Ad Area

गठबन्धन सरकार विकास विरोधी र सामाजिक अस्थिरता उन्मुख- पोख्रेल


घोराही १८, कार्तिक । नेपाल कम्युनिस्ट पार्टी एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले हिजोका दिनमा सरकारमा जाने जनादेश छैन भन्नेहरु जनादेश विपरीत सरकारमा सहभागी भएको आरोप लगाएका छन्। जनमत पाएको दललाई अनेकन षड्यन्त्र रचेर भागबण्डा गरेर अहिलेको गठबन्धन सत्तालिप्सामा लागेको उनको भनाई छ ।

बिहीबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका नेता पोख्रेलले भने, ’अनेक खालका षड्यन्त्र रचेर पार्टी फुटाएर, दल विभाजन अध्यादेशको नाटक प्रस्तुत गरेर सत्तामा जाने अलोकतान्त्रिक काम गर्नेहरुसँग असुहाउँदा जवाफ रहेको छ, अझ देशको नेतृत्व सम्हाल्न पुगेका शेरबहादुर जीसँग यस्तो किन गरेको भन्ने बारे जवाफ नै छैन, काम गर्ने योजना बनाएर सहमति सहकार्यका साथ अघि बढेको भए बेग्लै कुरा हुन्थ्यो ।’

सरकारमा जान विभिन्न खालका षडयन्त्र रचिएको उदाहरण एकपछि अर्काे गर्दै बाहिरिरहेकाले उनीहरुको नियम कस्तो रहेछ भन्ने प्रष्ट हुँदै गएको बताए । तक्मा काण्ड, ज्वाइँ जेठान काण्ड, दल विभाजन परमादेश जारी गर्न सम्मिलित आधार हुन्, यस्ता धेरै काण्ड अझै सार्वजनिक हुँदै जाने र जनताको बिचमा नांगिने कुनै समय नलाग्ने जिकिर गरे । सर्वाेच्च अदालतको परमादेशपछि उत्पन्न परिस्थितिमा न्यायाधीशहरु नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको तर्क गरे ।

नेता पोख्रेलले भने, ’ सर्वाेच्चका प्रधानन्यायाधीशले मन्त्री पदसँग गरेको लेनदेनले न्यायलयमाथिको विश्वास गुम्ने खतरनाक अवस्थामा पुगेको छ। कानुन पढेका बुझेका, जानेकाहरुले न्यायालयलाई बन्दी बनाउन हुदैन भन्ने हाम्रो ठहर हो ।’ यस्तै उनले संसदीय व्यवस्थामा जनादेशलाई आधारमान्ने हो भने बहुमतदलले नेतृत्व गर्ने भएपनि अहिले जसरी पनि सत्ता पुग्न खोज्ने गलत सोँच भएका राजनीतिक दलको अभ्यासले लोकतन्त्र कता जाँदैछ भन्ने गम्भीर प्रश्न खडा गरेको बताए । यसैगरी नेता पोख्रेलले अहिलेको ५ दलको गठबन्धन अवसरवादको गठबन्धन भएको आरोप लगाए । अघिल्लो सरकारले देशमा ल्याएको विकासको लहर देख्न नसकि लोकतन्त्रलाई धरापमा पार्ने गरि उल्टो बाटो हिँडेको तर्क गरे ।

जनताको आवश्यकता, दीर्घकालीन विकास निर्माण, पूर्वाधारका क्षेत्रमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक प्रगतिमा अहिलेको अलोकतान्त्रिक गठबन्धनले रोक लगाउने काम गरेकाले आम जनतामा निराशा छाएको उनको भनाई थियो । नेता पोख्रेलले भने, भ्रष्टाचारमा एकपछि अर्काे गरि यति छोटो समयमा फस्दै गएको विकास विरोधी गठबन्धनको सरकार हो। ओली नेतृत्वको सरकारले ल्याएको १४ सय सडक आयोजना खारेज गर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परेको बताउए ।

’विकास निर्माण र दीर्घकालीन पूर्वाधार आयोजनाका कामले श्रम क्षेत्रमा दिने अवसर प्रसस्त थियो । यसले देशको समृद्धि कति माथि उठ्थ्यो भन्ने बारे ख्याल गरेन,’ उनले भने, कोरोना प्रभावित जनतमलाई १० हजार बाँड्ने आश्वासन दिएर जनता अल्मल्याउने काम बाहेक केही गरेन।’
यस्तै, अघिल्लो सरकारले अघि बढाएको गरिव, सुकुम्बासी, भूमिहीनको अधिकार स्थापनाका लागि गठन गरेको भूमि आयोगमा प्रहार गरेर ठूलो गल्ती गरेको बताए । विकास विरोधी र सामाजिक अस्थिरता निम्त्याउने काम परमादेशी गठबन्धनको सरकार जति लामो समय रहन्छ, मुलुक अन्धकारमा जाने उनको तर्क छ ।

देशलाई अस्थिरताबाट छुटकारा दिलाउन अब नयाँ जनादेशमा जानुको विकल्प नरहेको उल्लेख गरे । ’गठबन्धनका नेताहरुको गलत अभ्यासका कारण तिनै तहका अंग अप्ठ्यारोमा रहेका बेला नयाँ जनादेशका लागि जनतामा जानुको विकल्प छैन, यसका लागि एमाले तयार छ,’ उनले भने । पार्टीको अहिलेको सन्दर्भ बारे जानकारी गराउँदै नेता पोख्रेलले लोकतन्त्रमा विश्वास गर्ने दलहरुले देशमा सुशासन कायम राख्न लोकतान्त्रिक हुनुपर्ने बताउँदै यो अभ्यासमा नेकपा एमालेले उदाहरण प्रस्तुत गरिरहेको बताए ।

एमाले जनताको जनमतलाई उच्च सम्मान गरेर अघि बढेको हुँदा सरकार बाहिर रहेपनि जनताकै साथमा रहेको बताए । ’अहिले नेकपा एमाले दशौँ महाधिवेशनमा केन्द्रित छ, पार्टी एकजुट छ भन्ने कुराको सन्देश हालै सम्पन्न देशभर वडा र पालिका अधिवेशन एकै पटक गरेर उदाहरण दिएको छ । एमालेले देखाएको व्यवस्थापन अरु दलले देखाउन सक्छन् कि सक्दैनन् भन्न् विषय चुनौतिपूर्ण छ,’ उनले भने । विधान अधिवेशन, नीति निर्माण सँगै नेतृत्व निर्माणका लागि आसन्न दशौँ महाधिवेशनको प्रकृया अघि बढेको हुँदा नेकपा एमाले थप बलियो, संगठित बनेर अघि बढ्ने संकल्प गरेको बताए ।

फरक प्रसंगमा नेता पोख्रेलले जनादेशलाई बाईपास गरेका दलसँग आगामि निर्वाचनमा सहकार्यको नहुने तर अन्य दलहरुसँग सहकार्य हुनुसक्ने सम्भावना रहेको बताए । उनले भने,’ माधव नेपाल र पुष्पकमल दाहालले आफुले गरेका गलत काम र गतिविधिको जनताले सजाय दिने छन् नै । यदि, आत्मालोचना वा समीक्षा गरेर आए सोँच्न सकिन्छ तर अहिले उनीहरु फरक बाटोमा छन् ।’ पत्रकार सम्मेलन चौतारीका उपाध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा भएको थियो भने सहजीकरण सचिव प्रेमबहादुर राम्जाले गरेका थिए ।