Ad Area

बाँकेलाई ६ विकेटले हराउँदै दाङ फाईनलमा, उपाधिका लागि रुपन्देहीसँग खेल्ने


घोराही, ५ बैशाख । लुम्बिनी प्रदेश स्तरीय १६ वर्ष मुनिको पुरुष छनोट प्रतियोगितामा दाङ फाईनलममा प्रवेश गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी प्रतियोगितामा आज भएको खेलमा बाँकेलाई ६ विकेटले हराउँदै दाङले फाईनल यात्रा तय गरेको प्रशिक्षक सन्जु केसीले जानकारी दिए ।

१ सय ८ रनको झिनो लक्ष्य पछ्याएको दाङले ४ विकेटको क्षतिमा उक्त लक्ष्य सहजै पुरा गर्यो । दाङका अमिष सेन्चुरीले अर्ध शतकको बिस्फोटक पारी खेल्दा जीत सहज बनेको हो । उनले ५२ बलमा ७ चौकासहित एक छक्काको मद्दतमा ५० रन बनाए । उनलाई निशान्त न्यौपानेको बलमा क्षितिज मगरले क्याच आउट गराए । यसैगरी कप्तान आशिष ओलीले १५ रन बनाउँदै उनी फरदिन शेखको बलमा कट एण्ड बोल्ड भए ।

शिशिर डाँगी ११ रनको योगदान दिँदै रनआउट हुँदा आकाश चौधरीलाई एक रनको स्कोरमा भुवन शाहीले आउट गराए । दाङका लागि करण डाँगी र अजय रोका क्षेत्रीले क्रमशः १७ र ३ रनमा अविजित रहँदै जीत दिलाए । बाँकेले १४ रन अतिरिक्त खर्चेको थियो ।  बाँकेका भुवन शाही, निशान्त आचार्य र फरदिन शेखले समान १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले दाङको कसिलो बलिङ र फिल्डिङ सामु खुलेर खेल्न सकेन । ३० ओभरको खेलमा बाँकेले २५ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय ७ रन मात्रै बनायो । बाँकेका लागि प्रनित आचार्यले २७, अस्मित शाहीले १९, यसर्थ वैश्यले १६, प्रितक जिएमले १५, दीप प्रजापतिले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

क्षितिज मगर ७ भुवन शाही ४, फरदिन शेख १ रनमा आउट हुँदा अनुज सिंह ठकुरी, निशान्त आचार्य र शकिब हुसेनले खाता नै खोल्न सकेनन् । बाँकेलाई हराउँदै फाईनल पुगेको दाङका लागि सन्तोष केसीले ६ ओभर १७ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । यसैगरी अजय रोका क्षेत्री र सुजल वलीले समान २–२ विकेट लिँदा करण जिएम, सन्दीप भुल र किशन भट्टराईले पनि समान १–१ विकेट लिए ।

Blog Post Ad

प्रतियोगितामा दाङका सन्तोष केसी प्लेयर अफ द म्याच भए । लुम्बिनी प्रदेशका ७ जिल्ला सहभागी प्रतियोगितामा यसअघि दाङले बर्दियालाई ७ विकेटले हराएको थियो । दुई समुहमा विभाजन गरी खेलाईएको प्रतियोगितामा दाङले भोलि बुधबार रुपन्देहीसँग फाईनल खेल्नेछ । निकै लयमा रहेको दाङले रुपन्देहीलाई उसकै गृह मैदानमा हराउँदै च्याम्पियन बन्ने दाउमा रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकाहरुबाट खेलाडी छनोट गरी बैशाख तेश्रो साता धनगढीमा हुने १६ वर्ष मुनिको राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने खेलाडी छनोट समिति संयोजक कैलाश रोकाले जानकारी दिए ।  सातै प्रदेशबाट सहभागी हुने खेलाडीबाट छनोट गरी अर्को महिना मलेसियामा हुने एसीसी १६ वर्ष मुनिको प्रतियोगितामा भाग लिन पठाईने छ ।

Blog Post Ad Blog Post Ad