Ad Area

बढ्दै आगलागीका घट्ना, अधिकांस स्थानीय सरकारसँग छैनन् दमकल


दाङ, ७ बैशाख । गत चैत १९ गते लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्ज स्थित गीता चौधरीको कटाई सिलाई टेलर र समीर रज्जा बस्दै आएको कोठामा तार सर्ट भइ आगलागी भयो । आगलागीबाट कटाई सिलाई पसलमा कपडा, सिलाउने सामग्रीसँगै नगद पैसा जल्दा करिब ५ लाख बढीको क्षति भयो । आगलागीकै कारण उनको दैनिक गरिखाने पेसा समेत गुम्न पुगेको छ । आगलागीबाट समिर रज्जाको नगद ३ लाख ५० हजार बढीको क्षति भएको प्रहरी रिपोर्टमा उल्लेख छ ।

भर्खरै गत चैत २८ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को एक कपडा पसलमा आगलागी भयो । तुलसीपुरको मुख्य बजारमै रहेको याक कपडा पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ तर तुलसीपुर उपमहानगरपालिकाबाट तत्काल दम्कल आइपुगेका कारण ठूलो क्षति हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । गर्मी मौसममा मुख्य बजारकै पसलमा आगलागी भए पनि तत्कालै दमकल घट्नास्थल पुग्नुका साथै सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगोलाई नियन्त्रण लिँदा ठूलो क्षति हुनबाट बचाइएको प्रहरीले जनाएको छ ।

यसैगरी गत कार्तिकको पहिलो साता घोराहीमा फर्निचर पसलमा आगलागी भयो । बजारको मध्यभागमा भएको आगलागीका कारण चारवटा फर्निचनर उद्योग र एउटा खाजाघर पूर्ण रूपमा जलेर नष्ट भए । आगलागीबाट करिब ८ करोड बढीको क्षति भएको थियो । उक्त घट्नालाई नियन्त्रण लिनका लागि घोराही उपमहानगरपालिकाको एउटा दम्कलले नभ्याएपछि लमही र तुलसीपुर उपमहानगरपालिकाबाट समेत दम्कल मगाउनुपरेको थियो । करिब २३ किलोमिटर टाढा स्थानबाट दम्कल आएर रातको समयमा आगलागी नियन्त्रणमा लिनुपरेको थियो ।

यी जिल्लामा भएका आगलागीका पछिल्ला उदाहरणहरू हुन् । गर्मी याम सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा आगलागीका घट्नाहरू बढ्न थालेका छन् । हिउँदको समयमा मानवीय लापरबाहीसँगै चिसोपनाको कमीका कारण आगलागीका घटनाहरू बढ्न थालेका छन् । लागलागीबाट लाखौँ रूपैयाँको क्षति व्यहोर्नुपरेको छ भने पीडित व्यक्तिहरू घरबारविहीन बन्न पुगेका छन् । पछिल्लो समय जंगलमा आगलागीका घटनाहरू बढ्दै जाँदा जंगल नजिकका मानवीय बस्तीहरूमा समेत आगो पस्ने खतरा रहेको छ तर त्यसतर्फ जिल्लाका अधिकांश स्थानीय तहहरूले ध्यान दिनसकेका छैनन् ।

जिल्लाका दशवटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तह अझै दम्कलविहीन छन् । १० स्थानीय तहमध्ये चारवटा स्थानीय तहमा मात्रै दम्कल छन् । दम्कल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दम्कल छन् । तीमध्ये घोराहीमा दुई, तुलसीपुरमा एक, लमहीमा एक र गढवामा एक दम्कल छन् । जिल्लाका अन्य ६ स्थानीय तहहरू दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका र राप्ती गाउँपालिकासँग दम्कल छैनन् ।

Blog Post Ad

बबई गाउँपालिकाका अध्यक्ष कूलबहादुर खत्रीले आफ्नो गाउँपालिकामा दम्कल टड्कारो आवश्यकताका रूपमा नरहेकाले दम्कल खरिदको बारेमा गाउँपालिकाले चासो नदेखाएको बताउँछन् । ‘बबई गाउँपालिकाका बस्तीमा आगलागीको जोखिम खासै देखिँदैन, कहिलेकाहीँ मात्रै आगलागी हुने हो’, गाउँपालिका अध्यक्ष खत्रीले भने, ‘त्यसैले गर्दा अहिलेसम्म दम्कल खरिदका लागि सोचेका छैनौँ । आवश्यकता महसुस भए खरिदका लागि प्रयास गर्ने छौँ ।’ अध्यक्ष खत्रीले बबई गाउँपालिकामा बस्तीमा भन्दा बढी आगलागी जंगलमा हुने र जंगलमा दम्कल जान नसक्ने भएकाले पनि दम्कल खरिदको प्रक्रियाबारे अहिलेसम्म नसोचेको बताउँछन ।

मानवीय बस्ती बढ्दै जाँदा गर्मी मौसममा हुनसक्ने क्षति न्यूनीकरणका लागि दम्कल आवश्यक रहे पनि एक्लै पालिकाले खरिद गर्न नसक्ने अवस्थाका कारण किन्न नसकेको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी बताउँछिन् । ‘आगलागीका घट्नाहरू कहिलेकाहीँ आकस्मिक रूपमा हुने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व सावधानी अत्यन्त आवश्यक छ’, उपाध्यक्ष चौधरीले भनिन्, ‘त्यसमा पनि राप्ती गाउँपालिका प्रदेश राजधानी क्षेत्र भएको र भालुवाङलगायतका क्षेत्रमा बढ्दो सहरीकरणका कारण पनि दम्कल आवश्यक रहेको छ ।’

उनले आफ्नो पालिकाले एक्लै नसक्ने भएपछि अन्य पालिकासँग मिलेर दम्कल किन्ने प्रयास समेत गरेको बताए । साथै गाउँपालिकामा रहेका वन समूहरूलाई डढेलो नियन्त्रणका बारेमा तालिमसँगै आवश्यक सामग्री हस्तान्तरण र वडाका माध्यमबाट सर्वसाधारण जनतालाई गर्मी मौसममा हुनसक्ने आगलागीका घटनाका बारेमा सचेत गराएको उनको भनाइ छ । विशेष गरेर गर्मी यामसँगै चुरे क्षेत्रको जंगलमा आगलागी हुने गरेको छ । शून्य डढेलोको अवधारणा अघि सारे पनि त्यो कार्यान्वयन हुन भने सकेको छैन ।

Blog Post Ad Blog Post Ad