Ad Area

नाम जस्तै काम पनि ‘आत्मनिर्भर’- जसले हजारौँ परिवारमा समृद्धि ल्याएको छ


घोराही, २८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ७ नैनवारकी रेखा केसीको १३ वर्षअघि घरको आर्थिक अवस्था निकै नाजुक थियो । उहाँले विगत सम्झँदै भन्नुभयो, ‘एक जोर कपडाले दैनिकी चलेको थियो । घरमा खाना पकाउने भाँडा नभएर गाउँबाट मागेर ल्याएर पकाएर खानुपर्ने अवस्था थियो । गाउँमा सहयोग जुटाएर बाँचेको दिन सम्झँदा सपना जस्तै लाग्छ ।’

आम्दानीको श्रोत केही थिएन, भागेर विवाह गरेकाले माइतीले पनि राम्रो साथ दिएका थिएनन् । कठिन दिन सम्झँदै रेखाले भन्नुभयो ‘गाउँका दिदीबहिनीहरुले दिएको हौसला अनि सल्लाहले आज म यहाँसम्म आउन सफल भएको छु, मलाई यहाँसम्म ल्याई पुर्याउन सहयोग गर्ने संस्था आत्मनिर्भर लघुवित्त वित्तीय संस्था हो । जन्म दिने मेरी आमा भएजस्तै मेरो जीवनमा खुशीयाली ल्याउन कर्म दिने आमा आत्मनिर्भर लघुवित्त संस्था हो ।’

गंगारानी महिला उत्थान केन्द्रमा जोडिएको १३ वर्षे यात्राका क्रममा उहाँले संस्थाबाट धेरै कुरा सिक्ने अवसर पाउनुभएको छ । उहाँले भन्नुभयो, पहिलो दिन समुहमा गएर संस्थाको बारेमा कुरा सुनेँ, केही गर्नुपर्छ भन्ने साहस मनमा पलायो । पछि, दिदीबहिनीमार्फत वचत गर्ने कुरा उठ्यो । सरहरुले कुरा राखेपछि १० रुपैयाँबाट वचत गर्न थालेको हुँ । त्यो बेला ग्रामीण महिला उत्थान केन्द्रबाट समुह बनेको थियो । अहिले मातृ संस्थाको संरक्षकत्वमा आत्मनिर्भर लघुवित्त बनेको छ ।’

उहाँका अनुसार, समुहमा आवद्ध भईसकेपछि पनि नियमित वचत गर्ने पैसा हुदैनथ्यो । जहाँ ईच्छा, त्यहाँ उपाय भनेजस्तै, दश रुपैयाँ नहुँदा कुखुराको अण्डा बेचेर भएपनि वचत गर्न छाड्नु भएन । समुहमा जोडिएर ‘इमान्दारीपूर्वक गरेको कर्मले मलाई रेखा भनेर सबै सामु चिन्ने बनाएको छ । कर्मशील हुन सिकाएको छ, शायद मैले यसको गुन कसरी तिर्न सक्छु होला र ?’ उहाँले भन्नुभयो ‘यो समुहमा लाग्दा मेरो घरमा केही थिएन । अहिले धेरै कुरा जोडिएको छ ।’

आत्मर्निभर बन्न मेहनत जरुरी छ भन्ने कुराको ज्ञान पाएपछि रेखाका सफलताको यात्रा थालनी भएको हो । समुहमा बसेर शुरुमा ८ हजार ऋण लिएर किराना पसल खोल्नुभएकी रेखाले यो बीचमा निरन्तर आफ्नो कर्मलाई पूजा गर्दै आउनुभयो । पसल राम्रो चल्यो, चलेको छ । जसले गर्दा उहाँले आफ्नो व्यवसाय बढाउँदै लैजानुभयो । अहिले ७ लाख बढीको पसल बिस्तार भईसकेको छ ।

Blog Post Ad

‘त्यति खेर आठ हजार पाउन गाह्रो थियो । सय रुपैयाँ कसैसँग माग्दा पनि मलाई कसैले विश्वास गर्दैनथे । मलाई आत्मनिर्भर संस्थाले विश्वास गरेर बीउ पूँजीका रुपमा दिएको ८ हजार मेरा लागि अपार भईदियो’ उहाँले भन्नुभयो ‘अहिले यही पसलको आम्दानीबाट घर खर्च चलेको छ, छोराछोरी पढाउन लेखाउन सजिलो भएको छ ।’

