Ad Area

डढेलोले खरानी बन्दै दाङको चुरे वन एक सातामा १४ सय हेक्टर वन स्वाहा


घोराही, ९ बैशाख । मानवीय लापरवाहीले गर्दा दाङमा वर्षेनी हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । डिजिभन वन कार्यालय दाङका अनुसार बैशाखयता एक हप्तामा १४ सय हेक्टर वन डढेलो लागेर खरानी भएको छ ।

दाङ र देउखुरी उपत्यकामा रहेका वन क्षेत्रमा डढेलोका कारण वर्षेनी ठूलो मात्रामा क्षति हुने गरेको छ । एक साताको अवधिमा दाङ क्षेत्रमा १८ स्थानमा र देउखुरी क्षेत्रमा २५ बढी स्थानमा डढेलो लागि सकेको छ । जसले दाङ क्षेत्रमा ३ सय ३३ हेक्टर र देउखरी क्षेत्रमा १ हजार १ सय बढी हेक्टर वन डढेलोले खरानी भएको छ । यसको जोखिम अझ बढ्ने देखिएको छ । गत वर्ष दाङमा ६५ स्थानमा डढेलो लागेको थियो ।

डिभिजन वन कार्यालय घोराही र डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएको तथ्यांक अनुसार जिल्लामा गत वर्ष मात्रै तीन हजार एक सय ७० हेक्टर क्षेत्रमा डढेलो लागेको थियो । एक सातामा भएको डढेलोको क्षतिको यकिन विवरण आउन अझै सकेको छैन । वनजन्य पदार्थ जलेर खरानी हुँदा करौडौँको क्षति भएको अनुमान गरिएको छ । डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार, दाङ क्षेत्रमा रहेको ५७ हजार १ सय ९१ हेक्टर मध्ये ३ सय ३३ हेक्टर वनमा डढेलो लागेको छ । यो क्षेत्रमा ३ सय ८१ वटा सामुदायिक वन रहेका छन् ।

वन डढेलो लागेका क्षेत्रहरु बिजौरी, नारायणपुर, सुनपुर, तुलसीपुर, घोराहीको धारापानी क्षेत्र रहेको उहाँले बताउनुभयो । ‘लामो समयको खडेरी अनि गर्मी बढेसँगै वनजंगलका पात पतिङ्गर सुकेको अवस्था छ । यो बेलामा मानिसले नै जानाजान आगो लगाउने गर्दा डढेलो बढेको छ’, उहाँले भन्नुभयो, ‘वन जोगाउनुपर्छ भन्ने कुरा जान्दा जान्दै पनि वन जलाउने काम रोक्न सकिएको छैन ।’ उता, देउखुरी क्षेत्रमा यो वर्ष वन डढेलो नियन्त्रण बाहिर जान थालेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।

एक साताको अवधिमा अस्वाभाविक रुपमा वन डढेलो बढेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । एक सातामा देउखुरी क्षेत्रमा लागेको डढेलो अस्वाभाविक रुपमा बढेको छ । ‘हामीले वन डढेलो नियन्त्रणका लागि जति प्रयास गरेपनि अहिलेको अवस्था हेर्ने हो भने नियन्त्रणभन्दा बाहिर गईसकेको छ’ उहाँले भन्नुभयो ‘ चुरे क्षेत्रमा रहेका वनमा डढेलोको प्रभाव निकै परेको छ । वन डढेलो नियन्त्रणको प्रयास भईरहेको छ तर रोक्न सकिएको छैन । दिउँसो खासै देखिँदैन, राति कहाँ कुन ठाउँमा लागेको छ, प्रष्टै देखिन्छ । जुन अत्यन्त्रै डर लाग्दो गरी अघि डढेलो लागेको छ ।’

उहाँका अनुसार, बितेको एक सातामा देउखुरी क्षेत्रमा १ हजार १ सय वन डढेलोले सखाप भएको छ । वन क्षेत्रमा लागेको अधिकांश ठाउँको डढेलो नियन्त्रणमा आउन नसकेकाले यसको जोखिम अझ बढेको छ । उहाँले भन्नुभयो, ‘हामीले गरेको प्रयासले डढेलो नियन्त्रण हुन सक्ने अवस्थामा छैन, यो नियन्त्रणभन्दा बाहिर गएको छ ।

Blog Post Ad

वनमा रहेका बुट्यान, झाडी, घाँसपात जलेर सकियो भने आफै नियन्त्रणमा आउला भन्ने बाहेक अरु विकल्प छैन ।’ देउखुरी क्षेत्रमा रहेको १ लाख ९ हजार वन क्षेत्रमा १ सय ४५ वटा सामुदायिक वन रहेका छन् । देउकी सामुदायिक वन, अजम्बरी सामुदायिक वन, कर्री सामुदायिक वन, कुलपानी सामुदायिक वनलगायत वनहरु डढेलोको उच्च जोखिममा छन् भने केही ठाउँमा डढेलो लागेको छ । वन डढेलो लागेको स्थानमध्ये सामुदायिक वन क्षेत्रमा लागेको आगो स्थानीय जनसमुदाय, वन संरक्षणकर्मी, प्रहरी, सेना, रेडक्रसलगायतको टोलीले नियन्त्रण गर्दै आएको छ ।

