Ad Area

‘दाङमा छैन न्यूरो सेवा’, ३० घण्टापछि एक सुत्केरीको एअरएम्बुलेन्सबाट उद्धार


घोराही १९ कार्तिक । घोराही १६ सानीअम्बापुरकी २३ वर्षीया धनमाया नाथ योगीलाई सुत्केरी गराउन अपरेशनको सहारा लिनुपर्यो । पहिलो सन्तान नर्मल डेलिभरी गराएकी धनमाया दोश्रो सन्तानका लागि कार्तिक १६ गते सुत्केरी गराउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पुगेकी  थिईन् । नर्मल डेलिभरी हुने अवस्था नभएपछि स्वास्थ्य परिक्षण रिपोर्टपछि अपरेशन गरेर बच्चा निकालिएको प्रतिष्ठानले जनाएको छ ।

१६ गते बेलुकी ५ बजे अपरेशन गरेर बच्चा निकालिएपछि धनमायालाई अपरेशन वार्डबाट सिफ्ट गरियो । त्यतिबेलासम्म उनको शारिरीक अवस्था सामान्य नै रहेको परिवारजनले बताएका छन् । तर उनलाई उसैरातबाट जटिल समस्या आईलाग्यो । ‘स्वास्थ्य रिपोर्ट सामान्य थियो, १६ गते बेलुकी ५ बजे अपरेशन भयो, छोरा जन्मियो, बच्चा पनि स्वस्थ छ, बेलुकी ८ बजेसम्म उनको स्वास्थ्य अवस्था ठिकै थियो’ धनमायाका श्रीमान मानबहादुर नाथ योगीले भने, ‘तर केही समयपछि अचानक स्वास्थ्यमा असर देखियो ।’ धनमायालाई प्रतिष्ठानकी डा. कृताञ्जलि घिमिरेको टीमले अपरेशन गरेर सुत्केरी गराएको थियो ।

‘उनले मलाई जाडो भयो, मुटु दुख्यो भन्दै रुन कराउन थालेपछि हामी आत्तियौँ, स्वास्थ्य अवस्था सिथिल बन्न थाल्यो हामी डरायौँ, लगत्तै डाक्टरले उनको स्वास्थ्य परीक्षण गरे,’ मन दुखाउँदै मानबहादुरले भने ‘रिपोर्ट सबै नर्मल सरह आएपनि के कारणले भएको होला भनेर डाक्टरहरु बीचमै खासखुस हुन थाल्यो, पछि सिटी स्क्यान गर्न भनियो । सिटी स्क्यान गर्दा रिपोर्टमा ‘ब्रेन स्ट्रोक’ भएको पुष्टि भयो ।’

प्रतिष्ठानले शारिरीक अवस्था जटिल बन्दै गएपछि अचेत रहेकी धनमायाको भेन्टिलेटर कक्षमा सारेर उपचार अघि बढायो । मस्तिष्कमा गम्भीर असर गरेपछि प्रतिष्ठानमा राखेर निरन्तरको उपचार गर्दा पनि लाभ हुन सकेन । जिल्लामा ‘ब्रेन स्ट्रोक’ वा ब्रेन ह्यामरेज जस्ता जटिल प्रकारको उपचार सम्भव छैन । मस्तिष्कमा गम्भीर असर परेमा, चोटपटक लागेमा, मस्तिष्कमा आन्तरिक रक्तश्राव भएमा जो कोहीको जीउज्यान तलमाथि पर्ने सम्भावना छ । त्यसैले दाङका अस्पताल रिफरल अस्पतालका रुपमा चिनिने गरेका छन् ।