उहाँले केही वर्षयता बाख्रापालन पनि गर्दै आउनुभएको छ । शुरुमा माउ बाख्रा पाँच–पाँच हजारको किनेर बाख्रापालन थाल्नुभएकी रेखाले वर्षमा २ लाखसम्मको बाख्रा पनि बिक्रि गर्नुहुन्छ । अहिले २० वटा खसी बाख्रा उहाँको खोरमा छन् ।

‘श्रीमानले गाडी चलाउनुहुन्छ । श्रीमानको कमाई अनि मैले कमाएको हरेक हिसाव किताव राख्छु, आम्दानी अनुसारको खर्च व्यवस्थापन गर्छु’, उहाँले भन्नुभयो, ‘हरेक कुराको हिसावकिताव राखेर काम गर्ने भएको छु, वित्तीय साक्षरता पनि मैले यही संस्थाबाट सिकेको हुँ’ उहाँले थप्नुभयो ‘एक दशकको समयमा मैले धेरै कुरा पाएको छु । घर घडेरी जोडेको छु, दुई पैसा कसैसँग हात फैलाएर माग्नु परेको छैन । जीवन आकाश पातालको फरक भएको छ ।’

समाजको अगाडी राम्रो काम गरेर देखाउन पाएकोमा उहाँलाई सन्तुष्टि मिलेको छ । ‘बढी गर्न लागेको भनेर गाउँ समाजमा कुरा पनि काट्छन् । तर, सही गलत मनन् गर्नेे भएको छु । आम्दानी खर्च लगत राख्ने भएको छु’ उहाँले भन्नुभयो ‘व्यक्तित्व र नेतृत्व विकास पनि उत्तिकै राम्रो भएको छ । त्यो बेलामा सरहरु सँग कुरा राख्न सक्ने हिम्मत थिएन अहिले व्यक्तित्व र नेतृत्व विकास भएको छ ।’

अहिले उहाँले विभिन्न शीर्षकमा आफुले आम्दानी गरेको रकमबाट मासिक रुपमा वचत गर्दै आउनुभएको छ । ६ सय मासिक वचत गर्ने गरेको बताउँदै उहाँले पाँच सयको पेन्सन वचत र सयको मासिक वचत खातामा पैसा जम्मा गर्ने गरेको बताउनुभयो ।

घोराही १५ भरतपुरकी शोभा नेपाली ९ वर्ष पहिले अर्घाखाँचीबाट दाङ आउँदा परिस्थिती आजको जस्तो थिएन । अपांगता भएको छोराको उपचारका लागि यहाँ आउनुभएकी शोभालाई उपचार गर्दा गर्दै यतैतिरको भाग्य र कर्मले रोक्यो । उहाँलाई अपांग छोरालाई लिएर अर्घाखाँची जान मन लागेन । समयको खेल, उहाँ भाडाको कोठामा बस्दै गर्दा एकदिन दिदीबहिनीहरुले सल्लाह दिए, समुहमा बसेर केही गर्न । सानो कामबाट थालनी भएको शोभाको सफलताको यात्राले एक दशकको बीचमा लखपति बनाई दिएको छ ।

हिमाल महिला उत्थान केन्द्रको समुहमा जोडिएर उहाँले वचतसँगै तरकारी खेती थाल्नुभयो । घरबेटीको खाली जग्गालाई उपयोग गरेर आधा कट्ठा बारीमा तरकारी खेती गर्न थालेपछि उहाँलाई अप्ठ्यारा दिन फर्किएर हेर्नु परेको छैन । ‘शुरुमा समुहबाट २० हजार बीउ पूँजीको रुपमा ऋण लिएँ । तरकारी खेती गरेँ । आधा कट्ठामा तरकारी खेती गरेर फलाएको तरकारी टोकरीमा राखेर किराना पसलमा बेच्थेँ’ शोभाले भन्नुभयो ‘कडा मेहनत अनि संस्थाको हौसलाले मलाई धेरै कुरा सिकाएको छ । काम अनुसार आम्दानी सहज बन्दै गयो । घर खर्च मैले धाने, श्रीमानको कमाई वचत हुँदै गयो ।’