उहाँले भन्नुभयो, ‘समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामग्री सहयोग, पूर्वतयारीसँगै डढेलो लागि हालेमा सुरक्षा निकाय, वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवालासँग समन्वयसँगै जनशक्ति परिचालनमा समेत समन्वय गर्ने र उपलब्ध सामग्री वितरण गर्ने काम हुँदै आएको छ ।’ अहिलेको समयमा वन डढेलो लागेको स्थान मानिसको सहज पहुँचभन्दा पर रहेको क्षेत्रमा लागेको छ । जसले गर्दा नियन्त्रणको प्रयास गर्दा पनि सम्भवन नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

‘मानिसले आफ्नो स्वार्थका लागि सहज पहुँचमा नभएका स्थानमा आगो लगाउने परिपाटीले अझ समस्या थपेको छ’, प्रमुख क्षेत्रीले भन्नुभयो ‘सरकारी निकायबाट डढेलोबाट हुने क्षति न्यूनीकरणको लागि अग्नि रेखा निर्माण गर्ने, त्यसको मर्मत गर्ने, सरसफाइ गर्ने काम भइरहेको छ । वन क्षेत्रमा लागेको डढेलो निभाउने, जनचेतनामूलक कार्यक्रमहरु चलाउने र वन क्षेत्रको पत्कर व्यवस्थापनको काम गर्ने गरेको छ ।’

डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत रामगोपाल चौधरीले डढेलो नियन्त्रणका लागि उपभोक्ताको परिचालन मुख्य विषय रहेको बताउनुहुन्छ । यसका लागि वन कार्यालयले काम गरेको छ’ उहाँले भन्नुभयो ‘उपभोक्ता सक्रिय नभएको क्षेत्रमा डढेलो फैलिने गरेको छ, यसमा सबै गम्भीर हुनु जरुरी छ ।’ उसो त, जंगलमा लागेको डढेलो वस्तीमा सोझिने डरले स्थानीय नागरिक र प्रहरी प्रशासनको सक्रियता देखिन्छ तर नियन्त्रणका लागि चाहिने आवश्यक उपकरण, औजार पर्याप्त छैन ।

४ दिनअघि लमही नगरपालिका वडा नम्बर ५ लमही बजारको छेऊमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेशनको परिसरमा लागेको आगो अजम्मरी सामुदायिक वनसम्म फैलियो । फैलिएको आगो नियन्त्रण गर्न सुरक्षाकर्मी र उपभोक्ता सबै परिचालन भए । सरकारी र समुदायस्तरबाट डढेलो नियन्त्रणका लागि सचेतना अभियानहरु चले पनि वन क्षेत्रमा आगो फैलिरहेको छ । डढेलो लाग्नै नदिन केही दिन अघिमात्रै सचेतना अभियान सकिएको छ तर डढेलो लागिहालेको अवस्थामा नियन्त्रणका सामग्री र जनशक्तिको अभाव देखिएको छ ।

कतिपय सामुदायिक वनले आफ्नो वन क्षेत्रमा लाग्ने डढेलो एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन अग्नी रेखा बनाउने काम गरेका छन् । अग्नी रेखामा खसेको पातबाट आगो फैलिन सक्ने जोखिम हुने भएकाले सफा राख्ने गरिएको छ तर डढेलो लागि हालेको खण्डमा भने नियन्त्रणको लागि सामग्री पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ । डिभिजन वन कार्यालय दाङका अनुसार वितेको पाँच वर्षमा दुई सय ७० पटक डढेलो लागेको छ । डढेलो तीन हजार नौ सय ६५ हेक्टर क्षेत्रफलमा फैलिएको तथ्यांक रहेको छ ।

बितेको पाँच वर्षमा आर्थिक वर्ष २०७६–०७७ मा मात्रै शून्य वन डढेलोको वर्ष घोषित भएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७४–०७५ मा २१ स्थानमा डढेलो लागेको थियो । सो वर्ष एक सय २१ हेक्टर वन क्षेत्रमा डढेलो फैलिएको थियो । आर्थिक वर्ष २०७५–०७६ मा ६७ स्थानमा डढेलो लाग्दा तीन हजार ५६ हेक्टर क्षेत्रमा डढेलो फैलिएको थियो । आर्थिक वर्ष २०७७–०७८ मा एक सय ५१ स्थानमा आगो लागेकोमा तीन सय २२ हेक्टरमा फैलिएको थियो ।

आर्थिक वर्ष २०७८–०७९ मा ३१ स्थानमा फैलिएको डढेलो चार सय ६६ हेक्टर क्षेत्रफलमा फैलिएको तथ्यांक छ । डढेलो लाग्ने कारणमध्ये ५० प्रतिशत भन्दा बढी डढेलो मानवीय लापरवाही, असावधानी तथा नियतवश हुने गरेको छ । डढेलोका कारण वन, वातावरण र जैविक विविधतामा धेरै मात्रामा क्षति पुग्ने हुँदा राज्यले यसको नियन्त्रणका लागि वर्षेनी गर्दै आएको लगानी अनुसार नियन्त्रणमा चुनौति थपिँदै गएको छ ।

Blog Post Ad Blog Post Ad