प्रतिष्ठानले पनि आफुहरु कहाँ मस्तिष्क सम्बन्धी उपचार गर्ने डाक्टर नभएको बताएको छ । प्रतिष्ठानका रेक्टर डा. बसन्त लामिछानेले न्यूरो सर्जन नहुनु नै समस्या रहेको बताए । जिल्लामा यो साझा समस्या रहेको उनको भनाई छ । कुनै दुर्घटनामा परेका, मस्तिष्कमा असर परेका, दिमागको नशा फुटेर आन्तरिक रक्तश्राव हुन पुगेका बिरामीहरुको उपचार दाङमा हुँदैन । ‘यहाँ न्यूरो सर्जन छैनन्, उपकरण र पूर्वाधार अभावले गर्दा यस प्रकारका कुनै बिरामी आएपछि जिल्ला बाहिर रिफर गर्नुको विकल्प छैन,’ रेक्टर लामिछानेले भने ।

मानसिक उपचार जस्तो जटिल विषयका डाक्टर दाङमा नहुँदा जिल्ला बाहिर रिफर गर्नु परेको प्रतिष्ठानको भनाई छ । पूर्वाधार र जनशक्ति अभावमा मस्तिष्कसम्बन्धी समस्या भएकाहरुको उपचार हुन नसक्दा जिल्लाबासीलाई बारम्बार दुख हुने गरेको छ । समयमा उपचार हुन नपाउँदा धेरैले ज्यान गुमाउने गरेका छन् भने उपचार खर्च अभावमा पनि समस्या व्यहोरिरहेका छन् । दाङमा स्वास्थ्य संस्था खुल्ने क्रम जारी छ तर, प्रभावकारी र विश्वसनीय स्वास्थ्य संस्था पाउन सक्ने अवस्था बन्न सकेको छैन ।

कुनै पनि बिरामी अस्पताल पुगेपछि निको हुने अपेक्षा बोकेर आएको हुन्छ तर जिल्लामा रहेका अस्पतालहरुमा उपचार नै नपाउने अवस्था अझै पनि रही रहनु दुखद कुरा हो,’ उपचारका लागि अस्पताल पुगेका एक बिरामीका आफन्तले भने । नेपालको संविधानले मौलिक हकमै स्वास्थ्यको अधिकार प्रत्याभूत गरेको छ । स्वास्थ्य जस्तो गम्भीर विषयमा सरोकारवाला संघसंस्था र राज्य संयन्त्रले खेलवाड गर्न मिल्दैन ।

धनमायाका श्रीमान के भन्छन् त ?

मान बहादुर नाथ योगीका अनुसार यसअघि धनमायालाई कुनै प्रकारको स्वास्थ्य समस्या थिएन । पहिलो सन्तान नर्मल डेलिभरीबाट भएको थियो । दोश्रो सन्तान जन्माउन अपरेशन गर्नुपर्यो । स्वास्थ्य रिपोर्ट पनि सबै नर्मल नै थियो । ‘पछि अचानक समस्या भएपछिको रिपोर्टले हामीलाई चिन्तित बनायो,’ उनले भने, ‘बच्चा जन्मिएपछि मैले आफै भेट गरेर धेरैबेर उनीसँग कुरा गरेको हुँ, सबै नर्मल थियो तर अचानक यति गम्भीर अवस्था आयो म आफै अचम्ममा छु ।’

निकै भावुक बनेका मानबहादुर आफ्नी श्रीमतिको जीवन भगवानको हातमा रहेको भन्दै लामो सुस्केरा हाल्दै भने ‘दैव लागेपछि कस्को के लाग्दो रहेछ र काखमा ३ दिनको बच्चा छ उता आमाको शरीर जीवनमरणको दोसाँधमा छ ।’ बच्चालाई अहिले आफन्तले घर लगेर स्याहार गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । ‘ब्रेन स्ट्रोक’ भएर बेडमा ढलेकी धनमायाको उपचार जिल्लामा सम्भव थिएन । उनको उपचारका लागि काठमाडौँ लैजाने कुरा भयो । भर्खरकी सुत्केरी त्यो पनि अपरेशन गरिएकी । अझ ‘ब्रेन स्ट्रोक’ले जटिल अवस्था पुगेकी धनमायालाई सडकमार्ग भएर काठमाडौँ लैजान सक्ने अवस्था थिएन । भैरहवा वा नेपालगंजबाट हवाईजहाजबाट लैजाने की भन्ने कुरा चल्यो तर त्यो पनि सम्भव भएन ।

