गत जेहेन्दार पूर्ण छात्रवृत्ति, दलित तथा जनजाति, गरिब तथा विपन्न परिवारका ६० जनाभन्दा बढी बालबालिकालाई पठनपाठन गराउँदै आएको बताएका छन् ।
विद्यालयले २०८० साल भौतिक पूर्वाधार निर्माणको वर्षका रूपमा अघि सारेको छ । पर्यावरणमैत्री संरचना निर्माणसँगै विद्यालयको परिसरमा पाँच सय विरूवा रोपेर ग्रीनजोन निर्माणसँगै विद्यार्थीका लागि स्विमिङ पुल, खेल मैदानलगायतका आवश्यक संरचनाहरू निर्माण गर्ने बताए । साथै २०८० सालदेखि नै कक्षा ११ को अनुमति लिइ नेपालकै पहिलो पूर्ण वातावरणमैत्री विद्यालय सञ्चालन गर्ने महत्वाकांक्षी योजना समेत अघि सारेको छ । त्यसका लागि अनुमतिको प्रक्रिया अघि बढाइएको भन्दै थप अध्ययनका लागि विद्यालयको टिम आगामी बैशाख महिनामा भुटान जाने तयारीमा रहेको शैक्षिक निर्देशक थापाले जानकारी दिएका छन् ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष बलबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सविन प्रियासनले बदलिँदो परिवेशमा विश्व बजारमा बिक्नसक्ने दक्ष र योग्य शैक्षिक जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णु हमालले लामो समय शैक्षिक क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई आफ्नै ठाउँमा योगदान गर्ने उद्देश्यले पोखराबाट फर्किएर पठनपाठन गराउँदै आएको बताए ।
शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरूलाई समय सापेक्ष तालिम, अभिमुखीकरण तथा भ्रमणहरूको व्यवस्था समेत विद्यालयले गर्दै आएको प्रिन्सिपल हमालले जानकारी गराएका थिए । विद्यालयका शैक्षिक गतिविधिको प्रचारप्रसामा सहयोग पु¥याउने उेद्दश्यले विद्यालयले सुवास शर्मालाई प्रेस संयोजकमा नियुक्त गरेको छ ।