२० हजार ऋण लिएर व्यवसाय थालनी गर्नुभएकी शोभाले अहिले घडेरी किन्नुभएको छ । घर बनाउनुभएको छ । जबकी कुनै बेला घरमा पकाउने भाँडा थिएन । गरि खान गाह्रो थियो । लकडाउनपछि होटल व्यवसायमा लाग्नुभएकी उहाँले यहाँबाट पनि राम्रो कमाई गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, ‘लगनशीलताका साथ ऋणलाई सदुपयोग राम्रोसँग गर्न सके राम्रो हुन्छ । जसले जीवन बदल्न ठूलो भूमिका खेल्छ, अहिले राम्रो हुँदै गएको छ, छोरी पढाउन लेखाउन पनि सजिलो भएको छ ।’

घोराही १५ भरतपुरकी हिराकुमारी थापा शारीरिक रुपमा अपांग हुनुहुन्छ । उहाँको सफलताको कथा पनि निकै घत लाग्दो छ । कुनै बेला के खाने के लाउने स्थितीबाट गुज्रिएको हिराकुमारीले हिम्मत हार्नु भएन । समुहमा आवद्ध भएपछि घुम्ती पसलबाट शुरु गर्नुभयो । नाङ्लोबाट थालनी भएको उहाँको किराना पसल अहिले सटरमा खुलेको छ ।

संस्थाले समूह गठन गरेको रहेछ, त्यहाँ म पनि जोडिन पुगेँ, त्यो बेलामा श्रीमान पढ्ने हुँदा केही आम्दानी थिएन । पैसा कमाउने कोही थिएन । गाह्रो थियो । जसो तसो सय रुपैयाँबाट वचत शुरु भएको वचत अहिले मासिक १ हजार रुपैयाँ गर्ने गरेको छु । किराना, तरकारी रासनलगायत बस्तु उहाँको पसलमा पाईन्छ । जम्मा पाँच हजारबाट थालनी भएको व्यवसायको यात्रामा उहाँको निकै मेहनत छ । श्रम पोखिएको छ । जसले गर्दा ७ लाख बराबरको पसल भईसकेको छ ।

त्यहीको आम्दानीले घर घडेरी पनि जोड्न भ्याउनुभएको छ । हाल श्रीमानको पनि जागिर छ । आफुले कमाएको पैसाले घर व्यवहार धानिएको छ । केही वचत भएको छ, श्रीमानले कमाएको पैसा वचत हुने गरेको छ । यो बीच बीचमा उहाँले यात्रा गर्न सजिलोका लागि स्कुटर पनि किन्न सफल हुनुभएको छ ।

व्यापारले धेरै कुरा सहज भएको छ । आफुले कमाएको पैसाले घर व्यवहार चलेको छ । ‘कमाईबाट स्कुटर किनेको छु, घडेरी किनेर घर बनाएको छु’ उहाँले भन्नुभयो ‘मलाई संस्थाले सबैभन्दा मुख्य कुरा जीवनमा हार मान्नु हुदैन, संघर्षशील हुनुपर्छ भन्ने सिकायो । यहीँको कमाईले छोरा पढाउन पनि सजिलो भएको छ ।’

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामा जोडिएका धेरै दिदीबहिनीहरुको जीवनमा परिवर्तन आएको छ । दुखका पहाड छिचोलेर सफलताको उडान भर्न सक्ने हुनुभएको छ । आत्मनिर्भर लुघवित्त वित्तीय संस्था जस्तो नाम उस्तै काम’ आत्मनिर्भर’ ।

उत्कृष्ट उद्यमीका रुपमा घोषित राजकुमारी चौधरीले समुहमा आवद्ध भएपछि पाएको सफलताको बयान गर्दै संस्था पनि नाम जस्तै काममा जिम्मेवार रहेको बताउनुभयो । सोमबार घोराहीमा आयोजित आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुखहरुको वार्षिक समीक्षा गोष्ठी तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम महिला उद्यमीहरुले आफुले पाएको सफलताको खुलेर अनुभव सुनाउनुभयो ।