मानबहादुरले आफ्ना चिनेजानेकाहरुलाई हेलिकप्टरका लागि पहल गर्न आग्रह गरे । जटिल प्रकारका सुत्केरीको उपचार र उद्धारमा सरकारले चासो लिएको सुनेकाले आग्रह गरेको थिएँ । अर्थमन्त्री जनार्दन शर्माका नजिकका व्यक्तिहरुलाई सुत्केरीको स्वास्थ्य अवस्था झनपछि झन जटिल बन्दै गएको अवगत गराउँदै चाँडोभन्दा चाँडो हेलिकप्टरको व्यवस्था गर्न मानबहादुरले याचना गरे ।

अन्ततः बिहीबार अपरान्ह करीव ३ बजे धनमायाको जीवन बचाउन काठमाडौँबाट हेलिकप्टर आयो । सासमात्रै लिएर जीवन प्राप्तिको लडाइँमा एअर एम्बुलेन्समार्फत श्रीमानसँगै काठमाडौँ पुगेकी धनमाया बेलुकी ६ बजेतिर वीर अस्पतालमा भर्ना भएकी छिन् । करीब ३० घण्टाको प्रयासपछि धनमायालाई एअर एम्बुलेन्सबाट उद्धार गरेर काठमाडौँ पुर्यार्ईएको छ ।

उनको फेरी सिटी स्क्यानसहित स्वास्थ्य परिक्षण गरेर न्यूरो सर्जनले उपचार शुरु गरेका छन् । डाक्टरले धनमायाको स्वास्थ्य अत्यन्त्रै ‘क्रिटिकल केस’ भनेका छन् । पेशाले शिक्षक रहेका मानबहादुर जीवनको याचना गर्दै वीर अस्पतालको श्यैयामा अचेत अवस्थामा ढलेकी श्रीमति र घरमा आफन्तको काखमा रहेको छोराको मिलन गराएर मुहारमा मुस्कान ल्याउन अस्पतालको सघन कक्षमा भौतारिरहेका छन् ।

खासमा किन र कसरी ‘ब्रेन स्ट्रोक’ हुन्छ त ?

प्रतिष्ठानका रेक्टर डा. लामिछाने भन्छन्, कुनै कारणले शरीरको रक्तचाप घटबढ हुँदा नशामा असर पर्दा ‘ब्रेन स्ट्रोक’ वा ब्रेन ह्याम्रेज हुन्छ । सुत्केरीको अवस्थामा शरीर अत्यन्तै कमजोर हुने र रक्तसंचार प्रवाहमा जटिलता देखिने हुँदा कुनै कारणले नशामा पहिलेदेखि असर गरेको छ भने यस्तो बेलामा पनि समस्या हुने उनको भनाई छ । धनमायाको विषयमा पनि यही कारण हुन सक्ने डा. लामिछाने आशंका गरे । ‘कतिपय फेनोमेनाका कारण यो समस्या हुन्छ, जसलाई यही कारणले भयो भन्न सक्ने अवस्था रहन्न तर जन्मजात शरीर तथा नशा कमजोर भएका, नशा फुल्लिएकाहरुमा यो समस्या बढी देखा पर्ने गरेको स्वास्थ्य सम्बन्धी प्रमाणले देखाएको छ’ उनले भने ।

फरेन्सिक ल्यावले पनि कुनै कारणले प्रेसर बढ्न गई नशामा पर्ने असरले नशा फुट्ने र मस्तिष्कमा असर गरी मानिसको जीवन तल माथि पर्ने सक्ने प्रमाणित गरेको उनले बताए । यद्दपि, यो व्यक्ति र बिरामी अनुसार फरक फरक हुन सक्ने उनले बताए । सुत्केरी महिलाको हकमा पनि हिजोका दिनमा कुनै कारणले नशामा परेको असर वा कमजोरीका कारण रक्तसंचारमा घटबढ हुन पुग्दा ‘ब्रेन स्ट्रोक’ जस्ता मस्तिष्कमा असर पुग्न सक्ने आधार धेरै हुने उनको भनाई छ ।