घोराही केन्द्र शाखा व्यवस्थापक कृष्णा चौधरीको अध्यक्षता तथा आत्मनिर्भर लुघवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगतबीर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा घोराहीका १९ वटैै वडाका २ सय ७१ वटा केन्द्र प्रमुखहरुको वार्षिक कार्य प्रगतिमाथि समिक्षा भयो । जसका आधारमा केन्द्रका सफल उद्यमीहरु रेखा केसी, राजकुमारी चौधरी, मिना पुन, अनिता श्रेष्ठ, शोभा नेपाली गरी पाँच जना सम्मानित हुनुभयो ।

यसैगरी, सफल केन्द्रका रुपमा नवपालुवा महिला उत्थान केन्द्र, प्रकृति महिला उत्थान केन्द्र, सशक्ति महिला उत्थान केन्द्र र समृद्धि महिला उत्थान केन्द्र गरी चार वटा केन्द्र सम्मान भएको छ । कार्यक्रममा उत्कृष्ट वचतकर्ताका रुपमा घोराही १३ सेवार बाँसबोटका देवु चौधरी सम्मानित हुनुभएको छ भने अनुशासित केन्द्रका रुपमा १० वटा केन्द्र पनि सम्मानित भएको छ ।

सो अवसरमा प्रमुख अतिथि चौधरीले पछिल्लो समय लघुवित्त पीडितका नाममा भईरहेको कृयाकलापका बारेमा स्पष्ट हुन समुहका सदस्यहरुलाई अपिल गर्नुभयो । उहाँले नेपाल सरकार, राष्ट्र बैंक मातहत लघुवित्त संस्था संचालनको मापदण्डमा रही संस्था स्थापना भई काम गर्दै आएको हुँदा इमान्दारीपूर्वक सही गलत छुट्याएर विरोधमा उत्रिएकाहरुको कुरामा भर नपर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘राज्यले तोकेको मापदण्डमा रही १ पैसा पनि बढी असुलेको कहीँ कतै लागेको छ भने, हामीलाई जानकारी गराउनुस्, तपाईहरुको एक पैसा पनि तलमाथि हुदैन, काम गर्ने क्रममा हिसावकिताव राख्दा मानवीय त्रुटी पनि हुन सक्छ, यसलाई जिम्मेवारीपूर्वक निभाउँछौँ । जसरी हिजोका दिनबाटै यहाँहरुको घर आँगनमा पुगेर घामपानी, हिउँद बर्खा नभनी सेवामा खटिएका छौँ ।’

मानव संशाधन प्रमख नेवबहादुर चौधरीले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले ग्रामीण महिला उत्थान केन्द्र मातृ संस्थाका रुपमा रहँदै अहिले आत्मनिर्भर लुघवित्तले दाङसहित सल्यान, बाँके, र बर्दिया जिल्लामा आफ्नो शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको बताउनुभयो । जसमा घोराहीमा मात्रै ६ हजार बढी सदस्य रहेका तथा सबै क्षेत्रमा ५० हजार बढी विपन्न परिवारलाई वित्तीय कारोबारमा संलग्न गराउँदै घरदैलोमा वचत परिचालन, कर्जा सेवा तथा अन्य सेवा सुविधा प्रदान गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा कार्यक्रम संयोजक एचबी थापा, ग्रामीण महिला उत्थान केन्द्र संचालक समिति सदस्य माधवा पोख्रेल, रजनी श्रेष्ठलगायत बोल्नुभएको थियो भने उत्कृष्ट केन्द्रहरुका तर्फबाट सरस्वती चौधरी, उत्कृष्ट समूहका तर्फबाट जोगमानी चौधरी, उत्कृष्ट उद्यमीका तर्फबाट रेखा केसी, राजकुमारी चौधरी, हिराकुमारी थापा, समूह अभिभावकका रुपमा ऋषिदेव शर्माले आफ्ना अनुभव सुनाउनुभएको थियो । लेखापाल दशरथ चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण केन्द्रीय विभाग ऋण अधिकृत कालीदास चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad